चिनियाँ संस्था र कोषबीच लुम्बिनीको विकासमा सहकार्यका लागि छलफल

चिनियाँ संस्था र कोषबीच लुम्बिनीको विकासमा सहकार्यका लागि छलफल


लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले चिनियाँ अन्तर्राष्ट्रिय बुद्धिष्ट एसोसिएसनका उपाध्यक्ष युन सुङबीच लुम्बिनीको विकासमा सहकार्य गर्ने विषयमा छलफल भएको छ ।

उपाध्यक्ष डा. लामा र सुङबीच बुधबार भएको भेटवार्तामा शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको विकासमा सहकार्य गर्ने, चिनियाँ पर्यटकलाई लुम्बिनीमा बढीभन्दा बढी ल्याउनेलगायतका विषयमा छलफल भएको हो ।

भेटमा उपाध्यक्ष डा. लामाले चीन र नेपालबीचको सम्बन्ध भगवान बुद्धले थप नजिक बनाएको बताउँदै लुम्बिनीमा चिनियाँ पर्यटकलाई स्वागत गर्न आतुर रहेको बताए । चीनमा बुद्धका अनुयायी धेरै रहेकाले बुद्धजन्मस्थलमा ल्याउने वातावरणका लागि पहल गरिदिन लामाले आग्रह गरे ।

सो अवसरमा डा. लामा र उपाध्यक्ष सुङबीच दुई देशबीचको साझेदारी, लुम्बिनीको विकास संरक्षण र सम्वद्र्धन लगायतका विषयमा छलफल भएको थियो । चिनियाँ अन्तर्राष्ट्रिय बुद्धिष्ट एसोसिएसनका उपाध्यक्ष सुङले गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै बुद्ध जन्मस्थल चिनियाँका लागि पवित्रस्थल रहेकाले यसको प्रचारप्रसार गर्ने बताए ।

लुम्बिनी भ्रमणमा रहेका उपाध्यक्ष सुङको टोलीमा करिब ४० जना भिक्षु, भिक्षुणी सहभागी छन् ।