यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सबै मतदान केन्द्रमा मतपत्र पुगेको छ । निर्वाचन आयोगका अनुसार आयोगले स्वीकृत गरेको मतपत्रको डिजाइन तथा मापदण्डबमोजिमका सबै मतपत्र छपाई गरी सातै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा आज पुऱ्याउने काम भएको हो ।
गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा मतदान हुने कानूनी व्यवस्थाअनुसार प्रदेश सभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र तयार गरिएको आयोगले जनाएको छ ।
प्रदेशगत रुपमा रहेका निर्वाचक मण्डलका सदस्यको संख्या तथा निर्वाचन हुने पद संख्यालाई आधार मानी आयोगले तोकेको संख्यागत मापदण्डका आधारमा कोशी प्रदेशमा निर्वाचन हुने २ पदका लागि चार प्रकारका ९ सय २० मतपत्र, मधेश प्रदेशमा निर्वाचन हुने दुई पदका लागि ४ प्रकारका ९ सय ४० मतपत्र, बागमती प्रदेशमा निर्वाचन हुने ४ पदका लागि ८ प्रकारका १ हजार ७ सय ६० मतपत्र र गण्डकी प्रदेशमा निर्वाचन हुने ३ पदका लागि ६ प्रकारका ९ सय मतपत्र छन् । त्यसैगरी लुम्विनी प्रदेशमा निर्वाचन हुने २ पदका लागि ४ प्रकारका ७ सय ४० मतपत्र, कर्णाली प्रदेशमा निर्वाचन हुने ३ पदका लागि ६ प्रकारका ७ सय ५० मतपत्र र सुदुरपश्चिम प्रदेशमा निर्वाचन हुने ३ पदका लागि ६ प्रकारका ९ सय मतपत्र रहेका छन् ।
आगामी फागुन २० गतेदेखि रिक्त हुने १९ राष्ट्रिय सभा सदस्य पदको लागि यही माघ ११ गते सम्वन्धित प्रदेशका तोकिएका मतदान स्थल तथा मतदान केन्द्रहरुमा विहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म हुने मतदान प्रयोजनका लागि ३८ प्रकारका कूल ६ हजार ९ सय १० मतपत्र पठाइएको छ । यस निर्वाचनबाट निर्वाचित हुने राष्ट्रिय सभा सदस्यहरुको पदावधि २०८० फाल्गुन २१ गतेदेखि ६ वर्षसम्म रहनेछ ।
प्रतिक्रिया