निजामति सेवा सरकार सफल र असफल बनाउने औजार हो : पूर्वसचिव थापा

निजामति सेवा सरकार सफल र असफल बनाउने औजार हो : पूर्वसचिव थापा


निजामति सेवा यस्तो ब्यवसायिक औजार हो, जसले सरकार सफल र असफल बनाउँछ । किनभने, निजामति कर्मचारीले काम गरेभने सरकार सफल हुन्छ, गरेनन् भने असफल । त्यसैले कुनै पनि सरकार त्यहाँ काम गर्ने कर्मचारी भन्दा राम्रो हुन सक्दैन ।

निजामति कर्मचारीेलाइ कुनै दल, भातृ संगठन, नेता वा व्यक्तिको नजिकको आधारमा सरुवा, बढुवा तथा अन्य ब्यवहार हुन्छ भने सरकारको असफलता यहींबाट सुरु हुन्छ । कर्मचारीहरु जब दल, गुट-उपगुटमा विभाजित हुन्छन्, तब काम गर्नु भन्दा दल र तिनका नेतालाई खुसी पार्नु नै कार्यसम्पादनको आधार हुन पुग्छे, काम नै गर्नु परेन । यसको परिणाम काम नगर्ने पुरस्कृत हुँदै जाने, सान, मान र पैसा बढ्दै जाने भयो । थोरै संख्यामा काम गर्ने कर्मचारीको पनि मनोवल गिरेर केवल न्यूनतम मात्र काम गर्ने अवस्था सिर्जना भइरहेको छ । यो नै निजामति सेवाको प्रमुख र घातक समस्या हो ।

किनकि व्यवसायिक र राम्रो व्यक्तिबाट मात्र राज्य सञ्चालन सही ढङ्गले हुन सक्छ । यति भन्दै गर्दा अहिले पनि निजामति सेवामा कर्मठ, व्यवसायिक र उत्कृष्ट कर्मचारी छन्, जो छायाँमा परेका र कान्तिहीन छन् । यही कारण राम्रो अध्ययनशिल र क्षमतावान युवा निजामति सेवामा आउन चाँहदैनन् । पढ्न विदेशतिर जान्छन् र उतै हराउंछन्।

निजामतिमा आकर्षण नहुनु सेवा सुविधा कम हुनु नै आर्को प्रमुख कारण हो । यहाँ अधिकृतको मासिक तलव न्यूनतम ५० हजार रुपैयाँ पनि पुग्दैन । अनि यो तलवले कसरी घर परिवार चल्छ ? तलव सुविधा राम्रो हुनुपर्छ, अनि काम पनि लिनु पर्छ । कसैले पनि स्वयंसेवा गर्न पढेका हुँदैनन् । जीवन निर्वाह, अनि वृत्तिविकासका लागि पढेका हुन्छन्, जो कोहीले ।

जस्तो मलेसियाले आफूबाट छुटाएको देश, सिङ्गापुर । यसरी, गलहत्याइँदा रोएको देश । अहिले त्यहाँ प्रतिव्यक्ति आय वार्षिक १ लाख डलर भन्दा बढी छ । त्यहाँ कर्मचारी र नेताले देशको माया गरे, खराव काम गरेनन् । देश विकासका लागि मरिहत्ते गरे । अहिले देश बनाएर छोडे । त्यहाँ बहुराष्ट्रिय कम्पनीले दिने तलव भन्दा १० प्रतिशत बढी तलब दिएर सर्वाेत्तम र तीक्ष्णतम जनशक्ति भित्र्यायो । त्यहाँको उदाहरणले ‘राम्रा मानिस ल्याउ, राम्रो तलब देउ, देश बन्छ’ भनिन्छ । राम्रो तलब सुविधा किन जरुरी छ भन्ने बारेमा देशका एक मुख्यसचिव आफ्नो कार्यकाल बाँकी रहँदै एसियाली विकास बैंकमा काम गर्न बिदेशिएबाट नै थाहा हुन्छ नि ।

देश चलाउने दुई वर्ग हुन्छन्, राजनीतिज्ञ र कर्मचारी । ती बाहेकका अरु सहयोगी मात्र हुन् । देश चलाउन असल कामका लागि असल मानिस नै चाहिन्छ । र, असल तथा व्यवसायिक मानिस ल्याउनु छ भने भावनात्मक आश्वासनले राम्रा मानिस आउँदैनन् ।

नेपालका ‘अब्बल’ जनशक्ति देश छोडेर युरोप, अस्ट्रेलिया, अमेरिका आदितर्फ गइरहेका छन् । वार्षिक रुपमा ५० हजार भन्दा बढि विदेशमै रहने गरी देश छोडेर गइरहेका छन् । तिनलाई रोक्न सकिन्न । त्यसैले टिकाउन लागि कर्मचारीलाई सम्मानजनक तलव दिनै पर्छ । नत्र पानी र प्रतिभा बगेर जान्छ र गइरहेछ ।

निजामति सेवा ऐनमा कुनै पनि पार्टीको सदस्य बन्न नमिल्ने हुँदाहुँदै, कर्मचारीलाई राजनीति गर्न लाउने कारणले पनि निजामति सेवामा आकर्षण छैन । निजामति कर्मचारी भनेका राज्य चलाउने औजार हुन् । तर, हाम्रो देशमा निजामति कर्मचारी राजनीति चलाउने औजार भए । अनि देश कसरी बन्छ ? साथै कर्मचारीको बढुवा जस्तो वृत्ति विकासका अवसरहरु अनुमानयोग्य गर्नुपर्छ र गर्न सकिन्छ । अनि मात्र नेपालको निजामति सेवाले दिइएको दायित्व पूरा गर्छ ।

(घटना र विचारका लागि सुरेन्द्र सुवेदीसँगको कुराकानीमा आधारित)