सिभिल तथा आर्किटेक्टमा डिप्लोमा गरी सबइन्जिनियर भएकाहरूलाई इन्जिनियर बन्न नेपाल इन्जिनियरिङ कलेजको बिडिएच (ब्याचलर फर डिप्लोमा होल्डर्स) कार्यक्रमले उच्च शिक्षाको बाटो खोलिदिएको विद्यार्थीहरूले बताएका छन् । सिटिइभिटीबाट डिप्लोमा गरी सरकारी तथा गैरसरकारी क्षेत्रमा जागिर खाइरहेकाहरूलाई विश्वविद्यालयको शिक्षा हासिल गर्न बिडिएचले ठूलो सहयोग गरेकोले यो कोर्ष निरन्तर सञ्चालन हुनुपर्नेसमेत उनीहरूले बताएका हुन् ।
नेपाल इन्जिनियरिङ कलेज (नेक) को बिडिएचतर्फ १४ देखि १७ औंसम्म ब्याचका विद्यार्थीलाई बिदाई कार्यक्रममा बोल्दै विद्यार्थीहरूले नेकको बिडिएच नभएको भए आफूहरूको इन्जिनियर बन्ने सपना पुरा हुनै नसक्ने बताए । बिडिएच कार्यक्रमलाई समयसापेक्ष सुधार्दै निरन्तरता दिई रहनुपर्ने उनीहरुको भनाइ थियो ।
‘यो कार्यक्रमको महत्व धेरै छ, कलेजमा बिडिएच नभएको भए मेरो इन्जिनियर बन्ने सपना पुरा हुँदैनथ्यो’- बिडिएच पूरा गरेर बिदा भएका राजनारायण सरदारले भने । डिप्लोमा गरी काम गर्दै गरेका तर पढ्ने चाहना बनाएका विद्यार्थीहरूका लागि इन्जिनियर बन्न बिडिएच महत्वपूर्ण कोर्ष भएकोले त्यसलाई अझ परिमार्जित र समय सापेक्ष बनाउनुपर्ने उनको भनाइ छ ।
बिडिएचकै कारण नेपाल सरकारको उपसचिवमा बढुवाको क्रममा रहेकी विद्यार्थी सृष्टि ख्वलपलले डिप्लोमा मात्र गरेका धेरै विद्यार्थीलाई बिडिएचले इन्जिनियर बनाएको भन्दै आफूले सरकारी सेवामा हासिल गरेको सफलतामा बिडिएचको योगदान रहेको जिकिर गरिन् । ‘नेक बिडिएच नभएको भए मैले कि जागिर छाड्नु पथ्र्याे, कि यत्तिकै बिदा हुनुपथ्र्याे, तर गर्वको कुरा अबको २/३ महिनामा बढुवा भएर उपसचिव हुँदैछु’- उनले भनिन् ।
विद्यार्थी ज्ञानमान श्रेष्ठ, सुरेन्द्र महरा, गौतम अवस्थीले सिभिल र आर्किटेक्टसँगै अन्य विधामा डिप्लोमा गरेकाहरूलाई पनि उच्च शिक्षा हासिल गर्ने बाटो बनाउन आग्रह गरे । कार्यक्रमका नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष प्राडा पदमबहादुर शाहीले बिडिएचले सिटिइभिटीको डिप्लोमा गरेकालाई उच्च शिक्षा हासिल गर्ने बाटो खोलिदिएको भन्दै नेपालका लागि यो कोर्ष महत्वपूर्ण रहेको बताए ।
पढ्ने विद्यार्थीका लागि यो कोर्ष अत्यन्त प्रभावकारी भएको जिकिर गरे ।
प्रतिक्रिया