अन्तरजातीय विवाहको परिणति : मिजारको शव सात वर्षदेखि अस्पतालमा

अन्तरजातीय विवाहको परिणति : मिजारको शव सात वर्षदेखि अस्पतालमा


अन्तरजातीय विवाहका कारण हत्या गरिएको भनिएका एक युवाको शव ७ वर्षदेखि अस्पतालको शवगृहमा रहेको छ । २०७३ असार २५ गते अजित र पाँचखाल ज्याम्दी (काभ्रेपलान्चोक)की कल्पना पराजुलीबीच प्रेम विवाह भएको र, त्यसको २ दिनपछि असार २९ गते धादिङ पुऱ्याएर केटी पक्षका आफन्तले अजितको हत्या गरेको पीडित परिवारले दाबी गर्दै आएको छ ।

दलितका लागि दलित अभियानका अभियन्ताहरूले जातिय विभेदका कारण मारिएका मिजार र उनका परिवारले न्याय नपाए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । काभ्रेको पाँचखालका मिजारको अन्तरजातीय विवाहकै कारण हत्या भएको उनीहरूको दाबी छ ।

रुकुमका नवराज विकको हत्यामा संलग्नलाई जेल हालेर उनका परिवारलाई न्यायको प्रत्याभूति गराउन सफल भएपछि अब आफूहरुको ध्यान मिजारको परिवारलाई न्याय दिलाउनेतर्फ मोडिएको अभियन्ताहरूको भनाइ छ ।

अजित र कल्पनाबीचको प्रेम-सम्बन्ध, प्रेम-विवाह, परिवारको दबाबबाट अलग्याइएको घटना र त्यससँग जोडिएका धेरै प्रमाणले अजितको हत्या भएको छर्लङ्ग हुँदाहुँदै जिल्ला अदालत धादिङले ‘अजितले आत्महत्या गरेको’ भन्दै प्रतिवादीलाई सफाइ दिएको र उच्च अदालतले पनि जिल्लाकै फैसला सदर गरेको भन्दै उनीहरूले आपत्ति जनाएका छन् ।

अजितका बुबा हरिभक्तले सर्वोच्चमा मुद्दा दोहोऱ्याएर हेरिपाउँ भन्ने निवेदन दिएपनि न्याय पाउने आश कमजोर बन्दै गएको उनीहरूको भनाइ छ । अभियानका संयोजक खगेन्द्र सुनुवारले जातीय विभेदलाई राज्यको कानुनले नै दण्डनीय घोषणा गरेको भएपनि अजितका परिवार राज्यबाट नै पीडित हुनुपरेको बताए ।

यो मुद्दामा सर्वोच्च अदालतले आगामी फागुनको ८ गते पेसी तोकेको छ । अभियन्ताहरूले न्यायाधीशलाई श्रद्धाले शिर झुकाएर सलाम ठोक्ने रहर रहेको भन्दै ‘न्यायका भोकाहरूलाई ढुङ्गा ठोक्न बाध्य नगराउन’ न्यायालयसँग आग्रह गरेका छन् ।

सर्वोच्चमा पेशीको दिन नजिकिँदै गर्दा पीडकपक्षले अजितका आमाबाबुलाई धम्क्याउने र विभिन्न दबाब दिने काम गर्दैआएकोे उनीहरूको आरोप छ ।