कोशी प्रदेश सरकारले प्रदेशभरिका १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सुरू गरेको छ । मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा प्रदेश स्वास्थ्य मन्त्रालयले यस प्रदेशस्थित प्रदेश अस्पताल र चार वटा निजी अस्पतालसँग आइतबार सम्झौता गरेर बालबालिकाको निःशुल्क उपचार सुरू गरेको हो ।
मन्त्रालयले हाम्रो अस्पताल, विराट शिक्षण अस्पताल, नोबेल शिक्षण अस्पताल,काठमाडौं इन्टिच्यूट अफ चाइल्ड हेल्थ दमकसँग दुई पक्षीय सम्झौता गरी निःशल्क उपचार सुरू गरेको छ । दुई पक्षीय सम्झौता पत्रमा मुख्यमन्त्री कार्कीको विशेष उपस्थितिमा प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. सुधा देवकोटा, काठमाडौं इन्टिच्यूट अफ चाइल्ड हेल्थ दमकका डा. भगवान कोइराला, नोबेल अस्पतालका निर्लेशक डा. राजेश नेपाललगायतले हस्ताक्षर गरेका थिए ।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा अब बच्चा अस्पतालमा भर्ना गरेर अभिभावकले ऋण खोज्न जाने दिनको अन्त्य भएको बताएका छन् । ‘बालबालिका बिरामी भएपछि अस्पतालमा भर्ना गरेर ऋण खोज्न जाने, उपचार शुल्कमा छुट गराउनका लागि नेताको घर धाउने र उपचार खर्च तिर्न नसकेर मसानघाट लग्न फेरि नेताको घर धाउने र, उपचारमा सबै सम्पति सकेपछि अन्त्यमा कात्रो किन्ने पैसा माग्नुपर्ने दिनको आजबाट कोशी प्रदेशमा अन्त्य भएको छ’, उनले भने- ‘अस्पताल प्रमुखहरूलाई सबै बालबालिकालाई आफ्नै छोराछोरी सम्झेर उपचार गरेर कुनैपनि बालबालिकाको उपचार अभावमा ज्यान जान नदिन आग्रह छ ।’
मुख्यमन्त्री कार्कीले निजी अस्पताल पनि प्रदेश सरकार मातहतको नै भएकाले यसमा बच्चाको उपचारको लागि जुनसुकै उपकरण बिग्रिएको अवस्थामा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । कोशी प्रदेशमा ५ वर्षमुनिका एक हजार बालबालिकामध्ये ३४ जनाको मृत्यु हुने गरेको बाल मृत्युदरको तथ्याङ्क रहेको जनाइएको छ ।
प्रतिक्रिया