राष्ट्रियसभा सदस्य निर्वाचन : आज राति १२ बजेबाट प्रचारप्रसार निषेध

राष्ट्रियसभा सदस्य निर्वाचन : आज राति १२ बजेबाट प्रचारप्रसार निषेध


तीन दिनपछि हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि आवश्यक सुरक्षा ब्यवस्थासहितको तयारी कार्य पूरा भएको छ ।

निर्वाचनमा निर्वाचक मण्डलको सदस्य रहेका प्रदेशसभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखलाई मतदाताको रुपमा यही ११ गते विहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म सम्वन्धित प्रदेशको तोकिएका मतदान स्थल तथा मतदान केन्द्रहरुमा मतदान गर्ने ब्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न सम्वत् आज १२ बजेपछि मतदान कार्य समाप्त नहुन्जेलसम्म राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भातृ सङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य ब्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नहुने आयोगले अनुरोध गरेको छ ।

‘कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाईन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन नहुने हुँदा सो बमोजिम आचरण पालना गर्न गराउन अनुरोध गरिन्छ’, आयोगले भनेको छ ।

निर्वाचनमा प्रदेश सभाका सदस्यहरुका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखहरुका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रहरुको ब्यवस्था गरिएको छ । प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलका सबै मतदाताहरु गोप्य मतदानद्वारा आफूले रोजेको र चाहेको उम्मेदवारलाई स्वतन्त्र रुपले मतदान गर्न आयोगले आग्रह गरेको छ ।