अमेरिकामा जान्नैपर्ने महत्वपूर्ण थप कुरा

अमेरिकामा जान्नैपर्ने महत्वपूर्ण थप कुरा


✍ सानुबाबु सिलवाल

अमेरिकाको विभिन्न राज्यभित्रै वा एउटै राज्यभित्रका विभिन्न शहर, काउन्टी, सिटी वा एउटै शहर वा काउन्टीभित्रै पनि बसाइँसराइ, मुभआउट, स्थानान्तरण जे भने पनि बसिरहेको ठाउ परिवर्तन गर्नेवित्तिकै अर्को महत्वपूर्ण कुरा नबिर्सनु । त्यो के होला ? थुप्रै नेपाली दाजुभाइ दिदीबहिनीहरूले बसाइँ सरेपछि के-के कुराहरूमा ध्यान दिनुपर्छ ? के-के कुराहरू परिवर्तन गर्न जरुरी छ ? सोधिरहनुभएको छ ।

सबैलाई काम लागोस्, दुःख-हन्डर र क्षति एवम् अन्य नोक्सानी नब्यहोरुन् भन्ने हेतुले एपार्टमेन्ट वा बसेको घर वा ट्रेलर पार्क वा मोबाइल होम वा जुनसुकै तवरको बसाइबाट अर्को बसाइ वा अर्को ठाउँमा सरेपछि थुप्रै कुराहरू पनि परिवर्तन गर्नुपर्ने हुन्छ । के-के मुख्य कुराहरू परिवर्तन वा सम्बन्धित निकायलाई जानकारी दिनुपर्ला- त्यसको बारेमा बुँदागत रूपमा यहाँ उल्लेख गरिदिएको छु । विश्वास छ सबैले यसबाट फाइदा र जानकारी हासिल गर्नेछन् ।

के-के हुन् त ती जान्नैपर्ने तथा परिवर्तन गर्नुपर्ने कुराहरू ?

१) पोष्ट हुलाक कार्यालयमा गइ नयाँ ठेगाना परिवर्तन गर्न लगाउनु । यसको लागि फर्म भर्नुपर्ने हुन्छ, ताकि सरिसकेपछि पुरानो ठेगानामा आउने कुनै पनि चिट्ठीपत्र कागजात मेलहरू नयाँ ठेगानामा फरवार्ड हुनेछन् ।

२) तपाईं ग्रिनकार्ड वा एसाइलम वा कुनै टेम्पोररी वा लिमिटेड प्रिभिलेजसहितको कानुनी कागजातअन्तर्गत हुनुहुन्छ भने ठाउँ सरेको तुरुन्तै केही दिनभित्रै एक हप्ता वा १० दिनभित्रै युएससिआईएस होमल्यान्ड सेक्युरिटीमा ठेगाना परिवर्तनको फर्म भरेर तुरुन्तै मेल वा अनलाइनमार्फत नयाँ ठेगाना अपडेट गरिहाल्नु ।

३) ठाउँ सर्नुपूर्व वा सर्नेबित्तिकै आफ्ना नाममा रहेको युटिलिटी बत्ति, बिजुली, पानीको सेवा बन्द गरिहाल्नु ।

४) राज्य वा सिटीभित्रै ठाउँ सर्दा सर्भिस स्थानान्तरण वा ट्रान्सफर गर्न पनि सक्नुहुन्छ यदि त्यही सेवामा रहन चाहेमा, तर राज्य र टाढा सर्दा भने भएको बत्ति, पानी, केवल, फोहोरमैला, इन्टरनेट सबै आफ्नो नाममा भए बन्द गराइ, कस्टमर सर्भिसमा फोन गरी बन्द गराउनु, अन्यथा उनीहरूले निरन्तर चार्ज गरिरहन सक्छन् ।

५) अटोमेटिक ड्राफ्टअन्तर्गत नियमित भुक्तानी भए बैंकमा फोन गरी वा अनलाइनमार्फत ड्राफ्ट रोक्नु । आफूले सेटअप गरेको पेमेन्ट भए आफैले अनलाइनमार्फत बन्द गर्न सकिनेछ तर सेवाप्रदायक कम्पनीमार्फत् अटो बैंक ड्राफ्ट भए कम्पनी वा बैंकले मात्र उक्त ड्राफ्ट रोक्न सक्छन् । त्यसका लागि बैंमा फोन गर्नु ।

६) क्रेडिट कार्डमार्फत भुक्तानी भए क्रेडिट कार्डमा सम्पर्क गरी रोक्न लगाउनु ।

७) सेल फोन अर्थात् मोबाइल फोन भए अमेरिकाको जुन-जुन भूमिमा सरे पनि त्यही सर्भिस वा कम्पनी प्रयोगमा ल्याउन सकिन्छ । यसका लागि चिन्ता लिनु परेन तर उक्त फोन कम्पनीमा फोन गरी बिलिङ ठेगानाचाहिँ तुरुन्त परिवर्तन गर्न लगाउनु ।

८) आफ्नो बैंक खाता र क्रेडिट कार्ड कम्पनीहरूलाई आफ्नो नयाँ ठेगाना अपडेट गर्न लगाउनु ।

९) स्वास्थ्य बिमा वा सोसियल सर्भिस बेनेफिट राज्यअन्तर्गत फरक हुने हुँदा मार्केट प्लेस भए मार्केट प्लेस वा अन्य कम्पनीमार्फत भए तिनैसँग र सोसियल सर्भिस मेडिकेड भए सरेको राज्यमै गइ त्यहीँ सम्पर्क गर्नु । तर, एउटै राज्यभित्र भएमा चिन्ता लिनु परेन यस मामलामा ।

१०) गाडी हुनेले सोही गाडी अर्को राज्यमा लैजान पाउनेछन तर जुन राज्यमा सरेको हो त्यही राज्यको डिएमभी कार्यालयमा गइ सम्पर्क राख्नु । गाडीबिमा, गाडीको ट्याग र ड्राइभर लाइसेन्स परिवर्तनका लागि सरेकै राज्यको नियममुताबिक गर्नु ।

११) गाडी ड्राइभिङबाटै नयाँ ठाउँबाट लैजान नसकिए क्यारियर ट्रान्सपोर्टेसन वा कुरिएर वा मुभरमार्फत सार्न सकिन्छ ।

१२) अन्य सरसामानको हकमा भने मुभरमार्फत चाहिने सामान सार्न सकिने वा कुनै युहल वा रेन्टिङ ट्रकमार्फत आफैले लोड गरी स्थानान्तरण गर्न सकिन्छ पनि ।

१३) घर पेडअफ् भए घर बिक्री गर्न वा राख्न सकिन्छ । भाडा लिन, उठाउन कुनै समस्या भएन, किनभने उक्त राज्यको आम्दानी वा खर्च करदाखिलामा देखाउनुपर्ने हुन्छ नै ।

१४) एपार्टमेन्ट भए सर्नुपूर्व लिज सकिएको नसकिएको, सकिएको भए लिज कम्पनि वा प्रपर्टी साहुलाई जानकारी दिएर साँचोताल्चा बुझाएर वा देखाएर मात्र सर्नु ।

१५) लिज नसकिएको भए ३० दिन वा ६० दिन वा ९० दिन हेरी-हेरी थप महिना वा तीन महिना वा कुनै ६ महिनासम्मको मासिक भाडाको दरमा जरिवाना वा अतिरिक्त रकम तिरी जानकारी दिएर, ताल्चासाँचो बुझाएर सबै क्लियर गराएरमात्र सर्नु नत्र भोलि ल्यान्डलर्ड वा लिजिङ कम्पनीले समस्या पार्न सकिनेछ ।

१६) पूर्ववत् ठेगाना, एपार्टमेन्ट वा घरमा रहदा कुनै फाइनान्सियल लायाबिलिटी, तिरनतारन भए चुक्ता गरेर मात्र हिँड्नु । नत्र भोलि जहाँ-जहाँ सरे पनि कलेक्सन प्रसेर चल्ने, क्रेडिट ब्युरोमा रिपोर्टिङ हुने र क्रेडिटमा धक्का लाग्ने हुन्छ ।

१७) एपार्टमेन्ट वा त्यही ठेगाना वा प्रपर्टीसँग सम्बन्धित कुनै बस्तु, सामान वा चिज बोकेर नहिँड्नु कथमकदाचित नियतवश वा बिना नियतले बोकेर हिँडेमा क्रिमिनल चार्ज लाग्न सक्छ ।

१८) नयाँ ठेगाना अनलाइनमा राख्ने वा जथाभावी शेयर गर्दा फ्रड भिक्टिमको शिकार हुनसक्छ त्यसैले आफ्ना प्राइभेसी पुराना ठेगाना नछोड्नु ।

१९) पुरानो ठेगाना वा ठाउँमा रहँदाको काम वा ज्याला वा कुनै आर्थिक हिसाबकिताब, आय आम्दानी डब्लु टु र १०९९ कहीँकतै सरे पनि करदाखिलामा उल्लेख गर्न सकिन्छ र गर्नुपर्छ ।

२०) गत सालको कर दाखिला पुरानो राज्यबाट नयाँ राज्यमा सर्दा नया राज्यबाटै ट्याक्स फाइनलिङ गर्न सकिन्छ ।

२१) बच्चाहरूको बेनेफिट र बच्चाहरूको स्कुल नयाँ राज्यकै जुन ठाउँमा सरेको हो त्यही राज्य अन्तर्गत र सोही मुताबिक नै गर्नुपर्ने र हुने हुन्छ ।

२२) बच्चाहरूको स्कुल स्थानान्तरणका लागि फाइनल स्कुल अवधि नै कुर्न जरुरी छैन । जुनसुकै समयमा पनि स्कुल स्थानान्तरण गर्न सकिनेछ ।

२३) आइडी ड्राइभर लाइसेन्स (पासपोर्ट अमेरिकन नागरिकका हकमा), जुन राज्यमा सरेको हो त्यही राज्यबाटै नयाँ ठेगानाबाटै लिनुपर्ने तर सोसियल सेक्युरिटी कार्ड र नम्बर भने परिवर्तन गर्नु पर्दैन ।

२४) जीवनबीमा, रिटायर्डमेन्ट बेनेफिटको हकमा राज्य परिवर्तनले खासै फरक पार्दैन ।

२५) सरकारी निकाय, ल इनफोर्समेन्ट, कानुनी निकाय वा कुनै पनि अड्डा अदालत र कार्यालयमा ठेगाना लुकाउनु र ढाँट्नै हुँदैन । यस्तो गल्ति कहिल्यै नगर्नु ।

तर, एसाइलम फाइल गरेको, एप्रुभ भइनसकेको, केस अझै पेन्डिङ्ग रहेको हकमा भने केसलाई अन्य राज्यमा स्थानान्तरण गर्न सकिन्छ तर केस त्यही राज्यबाटै निकासा खोजेको भए त्यहि राज्यकै ठेगाना नै कायम राख्नु ।

यस महत्वपूर्ण जानकारी सबैका लागि उपयोगी हुने हुँदा आफ्ना भाइसाथी, वरिपरिका र आफन्तहरू सबैलाई शेयर गर्न नभुल्नु होला । बाँकी थप जानकारी चाहिए म त छँदैछु तपाईंहरूका लागि ।