बिहारका मुख्यमन्त्री तथा जनता दल (युनाइटेड)का अध्यक्ष नितिश कुमारले राजीनामा दिएका छन् । आइतबार पटनास्थित राजभवन पुगेर उनले राज्यपाल राजेन्द्र अर्लेकरलाई आफ्नो राजीनामा बुझाएका हुन् ।
राजभवनमा राज्यपाललाई भेटेर नितिशले भनेका छन्, ‘हामीले राज्यमा महागठबन्धनसँग सम्बन्ध तोड्ने निर्णय गरेका छौँ । नितिशले भाजपा नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए)मा पुनः सामेल हुने र राज्यमा ‘महागठबन्धन’ शासनको अन्त्य गर्ने चर्चा चलिरहेकै बेला यो घटना भएको हो ।’
पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय जनता दल (आरजेडी) प्रमुख तथा पूर्व मुख्यमन्त्री लालु यादवकी छोरी रोहिणी आचार्यले सामाजिक सञ्जालमार्फत् जारी एक पोस्टमा जेडियूमाथि कटाक्ष गर्दै भनेकी छन्, ‘समाजवादी पार्टीले आफूलाई प्रगतिशील समूहको रूपमा प्रस्तुत गर्छ, तर यसको विचारधारा बदलिँदो वायुको ढाँचासँग परिवर्तन हुन्छ ।’
नितिशको यो निर्णय उनको सत्ता समिकरणका लागि चौथो अभ्यास (गठबन्धन) हुने ठानिएको छ । कूल २४३ सदस्यीय बिहार विधानसभामा आरजेडीसँग ७९ विधायक छन् भने भाजपासँग ७८ विधायक छन् ।
विधानसभामा जेडीयू ४५, काङ्ग्रेस १९, भाकपा (एम-एल) १२, हिन्दुस्तानी अवाम मोर्चा (सेक्युलर) को चार र सीपीआई (एम) र भाकपाको एक/एक सदस्य छन् ।
एआईएमआईएम अन्य दुई सिट र एक स्वतन्त्र सदस्य रहेका छन् । आचार्यले एक नयाँ पोस्टमा साम्प्रदायिक शक्तिविरुद्ध आफ्नो संघर्ष मृत्युपर्यन्त जारी रहने बताएका छन् ।
‘साम्प्रदायिक शक्तिविरुद्ध हाम्रो लडाइँ सास रहेसम्म जारी रहनेछ’, उनले ट्वीटरमा लेखेका छन् ।
प्रतिक्रिया