स्नाइपरद्वारा हेलिकप्टरमा गोली हानी म्यान्माका ब्रिगेडियर जनरलको हत्या

स्नाइपरद्वारा हेलिकप्टरमा गोली हानी म्यान्माका ब्रिगेडियर जनरलको हत्या


हेलिकप्टर अवतरणको तयारीमा रहेको बेला एक ब्रिगेडियर जनरलसहित म्यान्मा सुरक्षा सेवाका चार सदस्यको सोमबार स्नाइपर हमलामा गोली हानी हत्या गरिएको सैन्यस्रोतलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

ब्रिगेडियर जनरल आये मिन नाउङ, उनका निजी सुरक्षाअधिकारी र दुई पाइलटलाई थाई सीमामा रहेको म्यावाडीनजिकैको पूर्वी थिङगान्निनाउङ शहरमा अवतरण गर्न तयार हुँदा एक ‘स्नाइपर’ले गाली हानेको सुरक्षा स्रोतले बताएको छ ।

मिडियासँग कुरा गर्नका लागि अधिकार नभएकाले नाम नछाप्न अनुरोध गर्दै स्रोतले ब्रिगेडियर जनरलको मृत्यु भएको बताएको एएफपीले सम्प्रेषण गरेको छ । हेलिकप्टरमा सवार दुई अन्य सैनिक ‘बाँचेको’ बताइएको छ । कति स्नाइपरले हेलिकप्टरमाथि गोली चलाएका थिए वा गोली हान्ने दोषी को थियो भन्नेबारे कैही बताइएको छैन ।

हालैका महिनाहरूमा जुन्ताको म्यावाडीवरपर जातीय अल्पसङ्ख्यक लडाकूहरू र सहयोगी ‘पिपुल्स डिफेन्स फोर्स’ समूहहरूसँग नियमितरूमा झडप भएका छन् । स्थानीय मिडियाले घटनापछिको तस्बिर प्रकाशित गरेका छन् जसमा एउटा सानो हेलिकप्टर खेतमा रहेको देखिन्छ । एक स्थानीय आउटलेटले हेलिकप्टर दुई इन्जिन भएको युरोकप्टर ३६५ रहेको बताएको छ ।

ब्रिगेडियर जनरल मुलुकका विभिन्न भागमा आफ्नो विद्रोहको विरोधीहरूको लडाइँका क्रममा अग्रिम मोर्चामा मारिने सबैभन्दा पछिल्लो उच्चपदस्थ अधिकारी हुन् । नोभेम्बरमा चिनियाँ सीमानजिकै मोनेकोमा एउटा ड्रोनले खसाएको बमबाट लाइफ इन्फेन्ट्री बटालियनका ब्रिगेडियर जनरलको मृत्यु भएको थियो ।

छिमेकी कोकाङ क्षेत्रमा जातीय अल्पसङ्ख्यक लडाकूहरूको गठबन्धनसामु दुई हजारभन्दा धेरै सैनिकसँग आत्मसमर्पण गरेको आरोपमा ६ जना ब्रिगेडियर जनरल हिरासतमा छन् ।

नोभेम्बरमा दुई पाइलट बोकेको एउटा हलुका लडाकू विमान लडाइँ जारी रहेको मुलुकको पूर्वी भागमा दुर्घटनाग्रस्त भएको थियो । सैन्य विद्रोहका विरोधीहरू शक्तिहरूले उनीहरूले उक्त विमान खसाएको दाबी गरेका छन् । जुन्ताले इन्जिनको विफलताका कारण दुर्घटना भएको बताएको छ ।

सन् २०२१ को सैन्य विद्रोहपछि म्यान्मा द्वन्द्वको चपेटामा परेको छ । धेरै सशस्त्र जातीय समूह विभिन्न मोर्चामा जुन्तासँग लडिरहेका छन् ।