श्रीमतीलाई कसरी जोगाउने ?

श्रीमतीलाई कसरी जोगाउने ?


जनावर हुन् या पंक्षी, प्राणी जगतमा कुनै पनि आमाले आफ्ना बच्चा नहुर्किउन्जेल उनीहरूलाई छोड्दैनन् । बच्चा हुर्किएपछि आफै गुण छोडेर जान्छन् । तर हामीकहाँ मान्छेजुनीका आमाहरूले बच्चा छोडेर हिँडेका घटना बढिरहेका छन् । यो आफैमा आश्चर्यजनक, पीडादायी, दुःखद् र असामान्य कुरा हो ।
✍ बबिता बस्नेत

केही दिनअघि एक परिचितले फेसबुक म्यासेन्जरमा युटुबका केही लिङ्क पठाउँदै लेखे, ‘खै अब त श्रीमतीलाई कसरी जोगाउने भन्ने पो भयो ।’ लिङ्क मात्रै पठाएको भए शायद नहेर्न पनि सक्थेँ तर उनका शब्दले कुरो के रहेछ भनेर हेर्नैपर्ने भयो । सुरुको लिङ्कमा श्रीमती अर्कैसँग विवाह गरेर गएपछि विक्षिप्त भएका पतिले घर फर्किनलाई अनुनय विनय गरिरहेका थिए । पत्नी ‘म कुनै हालतमा पनि जान्न, मर्छु तर तँसँग जान्नँ’ भनिरहेकी थिइन् । पतिले भक्कानिएर माया ब्यक्त गर्दैगर्दा उनले भनिन्, ‘पहिला यस्तो ब्यवहार गरिदिएको भए, यस्तो हुने नै थिएन, पहिला कुटपिट गर्ने, शङ्का गर्ने मात्रै गर्नुभो, कहिल्यै राम्रो मुखले बोल्नुभएन ।’ पत्नीले गर्ने सम्बोधन घरी ‘तँ’ र घरी ‘तपाईं’ थियो ।

अर्को लिङ्कमा पतिको बोलीमा स्पष्टता थिएन, उनी अपाङ्गता भएका ब्यक्ति हुन् भनेर बुझ्न गाह्रो पर्दैनथ्यो । उनी धर्धरी रोइरहेका थिए, अर्कोसँग विवाह गरेर गएकी पत्नीलाई उनको भावनासँग खासै मतलब भएजस्तो देखिँदैनथ्यो । केटीको नयाँ पतिको घरछेउमा युटुबर र गाउँलेबीच उनीहरूको कुराकानी भइरहेको थियो । मेरो घरमा त चामल पनि छैन, बुढा कमाउन गएका छन् भनेर केटीले भनेपछि पूर्वपतिले पैसा दिँदै ‘यो राख’ भने, उनले पर्दैन भनिन् तर राखिन् । पठाइएका सात वटा लिङ्कमा दोश्रो विवाहका कारण महिला-महिला, महिला-पुरुष, पुरुष-पुरुष कुटाकुट गरेका, पुरुषहरू रोइरहेका, महिलाहरूले ‘म तँसँग अब कुनै हालतमा फर्किन्नँ’ भनेका, केटाहरूले ‘अब त्यस्तो गर्दिनँ’ भनेर माफी माग्दै गरेका दृष्यहरू देखियो । युटुबरले राखेका शीर्षकहरूमा प्रायः ‘पोइल गएकी श्रीमती’ भन्ने शब्द जोडिएको थियो । हराएकी श्रीमती होटलमा भेटिइन्, विदेशबाट घर पुग्दा श्रीमती अर्कैसँग, श्रीमान् विदेश हुँदा श्रीमती फरार, अन्तमा जारले खुट्टा ढोग्दै, साउजीकी श्रीमती रङ्गेहात काण्ड, ल हेर्नुस् श्रीमती पोइल गएपछि श्रीमानले गरे यस्तो, बुढाको हर्कत देखेर बुढीले गरिन् रामधुलाइ… लगायतका शीर्षक हेरेर ‘समाज कता गइरहेको छ ?!’ जस्तो लाग्नु स्वभाविक नै हो ।

श्रीमती अर्कैसँग गएका सात जनाको कथामा सन्तानबाहेक २१ जना मान्छेको प्रत्यक्ष सहभागिता थियो । सात जना श्रीमतीका सात श्रीमान् जोड्दा १४ जना, अरुका श्रीमती भगाउने श्रीमानका श्रीमतीहरू जोड्दा २१ जना, केहीका पहिला नै दुई श्रीमती थिए । ती सबै कथामा आश्चर्यजनक समानता के थियो भने महिलाहरू आफ्ना बच्चालाई पहिलोपतिकै घरमा छोडेर अर्कोसँग हिँडेका थिए । तीमध्ये कतिले दुध खाँदै गरेको बच्चालाई पनि छोडेका थिए । कतिका बच्चाहरू आफ्नो बाबु र गाउँलेहरूसँगै आफ्नी आमा भएको ठाउँसम्म पुगेर ‘घर हिँड्नु न आमा, घर हिँड्नु न… हामीले खाना खाएको छैन’ भनिरहेका थिए, जुन अत्यन्तै कारुणिक दृष्य थियो । यस्ता सामाग्री हेर्न थालेपछि अल्गोरिदमले यस्ता कुरामा मेरो भयङ्कर रुचि रहेको ठानेर यस्तै–यस्तै सामाग्री दिन थाल्यो । जसमा कतिपय पतिहरू पत्नीलाई फोनबाट घर फर्किन अनुरोध गरिरहेका थिए भने कतिचाहिँ ‘मेरो सम्पत्ति बुझाएर डिभोर्स गरेर जा’ भनिरहेका थिए । बाबुले आमासँग कुरा गर्दैगर्दा बीचैमा छोरा छोरी ‘आमा हामीलाई किन छोडेर जानुभएको’ भनिरहेका थिए । सबै कहानीमा सन्तानको रेखदेख मुख्य समस्या हो भन्ने लाग्यो ।

विश्वका कुनैपनि मुलुकमा पति-पत्नीबीच सम्बन्ध बिच्छेद हुँदा बच्चा बालिग नहुञ्जेलसम्म आमालाई बच्चा साथमा राख्ने हक छ, जुन हक बाबुलाई प्राप्त छैन । सन्तानका लागि आफ्नो साथमा आमा हुनु भनेको बाबुकी श्रीमती आफूसँग हुनु मात्र नभइ एउटा ठुलो ओत हो, भरोसा हो, संसार हो ।

महिलाहरूलाई प्रकृतिले एउटा ठुलो जिम्मेवारी दिएको छ, त्यो हो- बच्चा पाएर सृष्टीलाई निरन्तरता दिने । यो मानवमा मात्र नभएर सबै प्राणी जगतका पोथी जातिले पाएको जिम्मेवारी हो । बच्चा पाउँदिनँ भन्न मिल्छ, पाइन्छ तर जतिले पाउँछन् बच्चा हुञ्जेल तिनको सुरक्षा गर्ने जिम्मेवारी आमाको हो । यदि त्यो जिम्मेवारी आमाको नहुँदो हो त आमा बाँदरले आफ्ना बच्चाहरूलाई च्यापेर यो ठाउँबाट त्यो ठाउँ गर्ने थिएनन् होला । पशु हुन् या पंक्षी बच्चाको लागि आमाको जिम्मेवारी फरक र जिम्मेवार छ । ओथारा बसेको पोथी कुखुरालाई नै हेरौँ न… उसका बच्चा साना हुञ्जेल कसैलाई पनि वरिपरि आउन दिँदैन । भालेहरूले जस्तै बच्चालाई बेवास्ता गर्ने हो भने ती बच्चा भाले या पोथी हुन पाउने थिएनन् । बिरालोले आफ्ना बच्चाहरूमाथि अलिकति पनि सुरक्षा खतरा देख्यो भने तुरुन्तै ठाउँ छाड्छ । जनावर हुन् या पंक्षी प्राणी जगतमा कुनै पनि आमाले आफ्ना बच्चा नहुर्किउन्जेल उनीहरूलाई छोड्दैनन् । बच्चा हुर्किएपछि आफै गुण छोडेर जान्छन् । तर हामीकहाँ मान्छे जुनीका आमाहरूले बच्चा छोडेर हिँडेका घटनाहरू बढिरहेका छन् । जुन आफैमा आश्चर्यजनक, पीडादायी, दुःखद् र असामान्य कुरा हो ।

एकार्कामा मन मिलेन भने पतिले पत्नी छोड्नु, पत्नीले पति छोड्नु सामान्य हो । तर आमाले बच्चा छोड्नुचाहिँ असामान्य हो । आफ्ना सन्तान आफूभन्दा टाढा छन् भने आमाले प्रायः खाने बेलामा बच्चालाई नसम्झिएको हुँदैन । अति भयो भने महिलाहरूले संसार बिर्सन सक्छन् तर बच्चा बिर्सन सक्दैनन् भन्ने मान्यता हो । आमाको काखमा हुर्कन पाउनु बच्चाको अधिकारको कुरा पनि हो । त्यसैले त यो विश्वका कुनैपनि मुलुकमा पति पत्नीबीच सम्बन्ध बिच्छेद हुँदा बच्चा बालिग नहुञ्जेलसम्म आमालाई बच्चा साथमा राख्ने हक छ, जुन हक बाबुलाई प्राप्त छैन । सन्तानका लागि आफ्नो साथमा आमा हुनु भनेको बाबुकी श्रीमती आफूसँग हुनु मात्र होइन, एउटा ठुलो ओत हो, भरोसा हो, संसार हो । त्यसैले महिलाहरूले स-साना बच्चा छोडेर हिँड्न मिल्दैन । पतिसँग बस्नै नसक्ने अवस्था आयो भने बच्चा लिएर अलग बस्न मिल्छ । यदि दोश्रो विवाह नै गर्ने हो भने पनि सन्तानलाई साथमै राख्न सक्नुप¥यो । हाम्रो जस्तो समाजमा सन्तान भएका आमाहरूको दोश्रो विवाह त्यति सफल देखिएको छैन । विभिन्न कारणले एकल भएका पुरुषहरूले दोश्रो विवाह गर्दा सन्तान भएका महिलाले जस्तो अवस्था खासै भोग्नु पर्दैन । यसो हुनुको प्रमुख कारण बासस्थान र सम्पत्तिसँग जोडिएको छ ।

श्रीमती कसरी जोगाउने ? भन्ने प्रश्नलाई पनि हामीले गम्भीर रूपमा लिन आवश्यक छ । हाम्रो समाजमा विगतमा श्रीमान् कसरी जोगाउने ? विगतमा पतिलाई आफ्नो मात्र कसरी बनाउने ? भन्ने प्रश्न महिलाहरूमा टड्कारो थियो । तर त्यो प्रश्न गर्ने या उक्त विषयमा छलफल गर्ने हैसियतमा महिलाहरू थिएनन् । जसको परिणाम हामीमध्ये धेरैका हजुरबुबाहरूका तीन-चार जनासम्म या भनौँ कम्तिमा दुई वटी श्रीमती थिए । अहिले त पति या पत्नीका विवाहेत्तर सम्बन्धहरूको बारेमा एकर्कालाई जानकारी हुन पनि सक्छ । त्यतिबेला त बिनाअन्दाज एक्कासी सौताको रूपमा अर्की महिलालाई घरमा ल्याइन्थ्यो । बिस्तारै कानून बन्यो, ब्यवहार पनि परिवर्तन हुँदै गयो । कुनै विशेष परिस्थितिमा बाहेक एकभन्दा बढी विवाह गर्नुलाई लाजमर्दो मान्न थालियो । अचम्म त के भने हाम्रो कानूनले अहिले बहुविवाह भन्ने शब्दलाई निषेध गरेको छ । तर युटुब च्यानलहरूमा अहिले पनि ‘अब तपाईंका दुईवटी श्रीमती भए के गर्नुहुन्छ ? मिलाएर राख्न सक्नुहुन्छ ?’ भनेर यसरी कुराकानी भइरहेका छन्, मानौं, देशमा बहुविवाह गर्न पाइन्छ । यसैगरी अनुगमन गर्नै पर्ने टेलिसिरियलहरू पनि हुन् । घर-घरमा हेरिने टेलिसिरियलहरूमा जेठी र कान्छी पात्र खडा गरेर बहुविवाहको प्रवद्र्धन भइरहेको छ । अहिले आफ्ना बच्चा छोडेर अर्कोसँग हामफालेका महिला र यस्ता कार्यमा संलग्न पुरुष दुवैले आफूले सम्बन्ध बिच्छेद गरेपछि दोश्रो विवाह गर्न पाउँछु तर आफूले रोजेको पुरुष या महिला एकल हुनुपर्छ भन्ने बारेमा जानकारी राख्न आवश्यक छ ।

अहिले हाम्रो समाजमा जे-जस्ता घटनाहरू भइरहेका छन् यसो हुनुमा घटनामा संलग्न महिलाहरू भन्दा बढी हाम्रा असमान सम्बन्धहरू जिम्मेवार छन् । यदि हाम्रा घरहरू सुरक्षित र भावनात्मक भइदिएका भए शायद यस प्रकारको स्थिति आउने थिएन । जब कसैले पत्नीलाई जहाँ गएपनि आरोप मात्रै लगाइरहन्छ, प्रश्न मात्रै उठाइरहन्छ, विभिन्न निहुँमा कुटपिट गर्छ भने एक दिन… दुई दिन… एक वर्ष… सहँदा सहँदा गरेपछि उसको मनमा आ… मैले केही नगर्दा त मलाई यस्तो भनिराछ, बरु मैले केही गरेरै भनोस् न… भनाइ नै खानु परेपछि के भो र? भन्ने भावना मनमा आउनसक्छ । महिला, पूरुष भन्दा पनि यो मानव मनोविज्ञान हो, सबैमा लागु हुनसक्छ । हिजोआज मान्छे खोज्न टाढा जानु पर्दैन । घरमा पतिले रातदिन तनाव दिइरहेको बेला मोबाइलमा भेटिएको मान्छेले भिडियो कल गर्छ ‘चिनेको त छैन तर तिमी कति राम्री, तिम्रो बोली कति मिठो’ भनिदिन्छ । सधैंभरी तँ यस्ती, तँ उस्ती, तँ खत्तम भनेर सुनिरहेका कानले जब आफ्नै बारेमा प्रशंसाका शब्दहरू सुन्न थाल्छन्, उप्रति मन आकर्षित हुन सक्छ । एक दिन, दुई दिन… सम्बन्ध बढ्दै जाँदा अहिलेका कतिपय घटनामा झैँ ब्यक्तिगत सम्बन्धमा विपत्तिको सिर्जना हुनजान्छ ।

घरमा पतिले रातदिन तनाव दिइरहेको बेला मोबाइलमा भेटिएको मान्छेले भिडियो कल गर्छ ‘चिनेको त छैन तर तिमी कति राम्री, तिम्रो बोली कति मिठो’ भनिदिन्छ । सधैंभरी तँ यस्ती, तँ उस्ती, तँ खत्तम भनेर सुनिरहेको कानले जब आफ्नै बारेमा प्रशंसाका शब्दहरू सुन्न थाल्छन्, उप्रति मन आकर्षित हुन सक्छ ।

अहिले पुरुषहरूले श्रीमतीलाई घर हिँड न भन्दै रुवाबासी गरिरहेका भिडियोहरू हेर्दा महिलाहरू पीडक र पुरुषहरू पीडित झैँ लाग्छन् । घटनाको पृष्ठभूमि केलाउने हो भने यस्ता घटना हुनुमा पहिलाको पति र पछिल्लो पति दुवैको हात बढी छ । पहिलाको पति जसले कहिल्यै पत्नीको अस्तित्वलाई महत्व दिएन र आफूले जे गर्न, भन्न पनि मिल्ने मान्छेको रुपमा प्रयोग गर्दै उसलाई निरिह अवस्थामा पु¥यायो । पछिल्लो पति जसले उसको निरीह परिस्थितिको फाइदा उठाउँदै सपना देखायो, या उसँग भएको सम्पतिमा आँखा लगायो । महिलाको दोष यति हो कि उसले आफू माथि यो सब किन भइरहेको छ भनेर बुझ्नै सकेका छैनन् । आफूसँग शिक्षा, कमाइ, स्वतन्त्र चिन्तन या जीवनसाथी र विवाहप्रतिको बुझाइ स्पष्ट हुँदो हो त एउटा आप्ठ्यारो परिस्थितिबाट मुक्ति पाउन अर्को असहज अवस्थालाई रोज्ने थिएनन् । आत्मनिर्भर र सही-गलत छुट्याउन सक्ने महिलाले बच्चालाई बेपत्ता बनाएर हिँड्न सक्दैनन् । अहिले जस-जसले बच्चा छोडेर हिँडका छन्, तिनलाई बच्चाको माया नभएर होइन नयाँ पतिले बच्चालाई स्वीकार नगरेर हो । यदि आमासँगै बच्चा पनि लिएर आउ, तिम्रो बच्चा भनेको मेरै त हो नि भनिदिने पति हुँदो हो त ती सबै बच्चाहरू अहिले आमासँग हुने थिए ।

श्रीमतीलाई कसरी जोगाउने ? यस प्रश्नको पेरिफेरिमा रहेर हामीले आफूले आफैलाई हेर्न र आफैसँग केही प्रश्न गर्न जरुरी छ । महिला, पुरुष या यौनिक तथा लैंगिक अल्पसंख्यक सबैले चाहने सम्मान हो । हामीकहाँ प्रायः पुरुषहरूमा ‘श्रीमतीलाई खानलाउन दिएकै छु, मैले जे गर्न पनि हुन्छ’ भन्ने सोच छ । सोचौँ- के हामीले पत्नीलाई सम्मानित ब्यवहार गरेका छौँ ? उनको आत्मसम्मानमा चोट पुग्ने शब्दहरूको प्रयोग गरिरहेका छौँ कि ? के हामी उनलाई समय दिइरहेका छौँ ? उनीप्रति हाम्रो समर्पण कस्तो छ ?

वैदेशिक रोजगारमा गएका पुरुषका कुराहरू अहिले धेरै आइरहेका छन्, अन्यायका घटना बाहिर आउनु पनि पर्छ । तर कतिपय महिलाहरूलाई विदेशमा बसेका पतिले जतिबेला पनि भिडियोमा आउ भन्ने र कुनै परिस्थितिमा भिडियोमा आउन सकेन भने मनपरी भन्ने सुनिएको छ । हेर्दा सामान्य जस्तो तर अफ्ठ्यारा कुराहरू धेरै छन् । एउटा घटनाको प्रत्यक्षदर्शी म आफै पनि भएकी छु । पार्लरमा फेसियल गरिरहेकी बैनीलाई विदेशमा बस्ने पतिले कल गरे, उनले अडियो मात्रै अन गरिन् र आफू ग्राहकलाई फेसियल गरिरहेको बताइन् । उनले भिडियो अन गर्न भनेँ, उनले दिदीलाई हतार छ म उहाँको फेसियल सकेर गर्छु है भनेपछि पतिले यस्ता शब्दहरू प्रयोग गरे कि जुन यहाँ लेख्न मिल्दैन । त्यस्ता शब्दहरू सुन्दा उनका नाडी फतक्क गल्नुपर्ने हो तर एकछिन सुनेर उनले लाइन काटिदिइन्, उनले लगातार फोन मात्र गरेनन्, अपशब्दसहितका म्यासेज पनि गरे । त्यति साह्रो अविश्वासका बीच सम्बन्ध कसरी अघि बढ्छ ?

अहिले एउटाले दुःख दियो भनेर महिलाहरू अर्कोसँग हिँडेको देखिन्छ, यसो गर्नु समस्याको समाधान होइन । क्षणिक बहकावमा पर्ने महिलाहरूको संख्या ठुलो छ, यस्ता कुराबाट जोगिनैपर्छ । कसैको आड भरोसामा हामफाल्नुभन्दा सकेसम्म महिलाहरूले आत्मनिर्भर भएर जिन्दगी अघि बढाउने कोसिस गर्नुपर्छ । तथापि, एकलमहिला भएर जिन्दगी बाँच्नु यो समाजमा सहजचाहिँ छैन । युटुबमा आएका घटनाबाट निर्देशित भएर हेर्दा श्रीमती जोगाउन गाह्रो परेको देखिएपनि श्रीमती मात्र होइन, श्रीमान् या प्रेमी-प्रेमिका जो-जो भएपनि एकार्काप्रति समर्पणभावले भरिएको सम्बन्ध जोगाउन गाह्रो अवस्थामा हाम्रो समाज पुगेको छ । कोबाट कसलाई भन्दा पनि खासमा मान्छेबाट मान्छेलाई जोगाउन गाह्रो भएको हो । यो संसारमा मान्छे नै यस्तो प्राणी हो जसलाई एउटै परिभाषामा समेट्न सकिँदैन ।