आइपिओ निकालेको पहिलो वर्षमै हिमालयन रिइन्स्योरेन्सले दिने भयो बोनस शेयर

आइपिओ निकालेको पहिलो वर्षमै हिमालयन रिइन्स्योरेन्सले दिने भयो बोनस शेयर


हालै मात्र सर्वसाधारणमा शेयर जारी गरेको हिमालयन रिइन्स्योरेन्स लिमिटेडले आइपिओको पहिलो वर्षमै ४ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ ।

माघ २५ गते बसेको कम्पनी संचालक समितिको बैठकले उक्त निर्णय गरी आगामी फागुन २० गते हुन गइरहेको कम्पनीको तेश्रो वार्षिक साधारणसभामा निर्णयार्थ पेश गरेको बताइएको छ ।

साथै, नियामक निकाय नेपाल बीमा प्राधिकरणले दुवै पुनर्बीमा कम्पनीलाई २०८१ साल माघ ३० भित्र चुक्ता पूँजी रु. २० अर्ब पुऱ्याउन निर्देशन दिएकाले कम्पनीले बोनस शेयरपछि हुने चुक्ता पूँजी रु. १० अर्ब ४० करोडको १०ः८ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत कम्पनीको तेश्रो वार्षिक साधारण सभामा निर्णयार्थ पेश गरेको कम्पनीले जनाएको छ ।

सो कम्पनीको पुनर्बीमा शुल्क आम्दानी आ.व. २०७८/७९ को तुलनामा आ.व. २०७९/८० मा ५३५ प्रतिशतले वृद्धि भइ रु. ५४६ करोड पुगेको छ भने कम्पनीको खूद नाफा आ.व. २०७८/७९ को तुलनामा आ.व. २०७९/८० मा १२२ प्रतिशतले वृद्धि भइ रु. ६५ करोड पुगेको छ ।

कम्पनीले हालैमात्र भारतबाट पुनर्बीमा व्यवसाय भित्र्याउन भारतको बीमासम्बन्धी नियामकीय निकायबाट स्वीकृति पाएको थियो भने विश्वविख्यात रेटिङ एजेन्सी AM Best Pte. Ltd. ले कम्पनीको रेटिङ्ग B बा B+ मा स्तरोन्नति गरिदिएको थियो ।

नेपालको निजी क्षेत्रबाट प्रवर्द्धित पहिलो पुनर्बीमा कम्पनीले हासिल गरेको एकपछि अर्काे सफलताले कम्पनीको आगामी दिनमा सफलताको थप खुड्किलाहरु पार गर्दै दक्षिण क्षेत्रको एक उदाउँदो पुनर्बीमा कम्पनीको रुपमा आफूलाई उभ्याउने विश्वास हिमालयन रिइन्स्योरेन्स लि.ले लिएको छ ।