नेपाल एयरलाइन्सले सिमकोट-सुर्खेत परीक्षण उडान भर्ने

नेपाल एयरलाइन्सले सिमकोट-सुर्खेत परीक्षण उडान भर्ने


नेपाल एयरलाइन्सले यही फागुन ७ गते सिमकोट-सुर्खेत रुटमा परीक्षण उडान गर्ने भएको छ । यसअघि नेपालगञ्ज-सिमकोट-नेपालगञ्ज रुटमा उडान गर्दै आएको एयरलाइन्सले कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने गरी सिमकोटबाट परीक्षण उडान गर्ने भएको नेपाल एयरलाइन्स सिमकोट स्टेशनका प्रमुख छिरिङ लामाले जानकारी दिएका छन् । लामाका अनुसार यसका लागि सबै तयारी पूरा भएको छ ।

‘नेपाल एयरलाइन्सको जहाजले नेपालगञ्ज-सिमकोटमा उडान गरेपछि सोही दिन सिमकोट-सुर्खेत परीक्षण उडान हुनेछ, त्यसपछि सुर्खेत–सिमकोटका लागि यात्रुसहितको उडान भर्ने तालिकाको तयारी भइरहेको छ’ भन्दै उनले अझै भाडा कति भन्नेचाहिँ निर्धारण भइनसकेको बताए ।

सिमकोट-सुर्खेत हवाई उडान हुने भएपछि हुम्लाबासीलाई सहज हुने भएको छ । सिमकोट-सुर्खेत उडान सुरु भएपछि हुम्लाबाट नेपालगञ्ज र नेपालगञ्जबाट सुर्खेत जानुपर्ने बाध्यता हट्ने स्थानीयवासीको अपेक्षा छ ।

सिमकोटबाट नेपालगञ्ज जान जहाजमा ४५ मिनेट लाग्छ भने नेपालगञ्बाट सुर्खेत पुग्न चार घण्टा लाग्छ । अब सिधै प्रदेश राजधानी सुर्खेत पुग्न नियमित उडान भए ३५ मिनेटमै पुग्न सकिने बताइएको छ ।