तनहुँका कुशलचन्द्र अधिकारीले स्नाकोत्तरसम्मको अध्ययन पूरा गरिसकेका छन् । उनी पढाइमा अब्बलमात्र छैनन्, घरमै पशुपालन गरेर चर्चित पनि छन् । भानु नगरपालिका-१२ घलेछापका अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र विषयमा स्नातकोत्तर पूरा गरेका हुन् ।
अधिकारीले दुई सय रोपनी जग्गामा करिव २ करोड रुपैयाँ लगानी गरेर मिलुङ बहुउद्देश्यीय फार्म सञ्चालन गरिरहेका छन् । उनले व्यावसायिक रूपमा गाई, भैँसी, बाख्रा, कुखुरा, कालिज तथा मौरीपालन गरेका हुन् । उनका फर्ममा अहिले १४ वटा दुहुना मुर्रा भैँसी, एक राँगो, १६ वटा पाडा पाडी, ६ वटा जर्सी गाई, ५० वटा बोयर बाख्रा, २५ घार मौरी छन् । उनको खुद कमाई मासिक करिव एक लाख २० हजार रुपैयाँ हुने गरेको छ । उनले स्थानीय ६ जना युवालाई रोजगारी पनि दिएका छन् ।
यो फर्ममा माछा पनि पालिएको छ । तीन वटा पोखरीमा उनले माछा पालन गर्दै आएका छन् । भैँसीको दूध प्रतिलिटर एक सय २० रुपैयाँ, गाईको दुध एक सय रुपैयाँमा र पनिर ८ सय रुपियाँ प्रतिकिलो बिक्री गर्दै आएको उनी बताउँछन् । दैनिक १ सय २० लिटर दूध र ५० किलो पनिर उत्पादन भइरहेको अधिकारीले जानकारी दिए । दूध स्थानीय इन्द्रावती बजार र डुम्रे बजारबाट बिक्री भइरहेको छ भने बाख्रा/बोका खरिद गर्न जिल्लाभरबाट किसानहरू आउँछन् ।

युवा व्यवसायी अधिकारीले केही पुरस्कार पनि पाइसकेका छन् । उनले गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयबाट २० हजार नगदसहित प्रदेशकै उत्कृष्ट कृषक पुरस्कार पाए । यसअघि नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयबाट राष्ट्रिय युवा प्रतिभा सम्मान-२०७८ सम्मान पाइसकेका छन् । ७० रोपनी जमिन आफ्नो र बाँकी भाडामा लिएर २ सय रोपनीमा कृषि व्यवसाय गरेको अधिकारीले बताए । उनले बन्दीपुर बाख्रा अनुसन्धान कार्यक्रमबाट २ साता लामो बाख्रा पालन तालिम पनि लिइसकेका छन् ।
प्रतिक्रिया