अलैँचीको मूल्य बढेपछि किसान उत्साहित

अलैँचीको मूल्य बढेपछि किसान उत्साहित


कालो सुनले परिचत अलैँचीको मूल्य बढेपछि ताप्लेजुङका किसान उत्साही भएका छन् । गत वर्ष प्रतिमन रु २६ हजारदेखि ३२ हजारसम्म अलैँची बिक्री गरेका किसानले यसवर्ष प्रतिमन रु ८० हजारसम्ममा अलैँची बिक्री गरेका छन् । एक मनमा ४० केजी अलैँची हुन्छ ।

अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीले यस वर्ष अधिकांश अलैँची किसानले प्रतिमन रु ७० हजारदेखि रु ८० हजारसम्ममा बिक्री गरेको जानकारी दिए । उनका अनुसार सुरुआतमा प्रतिमन रु ६० हजारदेखि अलैँची बिक्री सुरु भएको थियो । दुई साता अघि रु ८० हजारसम्म पनि पुग्यो । अहिले प्रतिमन रु ७१ हजारमा अलैँची बिक्री भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा माग बढेकाले नेपाली अलैँचीको मूल्य बढेको फुङलिङ नगरपालिका-५ का अलैँची व्यवसायी दिनेश अधिकारीको भनाइ छ । ‘पछिल्लो समय भारतमा अलैँची उत्पादन कम भएको र अन्तर्राष्ट्रिय बजारमा माग बढेकाले नेपाली अलैँचीको मूल्य बढेको हो’, उनले भनेका छन् ।

अधिकारीका अनुसार यहाँका ८० प्रतिशत किसानले अलैँची बिक्री गरिसकेका छन् । ‘गत वर्षको तुलनामा यसवर्ष अलैँचीको मूल्य अत्यधिक बढ्दा किसान खुसी भएका छन् । अधिकांश किसानले प्रतिमन रु ७८ हजारदेखि रु ८० हजारसम्म अलैँची बिक्री गरेका छन्’, उनले भने ।

अलैँचीको मूल्य पाँच वर्षयताकै राम्रो भएको रेग्मीको भनाइ छ । प्रत्येक वर्ष भदौदेखि मङ्सिरसम्म अलैँची टिप्न सुरु हुन्छ भने त्यसपछि बिक्री सुरु हुन्छ । ताप्लेजुङमा करिब चार हजार पाँच सय हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ भने प्रत्येक वर्ष दुई हजार पाँच सय मेट्रिक टनसम्म अलैँची उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र ताप्लेजुङले जनाएको छ । जिल्लाका ६० वडामा अलैँची खेती हुँदै आएको छ ।

तस्बिर : रासस