हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम शुभारम्भ

हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम शुभारम्भ


नेपाली सेनाले हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सुरु गरेको छ । सेनाका बलाधिकृत रथी अशोकराज सिग्देलले सिलसिलेवार संख्या १२ को उक्त तालिम उद्घाटन गरे ।

तालिमका सहभागी शिक्षार्थीलाई सम्बोधन गर्दै रथी सिग्देलले तालिमको दौरान विविध सैनिक विषयका साथै राष्ट्रिय हितहरू, त्यसको सम्वध्र्दन र प्रवर्द्धन गर्ने तरिका, राष्ट्रिय सुरक्षा नीति तथा रणनीतिहरू जस्ता अति महत्त्वपूर्ण विषयहरूको बारेमा ज्ञान आर्जन हुने बताए ।

तालिममा सहभागी अधिकृतहरू निकट भविष्यमा उच्च तहका विभिन्न महत्त्वपूर्ण नियुक्तिमा रही कार्य गर्नुपर्ने र त्यस्ता नियुक्तिमा रहने पदाधिकारीहरुको सल्लाह, सुझाव एवम उनीहरुले लिनुपर्ने निर्णयहरू राष्ट्रिय सुरक्षासँग जोडिने भएकाले कुनै पनि विषयको विश्लेषण गर्दा तटस्थ रही राष्ट्र र संस्थाको हितमा निर्णय गर्न तथा योजनाहरू बनाउन उनले सुझाव दिए । तालिमपछि सहभागी अधिकृतहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न सैनिक तथा गैरसैनिक व्यक्तिहरुसँगै मिलेर काम गर्न सक्ने क्षमता, ज्ञान र आत्मविश्वास अभिवृद्धि हुने विश्वासर सिग्देलले व्यक्त गरे ।

नेपाली सेनामा सञ्चालन हुने सबैभन्दा उच्चस्तरको उक्त तालिममा ३५ जना महासेनानी दर्जाका शिक्षार्थीको सहभागिता रहेको छ । नेपाली सैनिक वार कलेजमा आयोजित तालिमको शुभारम्भ समारोहमा रथी तथा अधिकृतहरूको उपस्थिति थियो ।