नागरिकलाई रुसको पक्षमा लड्न पठाउने नेटवर्कमाथि भारतले माऱ्यो छापा

नागरिकलाई रुसको पक्षमा लड्न पठाउने नेटवर्कमाथि भारतले माऱ्यो छापा


भारतीय अधिकारीहरूले धेरै ट्राभल एजेन्टमाथि छापा मारेपछि युक्रेनमा रुसी सेनाको पक्षमा लड्नका लागि मुलुकका नागरिक पठाउने एक ‘तस्करी’ नेटवर्कका सदस्यहरूलाई पक्राउ गरेको बताएका छन् ।

रुसको आक्रमण सुरु भएको दुई वर्षपछि युक्रेनमा उसका हजारौँ सैनिक मारिएका छन् र मस्को थप लडाकूहरूको वैश्विक खोजीमा छ । युद्धमा कम्तीमा दुई भारतीय सैनिक मारिएका छन् । सेनामा भर्ती भएका केही भारतीयले गत महिना अग्रिम मोर्चामा पठाइनुअघि उनीहरूलाई झुटो बहानामा युद्धको अग्रिम पङ्क्तिमा पठाइएको बताएका छन् ।

शुक्रबार साँझ जारी विज्ञप्तिअनुसार भारतको केन्द्रीय जाँच ब्युरो (सिबिआई)का अनुसन्धानकर्ताहरूले बिहीबार १३ स्थानमा छापा मारेर सोधपुछका लागि ‘केही संदिग्ध’लाई पक्राउ गरेका थिए ।

‘यी तस्करले सङ्गठित नेटवर्कका रूपमा काम गरिरहेका छन् र युट्युबजस्ता सामाजिक सञ्जाल च्यानल तथा आफ्ना स्थानीय सम्पर्क÷एजेन्टमार्फत भारतीय नागरिकलाई रुसमा उच्च तलब भएको नोकरीका लागि प्रलोभन दिइरहेक थिए’, विज्ञप्तिमा भनिएको छ, ‘तस्करीमा परेका भारतीय नागरिकहरूलाई लडाकू भूमिकामा प्रशिक्षित गरिएको छ र उनीहरूको इच्छाविरुद्ध रुस-युक्रेन युद्ध क्षेत्रमा अग्रिम ठेगानामा तैनाथ गरिएको छ ।’

सिबिआईका अनुसार उसले भारतीयलाई रुस पठाउने ‘करिब ३५ उदाहरण’ स्थापित गरेको छ तर उसले धेरै सम्भावित पीडितहरूको पहिचानका लागि काम गरिरहेको छ ।

भारतीय विदेश मन्त्रालयले पहिला रुसी सेनामा करिब २० भारतीय नागरिकलाई निकाल्न सुनिश्चित गर्नका लागि काम गरिरहेको बताएको थियो । मन्त्रालयले शुक्रबार विज्ञप्तिमा भनेको छ, ‘हामी हाम्रा नागरिकको शीघ्र रिहाइ र अन्ततः घर फिर्तीका लागि प्रतिबद्ध छौँ ।’

सिबिआईले दुबईस्थित भर्ती एजेन्ट फैसल खानसहित नेटवर्कमा चार संदिग्धको नाम राखेको छ । उनीहरूले आफ्नो सामाजिक सञ्जाल च्यानल बाबा भ्लग्समा रुसी सेनाको नोकरीको विज्ञापन गरेका थिए । खानले आफूले गत वर्षको अन्त्यमा सेनामा सहायक भूमिकाका लागि १६ भारतीय पासपोर्ट धारकको रुस भ्रमणलाई सुविधाजनक बनाउन सहयोग गरेको गत महिना बताएका थिए ।

उनले सेनामा भर्ती भएकालाई हतियार दिएपछि आफू ‘अचम्मित’ भएको र ‘भर्ती प्रक्रियामाथि रोक लगाउने निर्णय गरेको’ बताए ।

सेनामा भर्ती भएका केही भारतीयले गत महिना अग्रिम मोर्चामा पठाइनुअघि उनीहरूलाई उच्च तलब र रुसी राहदानी दिने वाचा गरेर सेनामा सामेल हुन प्रलोभन दिइएको बताएका थिए । आफूहरूलाई गैरलडाकू भूमिका दिने वचन दिइएको तर युक्रेन पठाउनुअघि कलाश्निकोभ एसल्ट राइफल र अन्य हतियारको प्रयोग गर्नका लागि प्रशिक्षित गरिएको उनीहरूले बताएका थिए ।

भारत रुसको पुरानो सहयोगी हो र उसले युक्रेनका विषयमा आक्रमणको स्पष्ट निन्दा गर्नबाट पछि हटेको छ । भारतमा तीव्र आर्थिक विकास भए पनि बेरोजगारी उच्च छ र प्रत्येक वर्ष ठूलो सङ्ख्यामा मानिसहरू विदेशमा कामको खोजी गर्छन् ।