मृत्यु भइसकेको मानिसको नाममा वृद्धभत्ता वितरण गरेको अभियोग
मृत्यु भइसकेको व्यक्तिको नाममा वृद्धभत्ता वितरण गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानस्थित शारदा नगरपालिका-३ का तत्कालीन वडाध्यक्ष टोपबहादुर थापाविरुद्ध मुद्दा दायर गरेको छ ।
मृत्यु भइसकेको मानिसको नाममा वृद्धभत्ता वितरण गरेको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन वडा अध्यक्ष थापाले अस्तित्वमा नभएको व्यक्तिको नामको आर्थिक वर्ष २०७४/७५, आर्थिक वर्ष २०७५/७६ को प्रथम, दोस्रो र तेस्रो किस्ता र आर्थिक वर्ष २०७६/७७ को प्रथम किस्ताको पहिलो महिनासम्मको गरी रु ५१ हजार सामाजिक सुरक्षा भत्ता आफ्नो आमा नाता जनाइ बुझिलिई सरकारी रकम हिनामिना गरेको पुष्टि भएकाले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।
आयोगले जारी गरेको प्रेस विज्ञप्तिअनुसार निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिइएको छ ।
प्रतिक्रिया