चीनद्वारा अमेरिकालाई टिकटक नियन्त्रण रोक्न आग्रह

चीनद्वारा अमेरिकालाई टिकटक नियन्त्रण रोक्न आग्रह


अन्य देशका कम्पनीहरूको अनुचित दमन रोक्न चीनको आह्वान

टिकटकलाई लक्षित गर्दै अमेरिकाले विधेयक अगाडि बढाएपछि चीनले अमेरिकालाई अन्य देशका कम्पनीहरूको अनुचित दमन रोक्न आह्वान गरेको छ।

अमेरिकाले बजार अर्थतन्त्र र निष्पक्ष प्रतिस्पर्धाको सिद्धान्तलाई इमान्दारीपूर्वक सम्मान गर्नुपर्ने र सबै देशका उद्यमहरूलाई खुला, निष्पक्ष, न्यायपूर्ण र भेदभावरहित तरिकाले विकसित हुने वातावरण उपलब्ध गराउनुपर्ने वाणिज्य मन्त्रालयका प्रवक्ता हे यादोङले बताएका छन् ।

ुसम्बन्धित पक्षहरूले चिनियाँ कानून र नियमहरूको कडाइका साथ पालना गर्नुपर्ने र साथै चीनले आफ्नो वैध अधिकार र हितको दृढतापूर्वक रक्षा गर्न आवश्यक सबै उपायहरू अवलम्बन गर्ने उनले पत्रकार सम्मेलनमा उल्लेख गरेको सिन्ह्वाले जनाएको छ ।

यसै साता युएस हाउस अफ रिप्रिजेन्टेटिभ्सले टिकटकसम्बन्धी बिललाई अनुमोदन गरेको छ, जसमा टिकटकलाई या त यसले मूल कम्पनी, चिनियाँ टेक विशाल बाइटडान्सबाट अलग हुनुपर्ने या राष्ट्रव्यापी प्रतिबन्धको सामना गर्नुपर्ने बताएको थियो ।

ज्ञातव्य छ, टिकटकले आफ्नो चिनियाँ मूल कम्पनीसँग सम्बन्धविच्छेद गर्न वा संयुक्त राज्य अमेरिकामा प्रतिबन्धको सामना गर्नुपर्ने विधेयक अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट बुधबार पारित भएको छ ।

भिडियो साझा गर्न मिल्ने र १७ करोड अमेरिकी प्रयोगकर्ताले प्रयोग गर्दै आएको चिनियाँ एप टिकटकका लागि यो कानूनले ठूलो धक्का दिने विश्लेषकहरूले बताएका छन् । टिकटकले विश्वभर लोकप्रियतामा वृद्धि गरेको छ तर यसको चिनियाँ स्वामित्व र बेइजिङमा कम्युनिस्ट पार्टीको सम्भावित अधीनले विश्वसामु चिन्ता पैदा गरेको छ ।

टिकटकका विषयमा राजनीतिक रूपमा विभाजित वासिङ्टनमा एकताको दुर्लभ क्षण सिर्जना भएको छ । सांसदहरूले प्रस्तावित कानूनको पक्षमा ३५२ र विपक्षमा ६५ मत दिएका छन् । रिपब्लिकन र डेमोक्र्याट दुवैले चुनावी वर्षमा टिकटकका भावुक युवा प्रयोगकर्ताहरूको क्रोधको जोखिम उठाएपछि एप प्रयोगको विपक्षमा आएको चेतावनीले धेरैलाई आश्चर्यचकित पारेको छ । अमेरिकी निर्वाचनमा युवाहरूको भावना र भूमिकालाई महत्त्वपूर्ण मानिन्छ ।

यो विधेयकको विषय सिनेटबाट अनुमोदन हुन अझै बाँकी छ । अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त विधेयक संसदबाट पारित भएर आए त्यसमा हस्ताक्षर गर्ने अभिव्यक्ति दिएको ह्वाइट हाउसले जनाएको छ ।