प्रश्नहरूबाटै फेरि जन्मिरहेछन् प्रश्नहरू

प्रश्नहरूबाटै फेरि जन्मिरहेछन् प्रश्नहरू


कुनै बेला बीपी कोइरालाले भनेका थिए- ‘क्रान्तिपछि जब परिवर्तन हुन्छ, सुकिला-मुकिलाहरूको हालिमुहाली शुरू हुन्छ । तिनीहरूका विरुद्धमा फेरि अर्को आन्दोलन गर्नु पर्नेछ ।’ शब्द केही तल-माथि भएको हुन सक्छ, तर उनको यो भनाइ धेरैले दोहोऱ्याइरहेको सुनिन्छ ।
✍ कृष्ण धरावासी

झापाली साहित्यिक यात्रामा मसँग धेरै साथीहरू थिए । विचारले, कलाले र प्रस्तुतिले हामी सँगै भएर पनि एक्लाएक्लै थियौं । जिल्लाभरि छरपष्ट थियौं, तर फेरि सँगै थियौं । वैचारिक रूपमा राजेश ढुङ्गाना र भरत भूर्तेल मेरा सबैभन्दा निकट थिए । तर, साहित्यिक संगतमा उनीहरूभन्दा म निकै पर थिएँ, अर्थात् राजेश र भरत साहित्यिकभन्दा बढी राजनीतिक गतिविधि र पत्रकारितामा व्यस्त हुन्थे । थोरै लेख्थे, तर लोभ्याउने गरी लेख्थे । उनीहरू भद्रपुरतिर बढी व्यस्त हुन्थे, म बिर्तामोडतिर । तैपनि हामी सम्पर्कबाट टाढा थिएनौं । कालान्तरमा भरत पूर्णकालीन पत्रकारितामा पुगे, राजेश लेखन र पहिले देखिकै राजनीतिक कर्ममा ।

एक समय यस्तो थियो, राजेश ढुङ्गाना नेपाली काङ्ग्रेसको राजनीतिको केन्द्रसम्म हावा झैँ छिर्न सक्थे । गिरिजाप्रसाद कोइरालाको खोजाइमा परिरहन्थे उनी । हामी छक्क पर्थ्यौं- राजेशले कसरी काठमाडौं केन्द्रलाई चिन्न सके ! तर, उनको सम्बन्ध राजनीतिको केन्द्रसम्म भए पनि उनी नेता हुनतिर लागेनन् । शायद जति-जति भित्र गए, उति-उति त्यहाँभित्रको लीला देखे होलान् । अन्ततः एउटा कवि कसरी विकृतिमा सहभागी हुन सक्थ्यो !

उनी लेखन र साहित्यकै संसारमा फर्के । काठमाडौंका पत्रपत्रिकाहरूमा राजेशका अत्यन्त खरा वाक्यहरू छापिन थाले । लेखनलाई नै जीविकाको माध्यम बनाएर उनी राजधानीका सडक, रेस्टुराँ र होटलहरुमा छरपष्ट हुन थाले । कविताभन्दा बढी वैचारिक लेखहरूमा पोखिन थाले । डा. ध्रुवचन्द्र गौतम, पुरुषोत्तम बस्नेत, शिव अधिकारी, हरि अधिकारी, बैरागी काइँला,अशेष मल्ल, ध्रुव सापकोटा, शैलेन्द्र शाकार, बिष्णुविभु घिमिरे, डा. तुलसीप्रसाद भट्टराई लगायत थुप्रै अरु प्रशिद्ध र अग्रज साहित्यकारहरुको सङ्गतमा उनलाई हामी रमाइरहेको देख्थ्यौं । खुशी लाग्थ्यो- हाम्रो एउटा साथीले राजधानी केन्द्रको भरपुर उपयोग गरिरहेछ भन्नेमा । कुनै बेला समाचार आउँथ्यो- राजेशको हुट्हुटीमा डा. ध्रुवचन्द्र गौतमको नेतृत्वमा ‘विश्वेश्वर शताब्दी साहित्यिक पुरस्कार’ स्थापना भएको (जसले कारणवस मूर्त रुप लिन सकेन) कहिले समाचार आउँथ्यो- जयप्रकाश आनन्दहरूसँग मिलेर नेपाल प्रेस युनियन दर्ता गरिएको । हामी मोफसलकाहरू राजेशलाई दिनदिनै माथि-माथि पुगेको देखिरहन्थ्यौं । गरिमा, मधुपर्क, गोरखापत्र लगायत त्यसबेलाका सर्वाधिक चर्चित र लोकप्रिय पत्रिकाहरु साप्ताहिक विमर्ष, देशान्तर, सुरुचि, युगवाणी, नेपाल पुकार लगायत थुप्रै पत्रपत्रिकाहरुमा उसका कविता र लेख पालैपालो र निरन्तर पढिन्थ्यो ।

जब ऊ झापा आउँथ्यो, उ हाम्रै राजेश आउँथ्यो, उ काठमाडौं पुगेको ठूलो कवि वा पत्रकार नभएकै भएर आउँथ्यो । राजेशको यही सरलताले उसलाई कविभन्दा माथि जान दिएन । भावुकताको उचाइबाट तल खस्न दिएन । राजनीतिभित्रको षडयन्त्र, लोभ र भ्रष्टता उसका लागि घिन थियो । उसलाई जे बनाउन खोजियो, त्यो त उ बनेन कवि बन्यो । राजेशभित्रको इमानले बेइमानहरूसँग गरेको विद्रोहले त जित्यो, तर उसभित्र मन्द बिषका रूपमा विकसित हुँदै गरेको मदिरा कुलतलाई भने चिन्न सकेन उसले । हामी कसैले यो अपेक्षा गरेका थिएनौं, राजेश हाम्रो साथीलाई राजधानीले यति निर्मम प्रहार गर्नेछ र कुनै दिन उसलाई हामीले केही पनि हुन नसकेको राजेश भेट्ने छौं !

न घर, न जागिर, न गृहस्थी ! हेर्दाहेर्दै हाम्रो प्रिय साथी राजेश हामीसँगै भाग्ने भइसकेछ । रक्सीले बर्बाद भएका साहित्यकारहरु हरिभक्त कटुवाल, बिष्णु नवीन, हीरा आकाश जस्तै उसलाई पनि जोगाउन नसकिने अवस्थामा पुगेछ । त्यस्तै बेलामा होला, उसले मलाई चालिस, पचास वटा मुक्तकहरूको एक संङ्गग्रह दिएर भनेको थियो- ‘यो हेरेर सल्लाह देऊ ।’ उसका गद्यमा जुन शक्ति थियो त्यही शक्ति आउँथ्यो उसका कविता र मुक्तकमा पनि । ती सिर्जनामा अत्यन्त चोटिला व्यंग्य हुन्थे । मैले केही कमजोर मुक्तकहरूलाई हटाएर नयाँ थपी छाप्ने सुझाव दिएको थिएँ, तर पछि उसले त्यो लोभ लाग्दो सिर्जनाको मूल प्रति समेत हराएको खबर गऱ्यो । सायद कुलतमा बेहोसिएर होला ! कुनै कुरालाई पनि धेरै समयसम्म दिमागमा बोकेर हिंडी नरहने उसको स्वान्त स्वभावले उसका ती रचना हराएकोमा पनि खासै पीर बोकेको देखिनँ ।

एकप्रकार हामीले माया मारेका थियौं- ‘अब राजेशबाट कुनै नयाँ सिर्जना होला’ भन्नेमा । तर, ढलेर फेरि उठ्नसक्ने क्षमता उसमा मरिहालेको रहेनछ । राम्रो स्याहार र सङ्गत पाए ढलिसकेको वृक्ष पनि फेरि उभिँदोरहेछ । त्यही फेरि उभिएकैले त आज म उसको यो कृतिको अग्रपृष्ठमा यी यसरी उसैलाई पखालिरहन पाएको छु नि ! उ कसरी तङ्ग्रियो, त्यो अलिक तल लेख्नेछु ।

०००

भाव र विषयहरूको जहिल्यै पनि मौन युद्ध चलिरहेको हुन्छ । कविता भनेको भाव मात्र हो कि विषय पनि हो ? वा विषय र भाव दुबै हो, कि दुबै हैन ! प्रश्नलाई सोध्ने छुट दियो भने यसले सोधेको सोधेकै गर्छ । उत्तर दिएर पनि कहिल्यै मुक्ति पाइँदैन । प्रश्नलाई त्यत्तिकै छोडिराखेर अघि जान पनि त कहाँ सकिन्छ र ! मानव मनको शक्ति भनेकै प्रश्नहरू नै हुन् । प्रश्नले जगाएपछि नै हामी निरन्तर उत्तरमार्गी हुन्छौँ ।

कवितामा कविता बन्ने शक्ति के ले दिएको होला ? शब्दहरू मात्र कविता हुन् कि ! लय कविता हो कि ! लेख्य शैली र संरचना कविता हो ! लेखक र पाठक सबैलाई अल्मल्याउने कुरा यही नै हो । समालोचकले घोरिने पनि यहीँ हो ।

तिनै शब्द, तिनै र त्यस्तै वाक्य हुँदाहुँदै पनि कसरी कविता र कुरामा फरक हुन्छ ? कसरी लेख र कवितामा अन्तर पर्छ ? मैले कवितामा आफूलाई खोज्ने पनि यहीँनेर हो ।

देवकोटाको ‘पागल’, मोहन कोइरालाको ‘फर्सीको जरो’, बैरागी काइँलाको ‘प्लान्चेटको टेबल’, महेश प्रसाईंको ‘उम्मेकुलसमको गाना’ कविताहरू पढ्दा म धेरैपल्ट रन्थनिएको थिएँ । त्यसैगरी, भूपी शेरचनको ‘हामी’, हरिभक्तको ‘यो जिन्दगी खै के जिन्दगी’, बिष्णुविभुको ‘विमलाहरू’ र दुबसु क्षेत्रीको ‘साले दुबसु क्षेत्री’ पढेर खुबै रमाएको थिएँ । अघिल्लाहरू पढेर किन रन्थनिएँ र पछिल्लाहरूमा किन रमाएँ – मलाई अझै थाहा छैन । तर, यी दुबैथरि कविताहरू कविता नै हुन् ।

पाठकको रुचि र बोधक्षमताले यहाँ काम गरेको हुँदो हो । आफूले पनि कविताबाटै लेखनको यात्रा थालेकाले लेखन र पठन-रुचि यसमै बढी छ । त्यही बढी कहिलेकाहीँ विश्लेषक हुन खोज्छ, कहिले प्रशंसक । तर, यहाँ म आस्वादन गरिरहेछु- राजेशका कविताहरू ।

झापा छोडेर काठमाडौं पसेको राजेश लामो समय उतै रमायो । हामीले त रमाएकै देखेछौं, तर खासमा उ के भएछ- त्यो थाहा पाउन निकै वर्ष पर्खनु परेछ । चालिसका साथसाथै पचासको दशक काठमाडौं राजेशको सबैभन्दा फराकिलो खेल्ने मैदान थियो । उसको काव्यिक र पत्रकारिता यात्रा समानान्तर थियो । त्यसबेला उ अधिकांश पत्रिकाहरूमा कविका साथसाथै समसामयिक विश्लेषक देखिन्थ्यो । तर, उ पचासको दशकको अन्त्यतिरदेखि एकाएक छापाहरूबाट हरायो । छापाहरूबाट मात्र हैन, साथीभाइहरूको सम्पर्कमा पनि थिएन । हामी उसका नजिककाहरू पनि उसँग थिएनौं ।

धेरै पहिलेदेखि नै नेपाली कविहरूको एक विडम्बना थियो, रक्सी । इलामका बिष्णु नवीन, बोडोलैण्डका हरिभक्त कटुवाल, झापाका हीरा आकाशहरू रक्सीका पर्याय थिए । पछि, यही लस्करमा उभिन पुग्यो राजेश पनि । हामीलाई उसको सधैं पीर लाग्थ्यो । उसको अत्यन्त उर्वर समय नशामा लठ्ठिएर बित्यो । उ आफैलाई थाहा थियो आफू गलत बाटोमा पुगेर अल्मलिएको कुरा । तर, त्यसबाट बाहिर निस्किन उसलाई सजिलो थिएन ।

उसले आफै २०७० मा प्रष्टसँग खुलेरै लेखेको छ- तीन दशकभन्दा पनि अघिदेखि नै कविता संग्रह निकाल्ने योजना यतिबेला साकार भएको छ । कहिले मनले दिएन, कहिले रक्सीले दिएन, त कहिले आफ्नै विरुद्धको विचारले दिएन । आ… मेरा कविता ननिस्किदैमा दुनियाँलाई के नै फरक पर्छ र ? भन्ने सोच नै यसको मूल कारण रह्यो । तर, यसपटक आफ्ना माथिका विचारमा अडिन नसकेर यो संग्रह निकालेको छु- मेरी पत्नी मीनाका लागि । किताब ननिकाली उनलाई भएकै थिएन । म स्वयम् आफ्नी पत्नीसँग पराजित भएको प्रमाण यो पुस्तक आफैँ छ ।

एउटा खास समयपछि मानिस आफै सम्हालिंदो रहेछ वा उसलाई सम्हाल्न कोही आउनुपर्ने रहेछ । उसको जीवनमा पनि पत्नीका रूपमा जब मीना पाण्डे मीना ढुंगाना भएर आउनुभयो, हो… त्यसै दिनदेखि उ फेरि हाम्रो पुरानो राजेश हुन थाल्यो र केही कालपछि नै उसले आफ्नो पहिलो कविता संग्रह हाम्रा हातमा राखिदियो- ‘सुकिला मान्छेको सामूहिक मृत्यु’ ।

मीना पाण्डेले जोसँग विवाह गर्नुभयो, त्यो मानिस सबै कुरामा योग्य र व्यवस्थित मानिस थिएन । ऊ त बाटोमा बतासले जताततै उडाउँदै गरेको भुवा थियो । त्यसलाई उहाँले मायाले, जतनले उठाएर टक्टकाएर हत्केलामा राख्नुभएको थियो, छ र राख्दै हुनुहुन्छ । हामीले हेर्दाहेर्दै हाम्रो राजेश हामीसँगै भयो । आमाको काख र श्रीमतीको साथ हरेक पुरुषको भविष्य हो । बितेकोलाई डिलिट गरिसकेको राजेश आज हाम्रा हत्केलामा पुस्तक भएर फैलिरहँदा त्यस पुस्तकको आवरणमै हामीले महसूस गर्नुपर्छ- मीना भाउजूलाई ।

२०७० बैशाखमा पहिलोपल्ट प्रकाशित भयो, माथि उल्लेखित संग्रह । दश वर्षपछि २०८० साल बैशाखमा फेरि त्यसले प्रकाशन हुन पाएको छ । तर, यो संस्करणले आफू दोहोरिएर मात्र आएन, नयाँ साथी पनि पछि-पछि लिएर आएछ- मैले खोजेको देश ।

०००

मैले खोजेको देश खै त ? भन्दै हरेक कवितामा उनी वाक्यहरू र शब्दहरूको झटारो बोलेर उभिएका छन् । कवि रिसायो भने नराम्रो गरी कराउँछ, जसरी बीस सालतिर बैरागी काइँला मध्यरातमा मातेर सडकमा कराइरहेथे-
‘कोलम्बसको पाइतालाले यहाँ टेक्न पाउनुपर्छ
एउटा विद्रोहले यहाँ शिर उचालेर हिँड्न पाउनुपर्छ ।’

तर, दुःख लाग्छ… आज असी सालमा पनि राजेश ढुङ्गाना देश नै खोजिरहेका छन् । बैरागी काइँलाले बीस सालमा मध्यरातमा चोकबजारमा उभिएर जोड-जोडले भनिरहेका थिए-
‘यी ठूलाठूला बिल्डिङका पेटीहरू
मात्र कोतपर्वका विजेताका
मात्र शासन गर्ने परिवारका
प्रशस्ति र वंशावली लेखिएका
इतिहासका नाङ्गा पन्ना जस्ता
यी पेटीहरूलाई
तिमीले च्यात्तिदेउ…फाट्टिदेउ ।’

२०३६ सालदेखि नै हिँडेका हुन्- राजेश पनि, ती इतिहासका नाङ्गा पन्ना जस्ता पेटीहरूलाई च्यात्न । हरेक पल्ट च्यातिएकै ठानेका थिए । तर, ती पानाहरू जराशन्धको गीँण जसरी सर्दै.. जोडिंदै, गरिरहे- मानिएका हरेक परिवर्तनपछि पनि । राजेश हाम्रो युगका प्रतिनिधि कविता लेखिरहेछन् र भन्छन्-
मृत्यु पर्यन्त म
तिमीसँग इमान्दार हुने छैन
किनकि
झण्डा बोकाएर जीवनभरि
मसँग तिमी
कहिले इमान्दार भयौ ? (जुरुक्क उठेर)

कतिञ्जेल बोकिरहने तिनको भारी ! केका लागि र किन ? हामी अर्थात् जनता के सधैं भरिया मात्र हौं ? कहिले झण्डा, कहिले बन्दुक, कहिले चुनाव-चिन्ह । इमानदारीको पनि सीमा हुन्छ, हद हुन्छ । तिमीले भनेको सबै मानियो, सबै गरियो । तिमी त्यहीँ पुग्यौ, जहाँ पहिले कोही अरू नै थियो र ऊ जे गर्थ्यो, आज तिमी त्यही गर्दैछौ । अनि हामीले चाहिँ तिम्रा सुख-सुविधाको तमाशा हेरिरहन इमान्दार भइरहनुपर्ने ?
तपाईं र तपाईंहरूको विश्वासमा
मेरो भाइले जीवन दियो, बहिनी बलात्कृत भई
स्वयम् मेरो छातीमा समेत ठूलो भ्वाङ पऱ्यो
र,
तपाईं जो त्यही सडकका मान्छेको
रक्त-मूल्यमा आज कुर्सीमा हुनुहुन्छ

(तपाईं र तपाईंहरू)

अनि मैले चूप लागिरहिदिनु पर्ने ? किन चूप लागिदिनु पर्ने ? मैले बोल्दा तिम्रो सत्ता ढल्छ, हो ? तिमी ढल्दा के देशै ढल्ने हो ? फेरि गरिरहन्छन् प्रश्नहरू-
तिमी नबाँच्ने हो भनें, नबाँच बरु
मर्न तिमी स्वतन्त्र छौ
तर बारम्बार मृत्युको गीता पाठ गरेर
मृत्युमा मान्छेको मुक्ति देख्ने तिमी को हौ ?’

तिमीलाई युगौंयुग बचाइरहन अरुले मरिरहनुपर्ने ? मरेर कहिल्यै नमर्ने शहीद होइने हो भने त्यो महान काम तिमीले किन गरेनौ ? तिमी कतिपल्ट मऱ्यौ ? के साँच्चै तिमी कहिल्यै मऱ्यौ महाशय ?
यो के आएछ ?
अहँ…
मैले ल्याउन खोजेको
मैले ल्याउन सोचेको
पटक्कै यो हुँदै होइन,

०००

अहँ…
मैले खोजेको देश
पटक्कै यस्तो हुँदै होइन !

प्रायः कविता असन्तुष्टि र विद्रोहले फाटेका जुत्तामा चेपिएर चिच्याइरहेछन् । सुनिएलान् त !

तर, यो कविता संग्रहको शीर्षकले विशेष अर्थ बोकेको छ । कुनै बेला बीपी कोइरालाले भनेका थिए- ‘क्रान्तिपछि जब परिवर्तन हुन्छ, सुकिला-मुकिलाहरूको हालिमुहाली शुरू हुन्छ । तिनीहरूका विरुद्धमा फेरि अर्को आन्दोलन गर्नु पर्नेछ ।’ शब्द केही तल-माथि भएको हुन सक्छ, तर उनको यो भनाइ धेरैले दोहोऱ्याइरहेको सुनिन्छ । राजेशका यी कविताहरूले बोकेका भावहरू उनको अघिल्लो संग्रहको शीर्षक मर्दै गरेका सुकिला मानिसहरूको मलामी नै हुन् भन्दा पनि हुन्छ ।

उनी कवि त थिए, तर उनको शर्त थियो ‘प्रजातन्त्र’ । उनी वैचारिक थिए र शर्त थियो ‘स्वतन्त्रता’ । आन्दोलनले बनाएको कवि रुमानी मात्र कसरी हुनसक्नु ! मानवता, प्रजातन्त्र र स्वतन्त्रता कुनै पनि कविको पहिलो शर्त हुन्छ । त्यसमा पनि उनी त प्रजातान्त्रिक आन्दोलनमा मनैदेखि लागेर थुप्रै हन्डर खाएका मानिस पनि हुन् । लामो निरङ्कुशतापछि प्राप्त भएको यो स्वतन्त्रता ती सत्ता र पदको मातले लठ्ठिएकाहरूसँग साट्न कसरी तयार हुन्छ- कुनै कवि ? राजेशले त झन् सक्ने कुरै भएन- जो स्वयम् महान सपना बोकेर प्रजातान्त्रिक आन्दोलनमा दिलै देखी होमिएको मानिस ।

स्वतन्त्रताको आगो छातीमा बोकेर निरन्तर हिँडिरहेको कविले जब अत्यन्त नजिकबाट विकृतिको कुइगन्ध सुँघ्यो, त्यसले उसमा विद्रोह दिन सकेन; बरू गहिरो र अँध्यारो निराशा ल्यायो । नझुक्ने, बरू भाँचिने उसको स्वभावले उसलाई थाहै नदिइ नसाले कुलतमा पु¥यायो ।

यी कविता लेख्न पनि उसले लामै अन्यौलको यात्रा गर्नु पऱ्यो । भावुकता नभएको मानिस कवि हुँदैन । त्यही भावुकताले निकास नपाए या त विद्रोही बनाउँछ, या त निराश । राजेश निराश बन्यो । फलतः हामीले एउटा अत्यन्त राम्रो कविलाई धेरै वर्षसम्म आफ्नो संगतबाट गुमायौं । अब उ फर्की आइपुगेको छ हामी सँगै र दिन थालेको छ किताबहरू ।

सरल र सिधा व्यंग्य राजेशको लेखनका विशेषता हुन् । वैचारिकता लेखन धर्म । विम्ब र प्रतीकको ठुलो र धेरै आपट्टे जङ्गलमा हामीलाई घिसार्दै लाँदैनन् उनी । हामीसँगै बस्छन्, हामीसँगै कुरा गर्छन् र हामीसँगै उठ्छन् ।

त्यसैले माथि शुरुमै भनेको थिएँ – कविता भनेको भाव मात्र हो कि विषय पनि हो ? वा विषय र भाव दुबै हो, कि दुबै हैन ? राजेशका कवितामा म यिनै कुरा खोजिरहेको छु ।