चोरीको मोटरसाइकलसहित युवक पक्राउ

चोरीको मोटरसाइकलसहित युवक पक्राउ


काठमाडौंको बुढानिकण्ठ नगरपालिका-२ भंगालबाट चोरीको मोटरसाइकलसहित एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंकै चाबहिल बस्ने १८ वर्षीय सक्षम गुरूङलाई नियन्त्रणमा लिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

मोटरसाइकलको वास्तविक नम्बर परिवर्तन गरेर बागमती प्रदेश–०२–२७प ४३०३ नम्बर राखी चलाइरहेको अवस्थामा गुरूङलाई आइतबार साँझ ट्राफिक प्रहरीले फेला पारेको हो । नियन्त्रणमा आएका गुरुङले उक्त मोटरसाइकल अन्य व्यक्तिबाट लिएको बताएका छन् । थप अनुसन्धान तथा कारबाहीका लागि गुरूङलाई प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ ।

बागमती प्रदेश–०२–०२३प ०४७२ नम्बरको बुलेट मोटरसाइकल काठमाडौंको टोखा इन्द्रेणीपुलबाट हराएको मोटरसाइकलधनी धादिङको गंगाजमुना गाउँपालिका-७ का प्रकाश श्रेष्ठले ट्राफिक प्रहरी कार्यालयमा खोजतलासका लागि गत मंसिर २६ गते निवेदन दिएका थिए । प्राप्त निवेदनका आधारमा खोजतलास गर्ने क्रममा मोटरसाइकलसहित गुरुङ नियन्त्रणमा आएका हुन् ।

आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न ट्राफिक प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठले सम्पूर्णलाई अनुरोध गरेका दछन् ।

प्रवक्ता एसएसपी श्रेष्ठका अनुसार हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएपनि सवारी धनी स्वयम् सजग हुन सकेमात्र मोटरसाइकलहरु चोरिनबाट बचाउन सकिन्छ ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।