रिडी-तम्घास सडकखण्ड आजदेखि तीन साता बन्द

रिडी-तम्घास सडकखण्ड आजदेखि तीन साता बन्द


मदन भण्डारी राजमार्गअन्तर्गत रिडी-तम्घास सडक आजदेखि तीन सातासम्म बन्द हुने भएको छ । राजमार्ग योजना कार्यालयले सार्वजनिक सूचना निकालेर रिडी-तम्घास खण्डमा सडक विस्तारको काम भइरहेकाले तीन सातालाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

सडक निर्माणका क्रममा पहरो फोर्ने, चौडा पार्ने, ग्रेड मिलाउनेलगायत काम गर्नुपर्ने भन्दै कार्यालयले ७ चैतदेखि चैत मसान्तसम्म सडक बन्द हुने मदन भण्डारी राजमार्ग योजना कार्यालयका इन्जिनियर एवं सूचना अधिकारी शर्मिला शर्माले जानकारी दिएका छन् । उनले तीन साताका लागि आज बिहान १० देखि ४ बजेसम्म र राति १० देखि बिहान ४ बजेसम्म सडक बन्द रहने बताए ।

गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको अध्यक्षतामा भएको बैठकले हाल तीन सातालाई सडक बन्द गर्ने निर्णय गरेको हो । मुख्य सडक बन्द भएपछि वैकल्पिक सडकका लागि पानीट्याङ्की-थोर्गा-स्यालपोखरी-सालबिसौनीबाट रातामाटा, पिपलनेटा दिगाम हुँदै रिडी र लुम्छा-धरमपानी-दिगाम हुँदै रिडी तथा घुम्तीबाट-चारापाला–खर्ज्याङ हुँदै रिडी सडक प्रयोग गर्न कार्यालयले सार्वजनिक सूचना जारी गरेर जनाएको छ ।

रिडी-तम्घास सडकखण्डको २५ किलोमिटर क्षेत्रमा सडक निर्माण द्रुतगतिमा भइरहेको छ ।