सुदूरपश्चिममा कोरोना भाइरस सङ्क्रमणदर उकालो लाग्दै

सुदूरपश्चिममा कोरोना भाइरस सङ्क्रमणदर उकालो लाग्दै


सुदूरपश्चिम प्रदेशमा पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर उकालो लाग्न थालेको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कका अनुसार पछिल्लो आठ दिनमा प्रदेशमा २१ जना कोरोना भाइरस सङ्क्रमित फेला परेका छन् । यसअघि गत फागुन १२ देखि ३० गते सम्मको १८ दिन २६ जनामा कोरोनाको सङ्क्रमण देखिएको थियो ।

कोरोना सङ्क्रमित बढ्दै गएपनि यो रोगको रोकथाम र निगरानीका लागि त्यति चासो देखिएको पाइँदैन । कोरोना भाइरसको सङ्क्रमण बढेको भए पनि यसको रोकथाममा त्यति चासो नदेखाइएको गौरीफन्टा सीमानास्थित ‘हेल्थ डेस्क’का अहेब गणेश साउदले बताए ।

हेल्थ डेस्कमा एन्टिजेन विधिबाट कोरानाको नमुना जाँच हुने गरेको छ । ‘देशका अरु नाकामा यो रोगका सङ्क्रमित देखिएका छैनन्, सुदूरपश्चिमका नाकामा कोरोनाका बिरामी फेला परेका छन्’, उनले भनेका छन् । कोरोनालाई नागरिकले सामान्य रुपमा लिँदा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनमा चासो नदिने गरेको पाइएको पनि छ ।

पछिल्लो हप्तामा सुदूरपश्चिमका सीमा नाकाहुँदै भित्रिने नागरिकमध्ये शङ्कास्पद ६ सय २० को एन्टिजेन विधिबाट कोरोनाको नमुना जाँच गरिएको छ । तर, सिकिस्त अवस्थाका कोरोनासङ्क्रमित फेला नपरेका बताइएको छ ।

गएको पुस अघिको आठ-दश महिना शून्य रहेको कोरोना सङ्क्रमण गत पुस महिनादेखि पुनः देखिन थालेको हो । सेती प्रादेशिक अस्पताल धनगढीका मेडिकल सुपरिटेन्डेन्ट डा. शेरबहादुर कमरले कोरोना सङ्क्रमण रोकथामका लागि निरन्तर निगरानी भइरहेको जनाएका छन् ।