बहुमूल्य बस्तु ठगी गरेको आरोपमा तीन युवा पक्राउ

बहुमूल्य बस्तु ठगी गरेको आरोपमा तीन युवा पक्राउ


मुगाको माला, टल्कने पत्थरलगायतका बहुमुल्य बस्तु ठगी गरेको आरोपमा गोरखाका दुई जना कपिलबस्तुका एक गरी तीन युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका-३ नारेश्वरका २३ वर्षीय अश्विन दानी, भीमसेन थापा गाउँपालिका-८ का २५ वर्षीय अर्जुन कुमाल र कपिलवस्तुका २७ वर्षीय इमान सिं सुनाररहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

कार्यालयका निमित्त प्रमुख डिएसपी खगेन्द्रबहादुर खड्काका अनुसार गत फागुन ३० गते मुगामाला र टल्कने पत्थर किन्न भन्दै उनीहरु नुवाकोटको बिदुर नगरपालिका-७ महादेवखर्कस्थित चन्द्रबहादुर तामाङको घरमा पुगेका थिए । उनीहरुले घर पुगेर सामान हेरेछन्, ३५ लाखमा किन्ने फाइनल डिल पनि भएछ, तर अन्तमा पैसा नदिइ सामान लिएर भागेछन् । घटनाबारे तामाङले प्रहरीमा खबर गरेपछि प्रहरीले उनीहरुको खोजी कार्य तीव्र पारेको थियो ।

फोन ट्रयाकको आधारमा काठमाडौंको वालुवाटारमा लुकेर बसेको जानकारी मिलेपछि उनीहरु लुकेको कोठाबाट तीनै जनालाई पक्राउ गरिएको डिएसपी खड्काले जानकारी दिए ।

ठगी गरेको सामानसहित उनीहरुलाई पक्राउ गरिएको डिएसपी खड्काको भनाइ छ । उनीहरुको साथबाट ठगी गरेको मुगा माला चार थान, सि माला दुई थान, आर माला र टल्कने पत्थर नौ थान समेत बरामद भएको उनले जानकारी दिए । उनीहरुविरुद्ध ठगी मुद्दा दर्ता भइ आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।