‘टुहुरो बालक’को सफलता : कराँतेमा सातौँ डिग्री

‘टुहुरो बालक’को सफलता : कराँतेमा सातौँ डिग्री


  • सुरेन्द्र सुवेदी, काठमाडौं

कडा परिश्रम र मिहेनत गरेपछि सफता हात लाग्छ भन्ने उदाहरण बनेका छन् कराँतेमा सातौं डिग्री (सेभेन डान) लिन सफल जनक सुवेदी । अमेरिकामा खेलिने क्वानमुकान कराँते खेललाई उनै सुवेदीले नेपाल भित्र्याएका हुन् । उनी अहिले नेपाल क्वानमुकान कराँते डो संघका अध्यक्ष रहेका छन् ।

पाल्पाको मेरकथान-१ मा आमा दुर्गा र बुबा चन्द्रका दोस्रो सन्तान भएर जन्मिएका जनककी आमाको उनी ६ महिना हुँदा नै निधन भयो । त्यसपछि मामा घर बसेर हुर्किएका उनले भैरहवाको श्रीनगर माध्यमिक विद्यालयबाट मावितह पूरा गरेर राजधानीको आरआर क्याम्पस पढ्न काठमाडौं आए । २०४० सालमा पूर्व अधिकारकुमार तथा राष्ट्रिय खेलकुद परिषद्का संरक्षक धिरेन्द्र शाहले कराँते खेल खेल्न पाउने भन्दै नेपालमा पनि खुला गरे । त्यसपछि कराँतेको पहिलो व्याचमै उनी भर्ना भएर खेल्न थाले । उनलाई जगत गौचनले कराँते सिकाउँथे ।

कराँते खेल्न थालेपछि उनको पढाइ छुट्यो । त्यही समयमा प्रथम सगरमाथा ते क्वान दो प्रतियोगिता भयो । अनि कराँते, ते क्वान दो समेटेर मार्सल आर्ट एसोसिएसन बन्यो । त्यो बेला डिके सिंह एसोसिएसनका अध्यक्ष थिए ।

कोरियामा भएको ओलम्पिक गेम खेल्न उनी छनोट भए । एक वर्ष क्लोज क्याम्पमा बसेर खेलिरहे । अनि कराँते खेल्न कोरियाको सिओल गए । त्यो बेला उनलाई उत्तम राई, अच्युत पाण्डे, शरदचन्द्र शाह, दीपक बोहोराले राम्रो साथ दिएका थिए । ‘खेल खेल्नुपर्ने ‘डाइट’ खाने पैसा नै हुन्नथ्यो, धेरै अभावबीच खेललाई निरन्तरता भने दिइरहेँ’– सुवेदीले घटना र विचारलाई भने ।

त्यही बेला उनले खेलाडी, प्रहरीहरू र केही विद्यार्थीसमेटेर एक समूह बनाए र, त्यो समूहमार्फत खेल खेल्दै खर्चको जोहो गर्न थाले । सगरमाथा ते क्वान दो प्रतियोगितामा ५०-५५ केजी तौल समूहबाट खेले, राजविराज र पोखरामा राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि छनोट भएर खेले । त्यो बेला उनीसित रेड बेल्डमात्र थियो ।

२०४२ सालमा रामराजाप्रसाद सिंहले नारायणहिटी दरबारमा बम फ्याँकेपछि शरदचन्द्र शाहको घरको रेखदेख गर्न खेलाडीहरूलाई त्यहाँ पठाइन्थ्यो । एक दिन शाहले सबै खेलाडी भेला पारेर खेलकुदको विकास र व्यक्तिगत रुपमा के के समस्या छन् भनी राय मागे । सुवेदीले ‘म जापान गएर कराँते सिक्छु, अनि नेपाल आएर सिकाउँछु’ भनेपछि शाहले उनको कुरा सुनेर जापान जाने व्यवस्था मिलाइ दिए । खाने, बस्ने सबै जापानको कराँते संघले गर्ने अनि नेपालबाट दैनिक ५ अमेरिकन डलर पकेट खर्चको व्यवस्था पनि मिलाई दिए । अनि उनी २०४५ सालमा जापान हानिए । जापानमा उनले ब्ल्याक बेल्ड लिए । एक वर्ष जापान बसेर नेपाल फर्किए ।

नेपालमा प्रजातन्त्र आएपछि उनी श्रीमतीलाई लिएर पुनः जापान गए । त्यहाँ कराँते खेल्दै ‘पार्ट टाइम’ काम पनि गरे । पाँच वर्ष त्यहाँ बसेर आर्थिक अवस्था पनि मजबुत बनाए । जापानमा भएको विश्व कराँते प्रतियोगितामा नेपालको तर्फबाट खेले । त्यो प्रतियोगितामा अमेरिकाबाट आएका युएस कराँते फेडेरेसनका अध्यक्ष तथा अमेरिकाको ओलम्पिक कमिटीका उपाध्यक्ष जर्ज इ एण्डोसनसित उनको भेट भयो । एण्डोसनले उनको खेल मन पराएपछि उनलाई अमेरिकाको क्वानमुकान कराँते नेपालमा भित्र्याउन सुझाव दिए र उनको साथले नेपालमा क्वानमुकान डो खोले ।

अमेरिका र नेपालमा खेल्दै खेलाउँदै उनी नेपाल र अमेरिका आवतजावत गरिरहे । उनले ६२ देशमा कराँते खेलिसकेका छन् । अमेरिकामा दुई पटक स्वर्ण, स्पेनमा कास्य पदक जिते । त्यो बेला उनले थर्ड डान (तीन डिग्री) लिएका थिए । अहिले उनी सातौ डान हुन् । कराँतेमा १० डानसम्म उपाधि वितरण गरिन्छ ।

अहिले उनी नेपालका ७ प्रदेश र ७७ वटै जिल्लामा संघको शाखाहरु विस्तारमा जुटेका छन् । भविष्यमा पनि खेलकुदलाई नै निरन्तरता दिने उनको भनाइ छ । पछिल्लो समय राष्ट्रिय खेलकुद परिषद् र कराँते महासंघको नेतृत्वले खेलकुदको समग्र विकासमा ध्यान नदिँदा राम्रा खेलाडी, कोच र खेलकुदमा केही गर्न सकिन्छ भन्ने युवा पङ्क्ति दैनिक विदेशिने गरिरहेका छन् ।

‘खेलकुदको विषयमा केही नजान्ने व्यक्तिलाई राजनीतिक नियुक्ति दिएर भर्ना गर्ने चलनले खेलकुदको विकासमा बाधा पुगेको छ’- सुवेदी भन्छन् । परिषद् र महासंघको नेतृत्वले खेलाडी, कोचलाई समुचित सहयोग, हौसला दिन सक्नुपर्छ, देशमा केही गर्छु भन्ने व्यक्तिले साथ, सहयोग नपाउँदा खेलकुदको विकास हुन नसकेको उनको बुझाइ छ ।

उनी भन्छन्, ‘कडा परिश्रम गर्दै आर्थिक अवस्था मजबुत बनाएर अघि बढेको खण्डमा खेलकुदमा राम्रो योगदान दिन सकिन्छ, तर त्यसमा खेलकुदका अगुवा र सम्बन्धित सरकारी निकायको उचित ध्यान जानु पहिलो आवश्यकता हो ।’