‘प्रचण्डयुद्ध’ विसर्जनको उपाय खोजिँदै !

‘प्रचण्डयुद्ध’ विसर्जनको उपाय खोजिँदै !


छोरीलाई महासचिव र आफूलाई राष्ट्रपतिको माग

प्रचण्ड प्रधानमन्त्रीको आफ्नो कार्यकाल सकिएपछि केपीलाई प्रधानमन्त्री पद हस्तान्तरण गरेर राष्ट्रपति बन्न चाहनुहुन्छ । आफू राष्ट्रपति भएपछि एकीकृत कम्युनिष्ट पार्टीको महासचिव पदमा आफ्नी छोरी रेणु दाहालको चयन होस् भन्ने इच्छा प्रचण्डको रहेको र, प्रचण्डले उक्त कुराको प्रस्ताव केपीसमक्ष राखिसक्नुभएको छ ।

२०५२ सालको फागुनमा प्रजातान्त्रिक प्रणालीविरूद्ध सुरु गरिएको हिंसात्मक सङ्घर्षका लक्ष्यहरूको विसर्जन गर्न उच्च तहमा अनेकौँ उपायहरूको खोजी भएको सम्बद्ध सूत्रबाट थाहा भएको छ । घटना र विचारलाई प्राप्त जानकारीअनुसार त्यसनिम्ति माओवादी अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसमक्ष केही रोचक प्रस्ताव राख्नुभएको छ ।

धर्मनिरपेक्षता र संविधानरक्षाका निम्ति गत फागुनमा काङ्ग्रेससँगको गठबन्धन तोडेर अनायासै वामपन्थी मोर्चाको सरकार गठन गरिएपछि कम्युनिष्टहरूबीच एकीकरण र एकताको जोडदार प्रयास भइरहेको छ । एमाले, माओवादीका सबै घटकहरू, र जसपालगायतका दलहरूलाई मिलाएर एउटा बामपन्थी पार्टी निर्माण गर्न प्रचण्ड विशेषरूपले सक्रिय रहनुभएको बुझिएको छ । आगामी बैशाख १० गते (अप्रिल २२) लेनिन दिवसको दिन पारेर कम्युनिष्ट एकताको घोषणा गर्न प्रारम्भिक गृहकार्य चलिरहेको छ । यसपटक केपी बदलिएको महसूस प्रचण्डमात्र नभएर माधवकुमार नेपाल समेतले गर्नुभएको बताइन्छ ।

आफ्नो पुरानो गल्तीप्रति आत्मालोचित हुँदै शीर्ष नेताहरू केपी, प्रचण्ड, माधव, नेत्रविक्रम र मोहन वैद्य लगायतले बामपन्थी एकता गर्ने तत्परता लिएकोले यसपटकको प्रयास अलिक भिन्न गुणस्तरको देखिएको छ । सबै कम्युनिष्ट पार्टीहरूको वैचारिक धरातल खस्किएको भएपनि मोहन वैद्यले विचारका आधारमा एकता खोज्नुपर्ने धारणा राख्दै आउनुभएको छ । माओवादीप्रति अत्यन्त कठोर मानिनुहुने केपी शर्मा ओली पनि यसपटक निकै उदार देखिनुभएको महसूस माधव समूहले समेत गरिरहेको बुझिन्छ ।

प्रधानमन्त्री पद लिएर काङ्ग्रेससँग सत्ता-गठबन्धन बनाउने तीव्र इच्छा हुँदाहुँदै पनि माधव नेपाल बाम एकताको पक्षमा जुट्न बाध्य हुनुभएको छ । माधवलाई तानेर काङ्ग्रेसले सरकार बनाउन सक्ने सम्भावनालाई दृष्टिगत गरि केपी पनि बामपंथी एकताको पक्षमा उभिन आइपुग्नुभएको छ । माधव नेपाललाई पार्टी अनुशासनको दायरामा ल्याएर अनुशासनको ‘जन्जीर’ले नबाँध्दासम्म वर्तमान सरकारको निरन्तरतामा शङ्का उत्पन्न भइरहने भएकोले पनि केपी ओली वाम एकताको पक्षमा जुट्नुभएको बताइन्छ । तर प्रचण्ड भने अट्ठाइस वर्षअघि नयाँ जनवादी क्रान्तिको सपना देखाउँदै सुरु गरिएको रहस्यमयी हिंसात्मक सङ्घर्षको औचित्यमाथि प्रश्न उठाउन नमिल्ने गरि सूरक्षित विश्राम लिने मानसिकतामा रहनुभएको बुझिन्छ ।

जानकारीअनुसार प्रचण्ड प्रधानमन्त्रीको आफ्नो कार्यकाल सकिएपछि केपीलाई प्रधानमन्त्री पद हस्तान्तरण गरेर राष्ट्रपति बन्न चाहनुहुन्छ । आफू राष्ट्रपति भएपछि एकीकृत कम्युनिष्ट पार्टीको महासचिव पदमा आफ्नी छोरी रेणु दाहालको चयन होस् भन्ने इच्छा प्रचण्डको रहेको र, प्रचण्डले उक्त कुराको प्रस्ताव केपीसमक्ष राखिसक्नुभएको छ । प्रचण्ड सकेसम्म कम्युनिष्ट पार्टीकै एकीकरण गर्ने र त्यसो हुन नसकेमा समाजवादी मोर्चाका नाममा सबै कम्युनिष्ट समूहहरूलाई एकताबद्ध तुल्याउने योजनामा रहनुभएको बुझिएको छ ।