जातीय नारा किन ?

जातीय नारा किन ?


✍ सुरेन्द्र तिमल्सेना, पाँचथर

अहिले सञ्चार क्षेत्रमा देखिने आङकाजी शेर्पालगायतका केही मान्छेका जातीय साम्प्रदायिक कुराहरु सुन्दा मलाइ बिचित्र लाग्छ । क्षेत्रीले ‘यो खायो ब्राम्हणले यो खायो’ भनेको सुनिन्छ । मलाई ती कुराहरु निराधार लाग्छ । किनकि म लिम्बू परम्परा र रितिरिवाजमा जन्मेको, हुर्केको भएर होला जातीय शोषण मैलेचाहिँ देखिको छैन । म सुब्बाको बेठी तिर्न सिसार (कोसेली) बुझाउन गएको छु ।

लिम्बूको चलनअनुसार जेठो छोरा सुब्बा, जिम्मावाल, तालुकदार माइलो कारबारी र कान्छो बुडौली हुने प्रचलन थियो । जेठोले आफ्ना रैतिलाई नेतृत्व गर्नु पर्ने, माइलाले अन्य कारोबार गर्नुपर्ने र कान्छोले बाबुआमा पाल्नेलगायतका चलन थिए । राजाको पनि जेठो छोरा नै राजा हुने त छँदैथियो । त्यतिमात्र नभएर केहीमात्रमा क्षेत्री ब्राम्हणको पनि जेठो छोरा घरको हर्ताकर्ता हुने, जेठाले घरको घाँस, पानी, दाउरा, ढिकिजाँतो र गाईबस्तुसम्बन्धि कुनै काम गर्नु नपर्ने थियो ।

भाइबहिनीलाई सधै शाररिक र मानसिक यातना दिँदै काममा लगाइरहनु पर्ने, अड्डामा गएर मुद्दा मामिलाको काम जेठाले गर्नु पर्ने, जेठाको जीवन सहज हुने बाबुआमालाई आफ्नो मुठ्ठीमा पारेर पैत्रिक सम्पति ९० प्रतिशत आफ्नो बनाउन जेठो खप्पिस हुने चलन थियो । भाइबहिनीले पढेलेखेको पनि जेठोलाई मन नपर्ने दिनमा सधैंजसो जेठोले भाइबहिनीलाई सधैजसो उखान भन्ने गर्थे । ‘खुकुरीभन्दा कर्द हान्ने बाबुदाजु भन्दा छोरा भाइ जान्ने’ हुनु हुँदैन भनेर जेठोले भनिरहने सबैले पढनु पर्दैन नि जेठोले पढेपछि हुन्छ, भन्ने ।

बाबुआमालाई विश्वास दिलाउने र कान्छो छोरा सधैंजसो पानी लिन पँधेरो जानुपर्ने र पँधेरामा देविथान पनि थिए । त्यो देविथानमा कान्छाले सधै फुल चढाएर देविलाई भन्ने ‘हे देवि भगवति अर्को जन्ममा म पनि जेठो छोरा भएर जन्मन पाउँ’ भन्न बाध्य हुन्थे । आजभन्दा झण्डै ५५ वर्षअगाडि छालाको जाकेट जेठो छोराले लगाएको छ । यो जाकेट पाउन त्यो समयमा भारतको दार्जेलिङ पुग्नु पर्थ्यो । अरु भाइबहिनी कसैको खुट्टा मा चप्पलसमेत हुँदैन थियो ।

त्यसैले यो आन्तरिक शोषण त्यसबेला ब्यापक थियो । अहिले पनि केहीमात्रामा कायम छ । तसर्थ जातीय शोषण मैले अहिलेसम्म देखेको छैन ।