राजकीय भ्रमणमा जाँदा

राजकीय भ्रमणमा जाँदा


सन् २००२ को जुन (०५९ असार)मा तत्कालीन श्री ५ महाराजाधिराज ज्ञानेन्द्रको भारत भ्रमण दलमा म पनि एक सदस्य थिएँ । ‘श्री ५ महाराजाधिराज’ घोषित भएपछि उहाँको पहिलो राजकीय भ्रमण थियो त्यो । विभिन्न कार्यक्रमको सिलसिलामा पटक-पटक दिल्ली पुगे पनि राजासँगको त्यो भ्रमण मेरानिम्ति धेरै अर्थमा स्मरणीय छ ।

राजकीय भ्रमणका क्रममा हुने कार्यक्रमहरूको ब्रिफिङ गजबकै हुँदोरहेछ । काठमाडौं एयरपोर्टदेखि सुरु भएर नयाँदिल्लीमा हुने सबै कार्यक्रमबारे विस्तृतरूपमा जानकारी गराउँदै कुन ठाउँमा कसरी बस्ने, को दायाँ को बायाँ, बसेका बेला हातखुट्टाको पोजिसन कस्तो हुनेसम्म उल्लेख गरिने रहेछ । सन् २००२ जुन २३ देखिको भ्रमणका लागि १९ तारिखको साँझ हामीलाई दरबार बोलाइयो । श्री ५ ज्ञानेन्द्र, रानी कोमल, अधिराजकुमारी प्रेरणा, युवराज पारसलगायत भ्रमण दलका सबै सदस्यबीच करिब दुई घण्टा सहभागीको परिचयसहित भ्रमणका क्रममा हुने भेटघाट र कार्यक्रमको ब्रिफिङ गरिएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शाही नेपाल वायुसेवा निगमको विशेष विमानमा हामी बसेको केही क्षणमा राजा, रानी र राजपरिवारका अन्य सदस्य बसेपछि अरू बेलाजस्तै जहाजको सुरक्षा नियमबारे जानकारी दिइएको थियो । विमान परिचारिका भनिरहेकी थिइन्, ‘सिटको बेल्ट बाँधिबक्सन सरकारहरूमा बिन्ती टक्र्याउँछौँ ।’ अरू समयमा गरिने यात्रामा झैँ अनुरोध उही, भाषाचाहिँ फरक र शिष्ट । जहाजमा खाना खाने बेलामा पनि यस्तै अनुरोध गरिएको थियो ।

नयाँदिल्ली एयरपोर्टमा पुग्दा भारतीय सञ्चारकर्मीहरू खचाखच थिए । पत्रकार, व्यापारी, राजनीतिकर्मीलगायतका भ्रमण दलका सदस्यलाई एयरपोर्ट कम्पाउन्डबाटै होटेल मौर्य सेराटनमा लगिएको थियो भने राजारानीलाई सिधै राष्ट्रपति भवनमा । त्यति ब्यस्त नयाँदिल्लीको सडक नेपालका राजाको सवारीका लागि पूरै खाली गरिएको थियो । ठाउँ-ठाउँमा राजारानीका तस्बिर राखिएका थिए । कति ठाउँमा ‘हिन्दूनरेश ज्ञानेन्द्र कि जय’ भन्ने नारा लगाइएको थियो । आफ्नो देशका राजालाई त्यत्तिका सम्मान दिँदा निकै गर्व लाग्यो ।

पुगेको साँझदेखि नै राजाका शृङ्खलाबद्ध भेटघाटहरू थिए । भोलिपल्टदेखिका सबै भेटघाटमा पत्रकारलाई फोटो खिच्नमात्र दिएर साँझ ब्रिफिङ गर्ने गरिएको थियो । भेटघाट प्रायः राष्ट्रपति भवनमै भएकाले हामी जुन महिनाको त्यो गर्मीमा राष्ट्रपति भवनअगाडिको बगैँचा नियालेर बस्थ्यौँ । भारतको राष्ट्रपति भवनको भव्य बगैँचा हेर्न र प्रशंसा गर्नलायक छ । जहाँ थरी-थरीका गुलाफलगायतका फूलहरू छन् । मलाई अचम्म लागेको कुराचाहिँ के हो भने दिनभरिका भेटघाटपछि पनि राजाको अनुहारमा उत्तिकै चमक देखिन्थ्यो, मुहारमा अलिकति पनि थकान देखिएन । मैले साथीहरूसँग भनेँ पनि- हामी त दिनमा दुई/तीनवटा मिटिङ पऱ्यो भने कस्तो थाक्छौँ, खै सरकारको अनुहारमा त त्यस्तो थकान देखिँदैन । भ्रमण टोलीमा भगीरथ योगी, कपिल काफ्ले, माइकल चन्द, खिलध्वज थापा, पवन श्रेष्ठ, टेक खड्का, केशव भण्डारीलगायत दशजना पत्रकार थियौँ ।

नयाँदिल्लीको कार्यक्रम सकेर राजपरिवारको कलकत्ता जाने कार्यक्रम थियो । जानुअघि राजा र नेपाली पत्रकार टोलीबीच राष्ट्रपति भवनमै भेटघाट भयो । हामी भित्र छिर्दा राजारानी दुईजना मात्रै बसिरहनुभएको थियो । बडारानीले प्रेरणालाई पनि बोलाऊँ ? भनेर राजासँग सोधेपछि ‘ह्वाई नट् ?’ को जवाफसँगै प्रेरणासहितको त्यो भेटघाट औपचारिक र अनौपचारिक दुवै थियो भन्दा पनि हुन्छ । ‘कुराकानी राम्रै भइरहेको छ, ठीकै छ’ भनेर राजाले भनेपछि हामीले केही प्रश्न राखेका थियौँ । प्रश्नको जवाफको अन्त्यमा ‘सी यू इन काठमाडौं है ?’ भनेर राजाले भन्नुभएको थियो । तर, उहाँसँग पुनः भेटघाट नभइ राजसंस्थाको अन्त्य भयो ।

राजासँगको ‘वन टु वन’ भेट

राजसंस्थाको अन्त्य भएको चार वर्षपछि सन् २०१२ को अप्रिल २ तारिख (०६९ साल वैशाख २० गते) दिनको साढे ११ बजे पूर्व श्री ५ ज्ञानेन्द्रसँग निर्मलनिवासमा मेरो भेट भयो । खासमा वैशाख १८ गते भेटका लागि राजाका सल्लाहकार डा. फणिराज पाठकले फोन गर्नुभएको थियो । तर, उक्त दिन सञ्चारिका समूहको अधिवेशन भएकाले मैले असमर्थता जनाउँदै अर्को समय तय गरिदिनुहुन अनुरोध गरेकी थिएँ । म त्यतिबेला सञ्चारिका समूहको अध्यक्ष थिएँ र, त्यो मेरो कार्यकालको अन्तिम अधिवेशन थियो ।

म पुग्दा राजा ज्ञानेन्द्र निर्मलनिवासको कम्पाउन्डमा रहेको सानो छहारीको कुर्सीमा बसिरहनुभएको थियो । शिष्टाचारको आदानप्रदानपछि सुरुमै उहाँले ‘हाउ वज योर इलेक्सन ?’ भनेर सोध्नुभयो । मैले राम्रो भयो सरकार, सञ्चारिका महिला पत्रकारहरूको संस्था हो भनेपछि जवाफ थियो ‘आई नो’ । सामूहिक रूपमा या भिडभाडमा देखभेट भए पनि राजासँग वन टु वन भेट कहिल्यै भएको थिएन । अलि नर्भसजस्तो भएकी थिएँ, तर उहाँले वातावरण यति सहज बनाइदिनुभयो कि कुराकानी गर्न गाह्रो भएन । मुलुकको अवस्थाको सामान्य कुराकानीपछि मैले नै केही प्रश्नहरू गरेँ । त्यतिबेला राजा आफ्नो जीवनी लेख्दै हुनुहुन्छ भन्ने समाचारहरू मिडियामा आइरहेका थिए । जिज्ञासा राखेँ- ‘सरकारले बायोग्राफी लेखिराखिबक्सेको भन्ने कुरा मिडियामा आइरहेको छ ।’ उहाँले भन्नुभयो, ‘मैले केही लेखेको छैन । कोसिस गरेँ, तर लेख्न मन लागेन ।’

कुराकानीमा उहाँले आफूलाई मुलुकको विषयमा अवश्य चिन्ता भएको, तर अरू कुरामा भने खासै तनाव नभएको, पत्रपत्रिका तथा पुस्तकहरू पढ्ने गरेको, मुलुकमा के भइरहेको छ, कसले के बोलिरहेको छ, कसले के गरिरहेको छ जानकार रहेको बताउनुभएको थियो । एक प्रसङ्गमा उहाँले मैले त राम्रै होला भन्ठानेको थिएँ, तर मुलुकको अवस्था त्यति सहज देख्दिनँ भन्नुभएको थियो । एक घण्टाको भेटघाट र कुराकानीमा उहाँ स्पष्ट बोल्ने, ध्यान दिएर सुन्ने राम्रो वक्ता र असल स्रोता लाग्यो । राजालाई रिल्याक्स मुडमा फ्रेस देखेकी थिएँ । त्यतिबेला कफी मेरो ‘फेवरेट ड्रिङ्क’ थियो । बाहिर निस्किएपछि डा. पाठकले हाउ वज योर मिटिङ ? भनेर सोध्नुभयो । जवाफमा मैले हाँस्दै भनेँ, ‘मिटिङ वज एक्सिलेन्ट हजुर, जस्ट मिस्ड कफी !’

युवराज आएनन् ?

सन् २००२ को जुन महिनामा भएको राजाको भारत भ्रमणको दोस्रो दिन राष्ट्रपति केआर नारायणनले गर्ने औपचारिक स्वागत समारोहको कभरेजका लागि थुप्रै भारतीय पत्रकार कार्यक्रमस्थलमा थिए । हामी सुरक्षा जाँचका लागि लाइनमा थियौँ, गर्मी यति थियो कि बिहान ९ बजेतिरको समय भए पनि खलखली पसिना बगिरहेको थियो । राजकीय भ्रमण भएका कारण कालो कोट सबैलाई अनिवार्य गरिएको थियो । भ्रमण दलमा सहभागी पुरुषले दौरा, सुरुवाल, कोट लगाएका थिए भने मैले सारीमाथि कालो कोट लगाएकी थिएँ ।

पसिना पुछ्दै सुरक्षा जाँचका लागि लाइनमा बसिरहेका बेला एक भारतीय युवा पत्रकारले मेरो छेउमा आएर भने, ‘हाई ! युवराज नहीँ आए ?’ मैले पनि हिन्दीमै जवाफ फर्काएँ, ‘नहीँ, ओ नही आए, राजकुमारी आई हे ।’ युवराज पारस भ्रमण दलमा सहभागी नभएका र प्रेरणा मात्रै साथमा भएकीले मैले ‘राजकुमारी आई हे’ भनेकी थिएँ । मेरो जवाफ सुनेर उनी एकैछिन अलमलिएझैँ भए, खासमा उनले पत्रकार युवराज घिमिरे आएका छैनन् ? भनेर सोधेका रहेछन् । उनले यो कुरा भनेपछि हामी खुब हाँस्यौँ । उहाँलाई धेरै पत्रकारले सोधेका थिए त्यतिबेला । अरूबेला पनि भारतीय पत्रकारहरूले प्रायः युवराज दाइलाई सोध्ने गर्छन् ।

पछि काठमाडौं फर्किएर युवराज दाइलाई मैले यो कुरा सुनाउँदा उहाँले आफूमाथि भएका केही अन्य घटनाहरू पनि सुनाउनुभयो । त्यसमध्येको एउटा यस्तो थियो- युवराज दाइ एउटा फर्म भर्ने सिलसिलामा नयाँदिल्लीमा लाइनमा बस्नुभएको रहेछ । फर्म लिने बेलामा युवराज घिमिरे नाम देखेपछि त्यहाँ बसेको मानिसले लाइन नबसी सरासर फर्म बुझाउनका लागि भनेछन् । भोलिपल्ट पनि सोही कामका लागि जाँदा उहाँलाई विशेष सुविधा दिइएछ । आफूलाई किन त्यो सुविधा दिइयो भन्ने कुराबाट बेखबर उहाँ एकछेउमा बसिरहेका बेला सोही मानिसले अरू कसैलाई भनिरहेको रहेछ, देखो न ए घिमिरे देशका युवराज था, क्या था क्या होगया…!

(‘समय साक्षी’ यात्रा संस्मरण पुस्तकबाट)