सिक्किमलाई ‘सुखको घर’ बनाउने राजनेता

सिक्किमलाई ‘सुखको घर’ बनाउने राजनेता


सिंगो भारत यतिखेर चुनावमय भएको छ । देशभरि लोकसभाको चुनाव हुँदै छ । यहीबेला सिक्किम विद्यानसभाको चुनाव पनि संघारमा आइपुगेको छ । यो चुनावमा पनि चामलिङको SDF र वर्तमान मुख्यमन्त्री पी.एस. गोलेको सिक्किम क्रान्तिकारी मोर्चा बीच नै टक्कर हुने देखिन्छ । यो चुनावको परिणामले सत्ताको मात्र होइन, चामलिङको राजनीतिक भविष्य नै निर्धारण गर्न सक्दछ । सिक्किमको चुनावमा पनि अन्य भारतीय राज्यमा झैं पद र पैसाको भूमिका ठूलो रहने गरेको छ । सबै नेताहरू बौद्धिक र विचारशील हुँदैनन् । चामलिङको एउटा पूँजी उनी बौद्धिक, साहित्यिक, विकास प्रेमी तथा जस्ले अन्याय गरे पनि त्यस विरुद्ध लड्न सक्ने व्यक्तिको छबि बन्नु हो । भारतभरिमै सिक्किमको छुट्टै पहिचान र प्रतिष्ठा बनाउन सफल हुनु पनि उनको राजनीतिक भविष्यकालागि एउटा सकारात्मक र आशाजनक अवस्था देखिन्छ ।

निरङ्कुश राजतन्त्रले जनभावना विपरित सत्ता संचालन गर्दा र अधिकार माग्ने जनतालाई दमन गर्दा देशको अस्तित्व समेत समाप्त हुने रहेछ भन्ने उदाहरण बनेको छ सिक्किम । लोकतान्त्रिक गणतन्त्रको युगमा प्रवेश गरेपछि सिक्किमेली नागरिक राजतन्त्रको कहालीलाग्दो छायाँ र दमनबाट मुक्त भएका छन् । राजतन्त्र रहँदा सम्म दास र कैदीको अभिशप्त जीवन बाँच्न विबश भएका नागरिकहरू अहिले स्वतन्त्र स्वाधीन र अधिकार सम्पन्न सुखी नागरिक बनेका छन् । परम्परागत र वैधानिक रूपमा भारतद्वारा ‘संरक्षित’ राज्य भए पनि चीनले तिब्बत कब्जा गरेपछि छ्योग्याल (राजा) नामग्यालको आड लिएर सिक्किममा खतरनाक चलखेल गर्न थालेपछि तत्कालीन जनप्रतिनिधिहरूले स्वतन्त्र लोकतान्त्रिक मुलुक भारतमा विलय गर्ने निर्णय गरे ।

सन् १९७५ मा जननिर्वाचित विधानसभाले. विलयको निर्णय गरेपछि सिक्किम विधिवत भारतको अंग बनेको हो, यद्यपि यो विलयको क्रममा भारतले खुलेर आफ्नो शक्ति प्रयोग गर्दै विलय विरोधिलाई दमन गरेको थियो । जनताले अधिकार पाउनासाथ विलयको नेतृत्वकर्तालाई पाखा लगाएर स्वतन्त्र अस्तित्व र पहिचानका पक्षधरहरूलाई माला लगाइदिए । यसरी जनताले भरोषा गरेका व्यक्तिहरूमा नरबहादुर भण्डारी र पवन चामलिङ मुख्य थिए । भण्डारी मुख्यमन्त्री हुँदा चाम्लिङ शक्तिशाली नेता र पार्टीको प्रभावशाली युवा नेता बने । दुवै मिलेर जातीय सद्भाव र विकासको ऐतिहासिक अभियान चलाए । भण्डारीको नेतृत्व पछि चामलिङले त्यो अभियानलाई तीब्र गतिमा अघि बढाएको फलस्वरुप सिक्किम आज भारतभरीमा एउटा नमुना राज्य बनेको छ ।

सिक्किमसित नेपाल र नेपाली जनताको गहिरो भावनात्मक सम्बन्ध रहिआएको छ । सिक्किमका बहुसंख्यक नागरिकहरू पुस्तौँ पहिले आदिकालदेखि नै काम र व्यवसायको खोजीमा त्यहाँ पुगेर अत्यन्त दुर्गम र पिछडिएको क्षेत्रलाई सुगम, सुन्दर र विकसित बनाउन रगत पसिना बगाएका थिए । भाषा, साहित्य, संस्कृति, कला आदिले नेपालका नेपाली र सिक्किमे नागरिकहरूको सम्बन्धलाई अझ घनिष्ठ बनाउन महत्वपूर्ण योगदान पुऱ्याएका छन् । सिक्किमको राजधानी गान्तोक मात्र अबलोकन गर्दा पनि यहाँको सरकार र नागरिकले आफ्नो परम्परा र संस्कृतिको रक्षा गर्दै आधुनिकीकरणको दिशामा अनुकरणीय प्रगति गरेको प्रष्ट देखिन्छ । भनिन्छ- सिक्किमको अर्थ ‘सुखको घर हो’ । र, यहाँ राज्यले आफ्नो ठाउँलाई साँचो अर्थमा सुखको घर बनाउन धेरै हदसम्म सफलता पाएको अनुभव हुन्छ ।

सिक्किम भारतका राज्यहरूमध्ये अर्ग्यानिक राज्यको रुपमा सुपरिचित छ । पवन चामलिङको नेतृत्वको सरकारले यस्लाई अर्ग्यानिक राज्य मात्र घोषणा गरेन, जर्मनीमा भएको एक अन्तराष्ट्रिय समारोहमा अर्ग्यानिक राज्य बनाएकोमा चामलिङको अभिनन्दन गरिएको थियो भने २०१६ मा प्र.म. मोदीले नै सिक्किमलाई औपचारिकरूपमै ‘पूर्ण जैविक राज्य’ भनी घोषित गरेका थिए । जैविक राज्य बनाउनका लागि चामलिङले १२ वर्षसम्म अथक परिश्रम गरेको स्थानीयबासीहरू बताउँछन् । अर्ग्यानिक राज्यको घोषणा तथा पर्यावरणको रक्षाको कारण सिक्किम स्वदेशी र विदेशी पर्यटकहरूको एउटा आकर्षण बनेको छ । चामलिङको सत्ताकालमा सिक्किमले गरिबी निवारणको सन्दर्भमा संयुक्त राष्ट्र संघले निर्धारण गरेका सबै मापदण्डहरूलाई पूरा गरेको देखिन्छ । चामलिङले समाजमा परम्परागत रुपमा रहेको जातीय र लैंगिक भेदभाव हटाउन पुऱ्याएको योगदानको सकारात्मक परिणाम आज जताततै देखिन्छ । उनको सरकारले. महिला र पुरुषहरूलाई प्रशासनीक र राजनीतिक क्षेत्रमा समान अधिकार दिने, महिलाहरूमाथि भइरहेको थिचो मिचो र शोषण विरुद्ध कठोर कदम चाल्ने, महिला आयोग गठन गरेर त्यसको अनुगमन गर्ने, सरकारी सेवामा महिलाहरूलाई ३० प्रतिशत र स्थानिय निकायमा ५० प्रतिशत आरक्षण दिने, पीताको सम्पत्तिमा छोरीहरूलाई पनि समान अधिकार दिने, सबै लिखतमा आमाको नाम अनिवार्य हुनुपर्ने, संचयकोषको रकम झिक्दा श्रीमतीको हस्ताक्षर अनिवार्य हुनुपर्ने, कुनै महिलाले कुनै उद्योग स्थापना गर्न चाहेमा २ वर्षसम्म व्याज नलाग्ने गरी ऋण दिइने जस्ता कामले महिलाहरूको मनोबल र स्तर वृद्धिमा ठूलो भूमिका निर्वाह गरेको पाइन्छ । विद्यार्थीहरूलाई राज्य भित्रका स्कूल कलेजहरूमा निशुल्क पठन पाठनका साथै किताब, कापी, युनिफर्म, जुत्ता, ब्याग, रेनकोट आदि वितरण गरियो भने विदेश गएर उच्च अध्ययन गर्न चाहने मेधावी विद्यार्थीहरूका लागि शैक्षिक ऋणको योजना शुरु गरियो । विद्यार्थीहरूलाई प्रोत्साहित गर्न छात्रवृत्तिका साथै विभिन्न सुविधाहरूको पनि व्यवस्था गरिएको छ ।

सिक्किममा चामलिङको समयदेखि प्लाष्टिकको झोला र गुट्खामाथि पूर्ण प्रतिबन्ध लगाइएको छ । बन्यजन्तुको शिकार गर्न, बन जंगल विनाश गर्न, रसायनीक मलको प्रयोग गर्न पूर्णतः निषेधित छ । धार्मिक र सामाजिक सहिष्णुता सिक्किमको अर्को विशेषता हो । अनेकौ जातजातिले भरिएको यो राज्यमा विभिन्न धर्मावलम्वी तथा जातजातीका नागरिकहरू आपसमा विचित्रको सहकार्य गर्दै एक अर्काको भावना र संकृतिको सम्मान गरी राज्यलाई सुन्दर फुलबारीको रुपमा परिणत गरेका छन् । यस्तो धार्मिक र जातिय एकताको वातावरण निर्माण गर्न चामलिङले पुऱ्याएको योगदान उनी सत्ताबाट बाहिर निष्किएको लामो समयसम्म पनि प्रष्टै देखिन्छ । उनले हिन्दुलगायत सबै धर्मावलम्बीहरुको सम्मान गर्दै ‘चारधामको निर्माण’ गराएका छन् । उक्त चारधाम अहिले महत्वपूर्ण पर्यटकीय केन्द्र बनेको छ । यस्ले गर्दा स्थानीय नागरिकहरू भारतको विभिन्न क्षेत्रमा धार्मिक अनुष्ठान र कर्मकाण्डको लागि जानु पर्ने बाध्यता पनि हटेको छ । नाम्चीमा रहेको चारधामकै नजिक उनले भब्य साई मन्दिर बनाएर साइभक्तहरूको सद्भाव हासिल गरेका छन् भने राजधानी गान्तोकनजिकै हनुमान टकलगायत विभिन्न देवी-देवताको आकर्षक मन्दिरहरू निर्माण गराएको पनि पाइन्छ ।

पवन चामलिङ कुशल राजनीतिज्ञका साथै लोकप्रिय साहित्यकार पनि हुन् । नेपाली भाषामा उनका विभिन्न कृतिहरू प्रकाशित छन् भने आफैले प्रकाशन सम्बन्धी संस्था स्थापना गरेर साहित्यकारहरूको कृतिहरू प्रकाशित गरिदिने गरेका छन् । त्यस्तै उनले लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, लेखनाथ पौडेल, पारिजात, भीमनिधि तिवारी, इन्द्रबहादुर राई, अगमसिंह गिरी, महानन्द पौडेल लगायतको समग्र कृतिहरू संकलन गरेर प्रकाशित गरेका छन् । राजनीतिको प्रारम्भ नरबहादुर भण्डारीको नेतृत्वमा रहेको सिक्किम संग्राम परिषदबाट शुरु गरेको भएता पनि लामो सहकार्य पश्चात भण्डारी सित मतान्तर भएपछि उनले ‘सिक्किम प्रजातान्त्रिक मोर्चा’ नामक पार्टी (SDF) गठन गरेका हुन् । आफ्नै नेतृत्वमा पार्टी संगठित गर्दै उनी लगातार २५ वर्षसम्म सिक्किमको मुख्यमन्त्री बने । यो कीर्तिमान अहिले सम्म भारतका कुनै मुख्यमन्त्रीले कायम गर्न सकेका छैनन् । केन्द्र सरकारको नेतृत्व गर्ने पार्टीसंग पृथक रहेर पनि केन्द्रिय सरकारबाट प्रशस्त बजेट ल्याएर राज्यको विभिन्न क्षेत्रमा विकास निर्माणको काम र नागरिकहरूलाई उनीहरूको माग अनुसार सेवा सुविधा दिलाउन सक्नु चामलिङको खुबी मानिन्छ । यसरी समुचित न्याय, एकता, विकास र एकताको त्रिवेणीको छवि बनाएका चामलिङ गत चुनावमा भने सफल हुन सकेनन् । विद्यार्थी काल देखि नै राजनीतिमा लागेका उनको जीवन प्रायः संघर्षमय नै रह्यो । ग्रामीण भेगको विपन्न परिवारमा जन्मिएका उनी विद्यार्थी कालदेखि नै संघर्षशील र समाजसेवी प्रकृतिका थिए ।

समाजसेवा प्रतिको रुझानले नै उनी राजनीतिमा लागेका हुन् । विद्यार्थी कालमै उनी स्थानीय निकायको निर्वाचनमा संलग्न भई जनताको सेवामा लागे र आफ्नो देशको अस्तित्व नै मेटिन लागृको सुइको पाएपछि आन्दोलनमा होमिए । पहिचानबादी आन्दोलनमा लागेर उनले कठोर यातना झेल्नु पऱ्यो । तर यस्ले उनको लोकप्रियतामा झन् वृद्धि गर्दै गयो । उनी लडेको कुनै पनि चुनाव हारेका छैनन् । गएको विधानसभा चुनावमा विभिन्न कारणले, सायद जनताले परिवर्तन चाहेकाले पनि उनी आफ्नो नेतृत्वमा सरकार गठन गर्न सफल भएनन् । उनी सत्ता बाहिर रहेर पनि उनले शुरु गरेका सामाजिक कल्याण तथा विकास निर्माणका काम र दीर्घकालीन योजनाहरूको विपरित विकल्प दिन वर्तमान सरकारले सकेको छैन । विद्यमान सरकारले केही कानूनहरू संशोधन गरी नेपालीहरूलाई अन्तत: अनागरिक बनाउन थालेको हो कि भन्ने आशंका गर्न थालिएको छ ।

(सिक्किमबाट फर्केर)

[email protected]