आगलागीको क्षति विवरण सङ्कलन गर्दै छानबिन समिति

आगलागीको क्षति विवरण सङ्कलन गर्दै छानबिन समिति


यही चैत्र २६ गते सोमबार सशस्त्र प्रहरी बलको बलम्बुस्थित केन्द्रीय स्टोरमा भएको आगलागी घटनाबारे छानबिन गर्न गठित समितिले काम सुरु गरेको छ ।

आगलागी घटनापछि कार्यविभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालको अध्यक्षतामा नौ सदस्यीय छानबिन समिति गठन गरिएको थियो । सो समितिले मङ्गलबारदेखि घटनास्थललाई सिल गरेको छ ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) शैलेन्द्र थापाका अनुसार आगलागीबाट क्षति भएका सामानको विवरण सङ्कलनको काम थालिएको छ । प्रयोगमा ल्याउन मिल्ने सामान छुट्याइ सिल गरी सुरक्षित स्थानमा राखिएको छ । भण्डार महाशाखामा रहेको सम्पूर्ण सक्कल अभिलेख अध्ययन गरी के-कति सामान रहेको र कति क्षति भएको भन्ने विवरण सङ्कलन गरिरहेको समितिले जनाएको छ ।

भण्डार महाशाखामा कार्यरत सशस्त्र प्रहरी उपरीक्षकसहित सात जनालाई भण्डारण गरिएको सामानको विवरणबारे सोधपुछका लागि झिकाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनीबाट सुरक्षा जिम्मेवारीमा रहेका, त्यस दिन ड्युटीमा रहेका सशस्त्र प्रहरी उपरीक्षकसहित ११ जना र नेपाल एपीएफ अस्पतालको सुरक्षा टोलीबाट मूलगेटमा खटिएका दुई जनालाई सोधपुछका लागि मुख्यालय झिकाइएको छ ।

छानविन समितिले स्टोरको सुरक्षार्थ राखिएको सिसी क्यामेराको फुटेज अध्ययन गरेको छ । फुटेजमा भवनको बीचमा रहेको कोठाबाट सानो मात्रामा धुवाँ आएको केही सेकेण्डभित्र ठूलो मुस्लो देखिएको र बाहिनीभित्र रहेका सुरक्षाकर्मी तत्काल घटनास्थलमा पुगेको देखिएको छ । आगलागीबाट फ्रि स्केलका सामान, विपद् उद्धारका सामान समेत जलेर नष्ट भएका छन् ।

सशस्त्र प्रहरी बलको मुख्य स्टोर हलचोकमा रहेपनि केही वर्ष अघिदेखि शाखा स्टोरको रुपमा सो ठाउँमा जिन्सी सामान भण्डारण गरिएको थियो ।