दार्चुला शैल्यशिखरमा भारतीय सहयोगमा निर्माण हुने परियोजनाको शिलान्यास

दार्चुला शैल्यशिखरमा भारतीय सहयोगमा निर्माण हुने परियोजनाको शिलान्यास


दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकास्थित श्री गलैनाथ माध्यमिक विद्यालयको नयाँ विद्यालय भवन निर्माण हुने भएको छ । नेपाल-भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको २ करोड ७३ लाख आर्थिक सहयोगमा निर्माण हुने सो भवनको शैल्यशिखर नगरपालिकाका मेयर विजयसिंह धामी र भारतीय राजदूतावास, काठमाडौंका द्वितीय सचिव प्रशान्त कुमार सोनाले संयुक्तरूपमा शिलान्यास गरेका छन् ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग यस विद्यालयलाई आवश्यक अन्य सुविधासँगै दुईतले विद्यालय भवन, शौचालय, कार्यालय भवनको निर्माण र फर्निचरमा उपयोग गरिने बताइएको छ । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइने र, दार्चुलाकोे शैल्यशिखर नगरपालिकामार्फत कार्यान्वयन गरिने दूतावासले जनाएको छ । यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एक महत्वपूर्ण दृष्टान्तको रुपमा रहेको पनि जनाइएको छ ।

शिलान्यास कार्यक्रममा मन्तव्य दिँदै शैल्यशिखर नगरपालिकाका मेयर धामीले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पु¥याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।

दार्चुला शैल्यशिखरस्थित गलैनाथ माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयको नयाँ भवन उपयोगी हुनुका साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्ने सरोकारवालाहरूको भनाइ छ । साथै यस क्षेत्रको शिक्षाको विकासमा पनि योगदान पुग्ने विश्वास लिइएको छ ।

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४८९ वटा परियोजना सम्पन्न गरिसकेको छ । यीमध्ये सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा ४० वटा परियोजना रहेका छन् जसमा १० वटा परियोजना दार्चुलामा छन् ।

यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ जसमध्ये सुदूरपश्चिम प्रदेशलाई ६० वटा एम्बुलेन्स र २० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ । यसमा ८ वटा एम्बुलेन्स र २ वटा स्कुल बस दार्चुला जिल्लालाई उपलब्ध गराइएको छ ।

भवन शिलान्यास कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक/शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको पनि उपस्थिति रहेको थियो ।