मधेसका मुख्यमन्त्री रहने सरकारी भवनमा राष्ट्रिय झण्डा कसरी उल्टियो ?

मधेसका मुख्यमन्त्री रहने सरकारी भवनमा राष्ट्रिय झण्डा कसरी उल्टियो ?


हरेक सचेत नेपालीलाई जानकारी कि नेपालको राष्ट्रिय झण्डाको माथिल्लो भागमा ‘अर्धचन्द्र’ र तल्लो भागमा ‘सूर्य’ अंकित हुन्छ, हुनुपर्छ । तर मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको जनकपुरस्थित सरकारी निवासमा फहराइएको राष्ट्रिय झण्डा हेरियो भने जो केही पनि अल्मलिन सक्छ ।

हरेक सरकारी भवनमा जस्तै मधेस प्रदेशको मुख्यमन्त्री निवासमा पनि राष्ट्रिय झण्डा राखिएको छ । तर, यहाँ नेपाली राष्ट्रिय झण्डालाई उल्टो पारेर टाँगिएको छ । अर्थात् , झण्डाको माथिल्लो भागमा ‘सूर्य’ र तल्लो भागमा ‘अर्धचन्द्र’ रहेको छ ।

मुख्यमन्त्री रहने या काम गर्ने भवनमा यसरी राष्ट्रिय झण्डा नै उल्टो पारेर टाँगिनु सामान्य विषय हुन सक्दैन । जनता समाजवादी पार्टी (जसपा)बाट मुख्यमन्त्री बनेका यादवलाई राष्ट्रिय झण्डाबारे ज्ञान नभएरै हो कि नियतवश यस्तो गरिएको हो, सवाल पैदा भएको छ ।

मुख्यमन्त्रीको निवासमै देशको राष्ट्रिय झन्डा उल्टो राखिन्छ भने त्यो प्रदेशले कसरी सही र सकारात्मक कार्य गर्न सक्ला भन्ने प्रश्न पनि उठाउन सकिन्छ ।

मुख्यमन्त्रीको निवासमा खटिएको नेपाल आर्मी, नेपाल प्रहरी एवम् सरकारी कर्मचारीहरु के हेरिबसेका छन् भन्ने सवालसँगै यसरी राष्ट्रिय झण्डाको अपमान हुने गरी झुण्ड्याइएको मुख्यमन्त्री सरोजकुमार यादवले पनि अनदेखा गरेकै हुन् भन्ने सवाल पैदा भएको छ । यसप्रति मुख्यमन्त्रीको ध्यान पुगोस् र, तत्काल झण्डालाई स-सम्मान सही तवरले फहराइयोस् ।