लागु पदार्थ सेवन गर्ने पाँच चालक पक्राउ

लागु पदार्थ सेवन गर्ने पाँच चालक पक्राउ


लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका पाँच जना चालकलाई ट्राफिक प्रहरीले काठमाडौंको नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ ।

कर्णाली प्रदेश ०२-००१ख ०४४४ नम्बरका बसचालक सुर्खेतको भेरीगंगा नगरपालिका-९ का ३० वर्षीय अविरल प्रेम विक, बागमती प्रदेश ०१-००६ख ६३४९ नम्बरका माइक्रो चालक तनहुँको आँबुखैरेनी नगरपालिका ६ का २२ वर्षीय इन्द्र बहादुर गुरुङ, बा३ख ८१६३ नम्बरका माइक्रो चालक चितवनको भरतपुर महानगरपालिका ८ का ३३ वर्षीय धुर्व बस्याल, बा२ख ३९१ नम्बरका माइक्रो चालक धादिङको गंगा जमुना गाउँपालिका ६ का २४ वर्षीय रमेश विक र बागमती प्रदेश ०१–०२९च २८१३ नम्बरका माइक्रो चालक तनहुँको म्याग्दे गाउँपालिका १ का २२ वर्षीय सलन सुनारलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङगाको संयुक्त टोलिले चेक गर्दा लागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको छ ।

यात्रु बोक्ने जस्तो संवेदनशिल सवारी साधन चलाउने चालकलेनै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा नियमविपरीत तथा दण्डनीय कार्य भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठा उपरीक्षक जीवनकुमार श्रेष्ठ बताउँछन् । यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जीवनसमेत जोखिममा पर्ने भएकाले आफू सवार सवारीसाधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न उनले आग्रह गरेका छन् ।