सेनाको गोरखा-जितगढी पदयात्रा सम्पन्न

सेनाको गोरखा-जितगढी पदयात्रा सम्पन्न


नेपाली सेनाले गत चैत २९ गते गोरखा दरबारबाट सुरु गरेको गोरखा-जितगढी पदयात्रा शुक्रबार रुपन्देहीको बुटवलस्थित जितगढीमा पुगेर विशेष समारोहका बीच समापन भएको छ । पदयात्रामा सहभागी टोलीलाई पदयात्रा समापन समारोह स्थल जितगढीमा भव्य स्वागत गरिएको थियो ।

गोरखा दरबारबाट सुरु भएको पदयात्रामा सहभागी फौजले नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनाका आरम्भकालीन ५ (पाँच) वटा स्थायी कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, वर्दवाणी र सबुज) हरू तथा जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डासहित पदयात्रा गरेका थिए ।

गोरखा दरबारदेखि जितगढीसम्म करिब २०७ किलोमिटर दूरीमा सञ्चालित पदयात्रा गोरखा, तनहुँ, स्याङ्जा, पाल्पाहुँदै नवौँ दिनमा रुपन्देहीको बुटवलस्थित जितगढीमा पुगेपश्चात् स्थानीय झाँकीलगायत विविध कार्यक्रमसहित जितगढी विजय उत्सव मनाएको थियो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका प्रदेश प्रमुख माननीय अमिक शेरचनले पदायात्रामा सहभागी फौज तथा आम सर्वसाधारणलाई मायाको चिनो प्रदान गर्नुका साथै इतिहासविद्हरुलाई सम्मान पत्र तथा उत्कृष्ट झाँकीलाई पुरस्कृतसमेत गरे ।

जितगढी, नेपाल–अङ्ग्रेज युद्ध (विस १८७१–७२) मा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली फौजले अदम्य साहस, रणकौशल एवं वीरताकासाथ युद्ध गरि विजय हासिल गरेको ऐतिहासिक स्थल हो । जितगढी विजय उत्सव तथा पदयात्रा समापन कार्यक्रम बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयको अध्यक्षतामा सञ्चालन भएको थियो भने पूर्व प्रदेश स्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठ, मध्य पश्चिम पृतनाका पृतनापति उपरथी सुनिल श्रेष्ठ, रुपन्देही र पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी, २२ नम्बर वाहिनी अड्डाका वाहिनीपति, स्थानीय जनप्रतिनिधिसमेतको सहभागिता रहेको थियो ।