बुद्धशान्ति गाउँपालिका अध्यक्ष प्रसाईद्वारा पदको दुरुपयोग गरेको आरोप

बुद्धशान्ति गाउँपालिका अध्यक्ष प्रसाईद्वारा पदको दुरुपयोग गरेको आरोप


झापा जिल्ला अदालतको आदेश उद्धृत गर्दै असम्बन्धित विभिन्न व्यक्तिलाई बुद्धशान्ति गाउँपालिकाले पत्र काटेर दुःख दिँदै आएको आरोप लगाइएको छ । बुद्धशान्ति-२ का उद्धवप्रसाद सिवाकोटीले रुख विरुवा कटान रोकेर जग्गा यकिन गराइ पाउँ भनी गाउँपालिकामा गत चैत ७ गते दिएको निवेदनमा अदालतको आदेशका विषयमा कुनै पनि कुरा उल्लेख छैन, तर पालिकाले काटेको पत्रमा अदालतको आदेश भनि पत्र पठाउँदै दुख दिएको बताइएको छ ।

निवेदकले अर्कै व्यक्तिलाई दायर गरेको सोही प्रकृतिको अर्को मुद्दामा झापा जिल्ला अदालतबाट २०८० चैत २ गते भएको आदेशको प्रति घुसाएर गाउँपालिकामा पेश गरेको निवेदनमात्र पढेर असम्बन्धित विभिन्न व्यक्तिलाई पालिकाले पत्र काटेर दुःख दिएको बताइएको हो ।

निवेदक सिवाकोटीले आफ्नो निवेदनमा अदालतको आदेशको कुनै जिकिर गरेका छैनन् । तर सोही निवेदन कार्यान्वयन गर्ने नाममा गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको हस्ताक्षरमा २०८० चैत ७ गते पत्र संख्या २०८०/२०८१ चलानी नम्बर १९३० बाट अर्जुनधारा-८ का रेनुका कोइराला र नारदमुनी कोइराला तथा सूर्यविनायक-४ भक्तपुरका प्रिती ढकाल सिवाकोटी र प्रान्जल सिवाकोटीको नाममा पत्र काटिएको छ ।

निवेदक सिवाकोटीले अदालतको आदेशपछि आफ्नो पूर्वपत्नी प्रिती ढकाल सिवाकोटी र छोरी प्राञ्जल सिवाकोटीलाई अंश दिएको जग्गा उनीहरुले थापा थरका एकजना व्यक्तिलाई बिक्री गरेका थिए । सो जमिन दोस्रो पटक किनबेच भई थापाबाट अर्जुनधारा ८ की रेनुका कोइरालाको नाममा राजिनामा पास भइसकेको छ ।

‘तर उक्त जमिनमा लगाइएको बोट विरुवाहरु अदालतबाट नाप नक्सा नभएसम्मको लागि नकाट्नु भन्ने गाउँपालिकाको पत्रले संविधान प्रदत्त सम्पत्तिको हक माथि नै धावा बोलेको प्रतीत हुन्छ’ जग्गा धनी रेनुकाका छोरा राजेश कोइराला बताउँछन् ।

गाउँपालिकाले हुलाकमार्फत् कोइराला परिवारलाई पठाएको पत्रमा उल्लेखित जमिनको दुईवटै कित्ता उद्धव शिवाकोटीले मेरो भनी दावी गर्नु र धनिपूर्जाको प्रतिलिपी पनि नराखी दिएको निवेदनकै आधारमा पालिका अध्यक्षले पत्र काट्नुले व्यक्तिको निजी सम्पत्ती माथि पालिका अध्यक्षले समेत धावा बोलिरहेको राजेशको जिकिर छ ।

गाउँपालिका अध्यक्ष प्रसाईंको हस्ताक्षरमा प्राप्त पत्रमा उल्लेखित जग्गा कित्ता नम्बर ४९४३ र ४९४५ मेरो आमाको नाममा २०७९ असार ३१ गते राजिनामा पास भई एकलौटी हकभोगको जग्गा हो’ राजेश भन्छन्, ‘निवेदकले पेस गरेको कागजात पूरै नपढी अदालतको आदेशको हवाला दिएर हामी असम्बन्धित मानिसहरुलाई गाउँपालिकाले किन थर्काएको दिएको हो, बुझ्नसकिएको छैन ।’

गाउँपालिकामा पेश गरिएको निवेदनका साथमा उद्धवप्रसाद सिवाकोटीले भूमिप्रसाद लामिछानेलाई विपक्षी बनाएर दायर गरेको मुद्धामा झापा जिल्ला अदालतबाट मुद्धा नं ०७९-अउ-०४१४ मिति २०८० चैत २ गते भएको आदेशको प्रति राखेको पाइएको छ । तर गाउँपालिकालाई सिवाकोटीले दिएको निवेदनमा अदालतको विषय उठान नै नगरी मेरो पूर्वपत्नी र छोरीलाई अंश दिएको विवादित जमिन भनी जिकिर गरेका छन् ।

गाउँपालिकाले वडा नं २ लाई आवश्यक सहजीकरण गरिदिनु हुन भनी बोधार्थ दिएकोले सो वडाका वडाध्यक्ष डिल्ली ओलीलाई वास्तविकता के हो भनी जिज्ञासा राख्दा उनले ‘जाली किर्ते कागज राखेर दिएको निवेदन नपढी पालिका अध्यक्षले रातो मसीले हस्ताक्षर गर्नु सरासर अख्तियारको दुरुपयोग भएको’ बताए ।

हस्ताक्षर गर्नुअघि पालिका अध्यक्षले निवेदनलाई पुष्टि गर्ने ‘सपोर्टेड डकुमेन्ट्स’ अध्ययन गर्नुपर्ने थियो तर सिवाकोटी परिवारको प्रभावमा परेर उनले जग्गाधनीलाई आफ्नो सम्पत्तीको हकभोग गर्न नदिने प्रपञ्च गरेको प्रष्ट देखिन्छ । ‘वडाध्यक्षको नाताले रुख विरुवा कटानका लागि मैले जग्गाधनीको कागजात राखेर नियमानुसार वन कार्यालयमा सिफारिस गरिदिएको हो ।

तबमात्र कोइराला परिवारले निजी वनको रुख कटानी गरेका हुन् । वडाध्यक्ष ओलीले भने यही घटनालाई लिएर निवेदकका भाइ प्रकाश सिवाकोटीले मेरो छोरोलाई बोलाएर ‘तिम्रो बावुको हातखुट्टा भाँचिदिन्छु र बिएण्डसी अस्पतालमा राखेर उपचार गर्छु भनी धाकधम्कीसमेत दिएको घटना स्मरण गर्दा पालिका अध्यक्षसमेत दबाबमा वा प्रभावमा परेका हुन सक्छन् ।