दार्चुलामा भारतीय सहयोगका परियोजनाहरूको शिलान्यास/उद्घाटन

दार्चुलामा भारतीय सहयोगका परियोजनाहरूको शिलान्यास/उद्घाटन


दार्चुलाको व्याँस गाउँपालिका-६ स्थित श्री हिमालय माध्यमिक विद्यालयको विद्यालय भवनको शिलान्यास गरिएको छ । भारत सरकारको २ करोड ८२ लाख आर्थिक सहयोगमा निर्माण हुने सो विद्यालय भवनको व्याँस गाउँपालिकाका अध्यक्ष मंगल सिंह धामी र भारतीय राजदूतावास (काठमाडौं)का द्वितीय सचिव प्रशान्त कुमार सोनाले संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।

त्यसैगरी ‘नेपाल-भारत विकास सहकार्य’अन्तर्गत ३ करोड ३७ लाखमा निर्माण गरिएको दुहुँ गाउँपालिकास्थित श्री जनविकास माध्यमिक विद्यालयको विद्यालय भवनको दुहुँ गाउँपालिकाका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडाल र भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोनाले संयुक्त रुपमा उद्घाटन गरेका छन् । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक/शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।

‘नेपाल-भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको अनुदान सहयोग व्याँस गाउँपालिकास्थित श्री हिमालय माध्यमिक विद्यालयलाई आवश्यक अन्य सुविधासँगै दुई तल्ले विद्यालय भवन, शौचालय, पर्खाल र प्रवेशद्वार निर्माणमा उपयोग गरिने बताइएको छ । त्यस्तै, भारत सरकारको अनुदान सहयोग दुहुँ गाउँपालिकास्थित श्री जनविकास माध्यमिक विद्यालयलाई आवश्यक अन्य सुविधासँगै विद्यालय भवनको निर्माणमा उपयोग गरिएको थियो । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यी दुवै परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो ।

श्री हिमालय माध्यमिक विद्यालयका लागि परियोजनाको कार्यान्वयन व्याँस गाउँपालिकामार्फत गरिने र श्री जनविकास माध्यमिक विद्यालयका लागि परियोजनाको कार्यान्वयन दुहुँ गाउँपालिकामार्फत गरिएको जनाइएको छ । यी परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एक महत्वपूर्ण दृष्टान्तको रुपमा रहेका सम्बद्ध पक्षको भनाइ छ ।

भवन शिलान्यास कार्यक्रममा बोल्दै व्याँस गाउँपालिका र दुहुँ गाउँपालिकाका अध्यक्षले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पु¥याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।

ज्ञातव्य छ, सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र, ४८९ वटा परियोजना सम्पन्न गरिसकेको छ । यी मध्ये सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा ४० वटा परियोजना रहेका छन् जसमा १० वटा परियोजना दार्चुलामा छन् । यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ जसमध्ये सुदूरपश्चिम प्रदेशलाई ६० वटा एम्बुलेन्स र २० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ । यसमा ८ वटा एम्बुलेन्स र २ वटा स्कुल बस दार्चुला जिल्लालाई उपलब्ध गराइएको छ ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । यी परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि र प्राथमिकताका क्षेत्र विशेष गरी नेपालको शैक्षिक क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।