डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०


हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या एक सय २० पुगेको छ । शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्र र डिभिजन वन कार्यालको क्षेत्रमा गरी हिउँ चितुवाको सङ्ख्या एक सय २० पुगेको हो ।

निकुञ्जको संरक्षण क्षेत्रबाहिर वन क्षेत्रमा पहिलोपटक अत्याधुनिक प्रविधि क्यामेरा ‘ट्र्याप’ विधिबाट हिउँ चितुवाको गणना गर्दा देशमै सबैभन्दा बढी डोल्पामा हिउँ चितुवा भेटिएको हो ।

पाँच महिना लगाएर गरिएको सर्वेक्षणबाट वन क्षेत्रमा मात्रै ३० वटा हिउँ चितुवा फेला परेको डिभिजन वन अधिकृत मुनबहादुर रावतले जानकारी दिए ।

सर्वेक्षणअनुसार निकुञ्ज क्षेत्रबाहिर पर्ने डोल्पोबुद्ध, काइके र छार्काताङ्सोङ् गाउँपालिकाको वन क्षेत्रमा प्रतिएक सय वर्ग किलोमिटर क्षेत्रफलमा हिउँ चितुवाको घनत्व १ दशमलव ५ रहेको छ ।

डिभिजन वन अधिकृत रावतका अनुसार तीनवटा गाउँपालिकामा रहेको वन क्षेत्रमा पर्ने दुई हजार वर्ग किलोमिटर क्षेत्रफलमा अध्ययन गरिएको थियो । डिभिजन वन कार्यालयको नेतृत्वमा कर्मचारी, विद्यार्थी र विश्व वन्यजन्तु कोषका अनुसन्धानकर्ताले हिउँ चितुवाको सङ्ख्या गणना गरेका थिए । गणनाका लागि वन क्षेत्रका ६६ स्थानमा क्यामेरा जडान गरिएको थियो ।

विश्वमै दुर्लभ वन्यजन्तु हिउँ चितुवा एसियाका १२ वटा राष्ट्रमा मात्र पाइने र त्यसमा पनि नेपालमै सबैभन्दा धेरै डोल्पामा रहेका शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले जानकारी दिए ।

चार वर्षअघि क्यामेरा ट्र्याप विधिबाट हिउँ चितुवाको सर्वेक्षण गर्दा शे-फोक्सुण्डो निकुञ्जको संरक्षित क्षेत्रमा ९० वटा फेला परेको थियो ।

प्राप्त तथ्याङ्कअनुसार निकुञ्जको संरक्षण क्षेत्रमा प्रतिएक सय वर्ग किलोमिटर क्षेत्रफलमा हिउँ चितुवाको घनत्व २ दशमलव २ रहेको छ ।

‘निकुञ्ज र वन क्षेत्र गरेर कूल सङ्ख्या एक सय २० पुगेकाले यो संरक्षण गर्ने निकाय र संरक्षणकर्मीका लागि खुसीको कुरा हो, हिउँ चितुवाका लागि आवश्यक आहार मानिने नावरको सङ्ख्या वृद्धि हुनाले पनि सङ्ख्या बढेको हुनसक्छ’– प्रमुख संरक्षण अधिकृत श्रेष्ठले भनेका छन् ।