डा. भगवानको बाल अस्पताललाई सांसद शर्माको २० लाख सहयोग

डा. भगवानको बाल अस्पताललाई सांसद शर्माको २० लाख सहयोग


राजधानीमा बन्न लागेको एक बाल अस्पताललाई संघीय संसद सदस्य डा. सुनिल शर्माले २० लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । डा. भगवान कोइरालाको अगुवाइमा निर्माण हुन लागेको अस्पताललाई सांसद शर्माले उक्त सहयोग गरेका हुन् ।

स्वास्थ्य व्यवसायीसमेत रहेका डा. शर्माले वरिष्ठ मुटु रोग विशेषज्ञ डा. कोइरालाको अगुवाइमा हेपाली हाइटमा रहेको निर्माणाधीन अस्पताल काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) मा पुगेर सो रकम सहयोग गरेका हुन् ।

रकम हस्तान्तरण गर्दै डा. शर्माले राज्यले गर्नुपर्ने काम डा. कोइराला आफैले गर्न लाग्नुभएको देखेर उहाँको सम्मानस्वरुप आफूले सहयोग गरेको बताए ।

डा. कोइराला अध्यक्ष रहेको (कियोच) ले काठमाडौंसँगै सातै प्रदेशमा विशिष्टीकृत बाल अस्पताल निर्माण परियोजना अगाडि बढाएको छ । गैरनाफामूलक अस्पताल स्थापना गर्ने लक्ष्य लिएको कियोचको दमकमा भने निर्माण सम्पन्न भइ अस्पतालले सेवा शुरु गरिसकेको छ ।

कियोचले राजधानीमा एक सय शय्याको अस्पताल निर्माण गर्ने बताइएको छ । त्यसपछि सातवटै प्रदेशमा ५० शैय्याको अस्पताल स्थापना गर्ने डा. कोइरालाले जानकारी दिए ।