चेपाङ समुदायको बाहुल्यता रहेको थाप्राङ-तिपाङ जोड्ने पुल निर्माण

चेपाङ समुदायको बाहुल्यता रहेको थाप्राङ-तिपाङ जोड्ने पुल निर्माण


चितवनको इच्छाकामना गाउँपालिकाको वंग्याङ खोलामा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । सो पुलले इच्छाकामना-१ को थाप्राङ-तिपाङलाई जोडेको छ ।

बहत्तर मिटर लामो सो पुल गाउँपालिका र दातृसंस्थाको लगानीमा निर्माण गरिएको जानकारी दिँदै गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले पुल निर्माणपश्चात् स्थानीयलाई बाह्रै महिना आवतजावत गर्न सजिलो हुने बताए ।

चेपाङ समुदायको बाहुल्यता रहेको सो क्षेत्रमा पुल निर्माणपछि जनजीवन सहज भएको छ । अध्यक्ष गुरुङले भनेका छन्, ‘पुल निर्माणपछि स्वास्थ्य उपचार गर्न समेत स्थानीयलाई सहज भएको छ ।’ पुल निर्माणपछि चितवन मात्र नभइ धादिङका नागरिकलाई समेत सुविधा पुगेको छ ।

इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले थाप्राङ-तिपाङ क्षेत्रका नागरिकको सांस्कृतिक सम्बन्ध जोडिएको उल्लेख गर्दै पुलले उनीहरुलाई थप नजिक बनाएको धारणा राखे । “तिपाङभन्दा माथि पनि साना–साना बस्ती छन्, यहाँको चेपाङ समुदायलाई बर्खामा चार महिना आवतजावत गर्न सकस हुने गरेको थियो, अब बाह्रै महिना निर्धक्क हिडडुल गर्न सजिलो हुनेछ”, उनले भने ।

बिजुली र बाटोघाटोको समस्या रहेको सो स्थानमा विसं २०७८ मा पुल निर्माण कार्य थालिएको हो । झण्डै रु ३३ लाखको लागतमा पुल निर्माण गरिएको जनाइएको छ ।

तस्बिर : रासस