रेड नोटिस जारीपछि विश्वकर्मा पक्राउ

रेड नोटिस जारीपछि विश्वकर्मा पक्राउ


वैदेशिक रोजगार कसूर मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएपछि एक युवा पक्राउ परेका छन् । बाँके खजुरा गाउँपालिका-२ सितापुर बस्ने कमल विश्वकर्मा पक्राउ परेका हुन् । एनसिबि अबुधावी युएईको समन्वयमा युएईमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ नेपाल फिर्ता ल्याइएको छ ।

वैदेशिक रोजगार कसूर मुद्दाको अनुसन्धानको सिलसिलामा उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि बैदेशिक रोजगार विभाग अनुसन्धान तथा मुद्दा शाखा ताहाचल काठमाडौंबाट अनुरोध भएपछि एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२४ फेब्रुअरी २ मा रेड नोटिस जारी भएको थियो ।

उनलाई थप कारवाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको छ ।

वैदेशिक रोजगारीमा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरी इनरुवा नगरपालिका-३ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका–११ नैकाप बस्ने ३९ वर्षीय सत्यन्द्र श्रेष्ठ र बागलुङ काठेखोला गाउँपालिका-५ घर भई काठमाडौं महानगरपालिका–१६ वनस्थली बस्ने २७ वर्षीय विवेक कँडेल रहेका छन् ।

पक्राउमध्ये सत्यन्द्रले क्यानडा पठाईदिन्छु भन्दै पीडितहरूबाट ३८ लाख २० हजार रूपैयाँ ठगी गरेको र विवेकले माल्टा पठाईदिन्छु भन्दै ३ जना पीडितबाट ३ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले सत्येन्द्रलाई काठमाडौं अनामनगर र विवेकलाई काठमाडौं बागबजारबाट पक्राउ गरेको हो ।