चितवनमा भारत सरकारको सहयोगमा निर्मित परियोजनाको संयुक्त उद्घाटन

चितवनमा भारत सरकारको सहयोगमा निर्मित परियोजनाको संयुक्त उद्घाटन


भारत सरकारको ३ करोड ६७ लाख ४० हजार आर्थिक सहयोगमा चितवनको खैरहनी नगरपालिकामा ‘The Embankment and Launching Apron Dhungre Khola River Training Works’ परियोजना सम्पन्न भएको छ । सो परियोजनाको खैरहनी नगरपालिकाका मेयर शशीकुमार खनिया र भारतीय राजदूतावासका प्रथम सचिव अविनाश कुमार सिंहले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

शुक्रबार (१४ वैशाख) आयोजित उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, सरकारी अधिकारी, परियोजना उपभोक्ता समितिका प्रतिनिधि र समाजसेवीको पनि उपस्थिति रहेको थियो ।

‘नेपाल-भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग स्थानीय समुदायका मानिसहरुका लागि भनेर चितवनको खैरहनी नगरपालिकामा पर्ने ढुङ्ग्रेखोलामा तटबन्ध र खोलाको बहावलाई नियमन गर्न एवम् नियन्त्रणमा राख्न खोला किनारा वरपर बनाइने संरचनाको निर्माणमा उपयोग गरिएको थियो । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको सम्बन्धित पक्षले जनाएको छ । यो परियोजना चितवनको खैरहनी नगरपालिकामार्फत कार्यान्वयन गरिएको हो । यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एक महत्वपूर्ण दृष्टान्तको रुपमा रहेको बताइएको छ ।

उक्त कार्यक्रममा बोल्दै खैरहनी नगरपालिकाका मेयर र परियोजना उपभोक्ता समितिका प्रतिनिधिले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुऱ्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे । परियोजनाको निर्माणले खेतीयोग्य जमिनको कटान, वनफँडानी, अनियन्त्रित खोलाको बहाव, बाढीका कारण स्थानीयले बारम्बार आफ्नो थातथलो छोड्नुपर्ने बाध्यता रोकिनुका साथै नदीको गतिसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्न र प्राकृतिक विपद्विरुद्ध जुझ्न, पूर्वतयारी गर्न र सहनशील बन्न मद्दत गर्ने उनको भनाइ थियो ।

ज्ञातव्य छ, सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४८९ वटा परियोजना सम्पन्न गरिसकेको छ । यी मध्ये बागमती प्रदेशका विभिन्न क्षेत्रमा १०६ वटा परियोजना रहेका छन् जसमा ९ वटा परियोजना चितवनमा छन् । यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ जसमध्ये बागमती प्रदेशलाई २३६ वटा एम्बुलेन्स र ९९ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ । यसमा १७ वटा एम्बुलेन्स र ५ वटा स्कुल बस चितवन जिल्लालाई उपलब्ध गराइएको छ ।