पृथ्वी राजमार्ग सडक विस्तारमा दिनरातै काम

पृथ्वी राजमार्ग सडक विस्तारमा दिनरातै काम


पृथ्वी राजमार्गको मुग्लिन-पोखरा सडक विस्तार आयोजनाअन्तर्गत तनहुँको जामुनेदेखि पोखरासम्मको पश्चिम खण्ड विस्तारलाई तीव्र बनाउन दिनरातै कामदार खटाइएको आयोजनाले जनाएको छ ।

दिनमा करिब सय जना र रातको समयमा करिब ५० जना कामदार खटाएर निर्माण तीव्र पारिएको चिनियाँ ठेकेदार कम्पनी ‘एनहुई केयुनन हाइवे एण्ड ब्रिज’ का इञ्जिनीयर अनुप श्रेष्ठले जानककारी दिएका छन् । दिनरात र बिदाको समयमा पनि आफूहरू खटिएकोले हाल २३ प्रतिशतभन्दा धेरै प्रगति हासिल गरेको उनले बताए । पश्चिम खण्डमा नौ दशमलव दुई किलोमिटर सडक पक्की निर्माण गरिएको श्रेष्ठको भनाइ छ ।

ठेकेदार कम्पनीले पनि उक्त आयोजनालाई प्रतिष्ठाको विषय बनाएकोले करिब एक सय जना चिनियाँ प्राविधिकसहित सडक विस्तार तीव्र पारिएको चिनियाँ कम्पनीका साईड इञ्जिनीयर छन्ज लोनले जानकारी दिए ।

‘सडक विस्तारलाई तीव्र पार्न एक सय जना त चिनियाँ प्राविधिक नै खटिएका छन्, यो सडक विस्तारलाई प्रभावकारी तवरले कसरी सम्पन्न गर्न सकिन्छ भन्नेमा हामी जुटिरहेका छौँ’- इञ्जिनीयर छन्ज लोनले भने । दिनरात गरी सडक विस्तारलाई अघि बढाएकाले २३ प्रतिशतले प्रगति भएको आयोजनाले जनाएको छ । गण्डकी प्रदेशको राजधानी पोखरालाई सङ्घीय राजधानी काठमाडौंसँग जोड्ने प्रमुख सडक स्तरोन्नतिमा सबैको चासो रहँदै आए पनि लक्ष्यअनुरुप काम हुन नसक्दा आलोजना भएको थियो ।

जामुनेदेखि पोखरासम्म ३८ दशमलव ८८ किलोमिटर दूरीको यस खण्डमा चार वटा ठूलो र आठ वटा सानो गरी १२ वटा पुलसमेत धमाधम निर्माण भइरहेको आयोजना पश्चिम खण्डले जनाएको छ । पश्चिम खण्ड अन्तर्गत पोखरा र दुलेगौँडासहित मुख्य बजार क्षेत्रमा करिब बीस किलोमिटर खण्डमा छ लेन रहने गरी ४६ मिटर फराकिलो र जामुनेदेखि कुम्ले खोलासम्म १८ मिटर र बाँकी सडक खण्ड २३ मिटर फराकिलो कायम रहने गरी कालोपत्र गरिने आयोजना प्रमुख राजेश पौडेलले जानकारी दिए ।

photo: rss