एमालेको साथ मिलेपछि सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत

एमालेको साथ मिलेपछि सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत


सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । बिहीबार (३ जेठ) बसेको प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्रीले विश्वासका मतका लागि पेस गरेको प्रस्तावका पक्षमा २८ मत परेको र सो सङ्ख्या प्रदेशसभामा तत्काल कायम रहेको सदस्य सङ्ख्याको बहुमत भएको सभामुख भीमबहादुर भण्डारी घोषणा गरे ।

प्रतिपक्षी दल नेपाली कांग्रेस, नागरिक उन्मुक्ति पार्टीका पाँच सदस्यसहितले गरेको बेल घेराउ र नाराबाजीका बीच मुख्यमन्त्री सोडारीले विश्वासको मत पाएका हुन् ।

दोस्रो बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी दलका सदस्यले बेल घेराउ गरी नाराबाजी गरिरहँदा सभामुख भीमबहादुर भण्डारीको अनुमतिमा मुख्यमन्त्री सोडारीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए । नाराबाजीका बीच सभामुखले मतविभाजनको प्रक्रियाद्वारा मुख्यमन्त्रीले पेश गरेको प्रस्तावलाई बैठकमा निर्णयार्थ पेस गरे । यससँगै प्रतिपक्षी नेपाली कांग्रेसका १८, नागरिक उन्मुक्तिका पाँच र राप्रपाका एक सदस्यले मतदान प्रक्रियामा भाग नलिई बैठकबाट बाहिरिएका थिए ।

प्रदेशसभाबाट विश्वासको मतपाएपछि बैठक कक्ष बाहिर मुख्यमन्त्री सोडारीले एक–दुई दिनभित्र सरकारले पूर्णता पाउने अभिव्यक्ति दिए ।

यसअघि बिहीबार नै प्रदेशसभाको पहिलो बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी दलका सदस्यले आफ्नो ठाउँबाट उठेर विरोध गरेका थिए । सभामुखले आफ्नो भनाइ राख्न दिएको समयमा प्रतिपक्षी नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरीले सरकार गठनको प्रक्रियामा प्रश्न उठाएका थिए ।

बैठकमा नागरिक उन्मुक्ति पार्टीका पाँच सदस्य प्रतिपक्षी बेञ्चमा र दुई सदस्य सत्तापक्षीय बेञ्चमा बसेका थिए । सत्तापक्षीय बेञ्चमा बस्नेमा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापा र भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरी छन् ।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टीका दुई सदस्य, स्वतन्त्र सदस्य डा. तारा जोशीको समर्थनमा सोडारी प्रदेशको मुख्यमन्त्रीमा गत वैशाख ६ गते नियुक्त भएका थिए । त्रिपन्न सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, नेकपा (माओवादी केन्द्र)को सभामुखबाहेक १०, नेकपा (एमाले)को ११, नागरिक उन्मुक्ति पार्टीको सात, नेकपा (एकीकृत समाजवादी) पार्टीका चार, राप्रपा र स्वतन्त्र एक-एक सदस्य छन् ।

file photo