सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौँ : प्रधानमन्त्री

सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौँ : प्रधानमन्त्री


प्रधानमन्त्री प्रचण्डले गौतम बुद्धको शिक्षामा विश्वास गरे व्यक्ति, समुदाय र राष्ट्रहरूबीच रहेका विवाद समाधान गर्न र सद्भाव फैलाउन मद्दत पुग्ने बताउनुभएको छ ।

२५६८औँ बुद्धजयन्तीको पूर्वसन्ध्यामा बुधबार (९ जेठ) लुम्बिनीमा आयोजित चित्रकला प्रदर्शनी कार्यक्रममा प्रधानमन्त्री दाहालले बुद्धका शाश्वत वाणी विश्वमा झनै सान्दर्भिक हुँदै गएको बताउनुभयो । ‘बुद्धको शाश्वत अहिंसा, करुणा र आन्तरिक शान्तिको सन्देश आजको विश्वमा झन् सान्दर्भिक भएको छ’, प्रधानमन्त्रीले भन्नुभयो, ‘म विश्वस्त छु, बुद्धको शिक्षाको विश्वासपूर्ण अनुसरणले व्यक्ति, समुदाय र राष्ट्रहरूबीच विवाद समाधान गर्न र सद्भाव फैलाउन मद्दत गर्नेछ ।’

लुम्बिनी आउँदा आफूलाई सधैँ खुसी अनुभूत हुने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले लुम्बिनीले विश्वका सम्पूर्ण मानवका लागि शान्तिको केन्द्रका रूपमा ऐतिहासिक र सांस्कृतिक महत्त्व राख्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाल सरकारले लुम्बिनीलाई धार्मिक, सांस्कृतिक, ऐतिहासिकस्थलका रूपमा मात्र नभई बुद्ध धर्मको स्रोत र शिक्षा र बौद्धिक खोजको केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता पटकपटक व्यक्त गरेको छ ।’

सांस्कृतिक सम्पदाको प्रदर्शनका लागि गरिएका अथक प्रयासहरूप्रति धन्यवाद व्यक्त गर्दै प्रधानमन्त्रीले विशिष्ट कलाकारहरूको सिर्जनशीलता र जोश प्रेरणादायी भएको उल्लेख गर्नुभयो । नेपाल-भारत सम्बन्धको सन्दर्भमा सांस्कृतिक आयामले विशेष स्थान ओगटेको बताउँदै उहाँले दुई देशका जनतालाई प्राचीनकालदेखि नै सांस्कृतिक आयामले नजिक राखेको बताउनुभयो ।

‘हाम्रो सांस्कृतिक सम्पदा गर्वको स्रोत मात्र होइन, यो ज्ञान, मूल्य र परम्पराहरूको खजाना हो, जसले हाम्रो जीवनलाई समृद्ध बनाउँछ र हाम्रो पहिचानलाई आकार दिन्छ’- उहाँको भनाइ थियो ।

परस्पर समझदारी, विश्वास, सम्मान र सहयोगले नेपाल-भारत प्राचीनकालदेखि चलेको बहुआयामिक सम्बन्धलाई परिभाषित गर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले भौगोलिक निकटता र विभिन्न तहमा बढ्दो क्रस-सेक्टोरल र बहुपक्षीय संलग्नताद्वारा अझ बलियो बनाइएको स्पष्ट पार्नुभयो । ‘हाम्रा जनताको आकाङ्क्षाअनुसार नेपाल-भारत सम्बन्धलाई अझ सुदृढ बनाउन नेपाल सरकार पूर्ण प्रतिबद्ध छ’, प्रधानमन्त्रीले भन्नुभयो– ‘उपलब्ध अवसरहरूका सन्दर्भमा विभिन्न क्षेत्रमा अर्थपूर्ण साझेदारीका लागि बदलिँदो वास्तविकता र अवसरहरूलाई ध्यान दिनुपर्नेछ ।’