सिद्धार्थ गौतम बुद्धको पूर्वजुनी

सिद्धार्थ गौतम बुद्धको पूर्वजुनी


दूरेनिदान कथाअनुसार चार असङ्ख्य एकलाख कल्पअघि जम्बुद्वीप अमरवती नामक नगरमा ज्यादै अपार धन भएका ब्राह्मण कुलमा एक बालकको जन्म भयो बिस्तारै उनी तीनै वेदमा पारङ्गत ‘अज्झायको मन्तधरो, तिण्णं वेदान पारग’ हुन पुगे । उनको नाम सुमेध थियो ।

कालान्तरमा उनको आमा-बुबा दुवै देहावसानपश्चात् उनले सोचे- ‘मेरा माता-पिता, बाजे-बज्यै सबै देहावसान भएर गए, कसैले पनि परलोक जाँदा आफूले थुपारेको धनदौलत साथमा लिएर गएनन्, यत्तिका धन रत्नहरू सबै यहीँ छोडेर गएको देखें, आखिर मैले पनि यो हिरामोती धनदौलत सम्पत्ति सबै यहीँ छाडेर नै जानुपर्छ भने किन यो दान गरेर मरेपछि साथमा लिएर जाने पूण्य नकमाउँ ? यस्तो सोच पलाएपछि आफ्नो भयभरको धन दौलतहरू गरीबगुरुवा र धनको चाहना गर्नेहरुलाई दान दिएर आफु ध्यान साधना गर्न हिमालय पर्वतमा गई छाला (वाकचीर)को चीवर-वस्त्र धारणगरी ऋृषिको भेषमा प्रव्रजित भइ बस्न थाले।

हिमवन्तस्साविदूरे, धम्मिको नाम पब्बतो।
अस्समो सुकतो मध्यं, पण्णसाला सुमापिता ॥

चमं तत्थ मापेसिं, पञ्चदोसविवज्जितं ।
अट्ठगुणसमुपेतं, अभिञ्जाबलमाहरिं ॥

साटकं पजहिं तत्थ, नवदोसमुपागतं।
वाकचीरं निवासेसिं, द्वादसगुणमुपागतं ॥

अट्ठदोससमाकिण्णं, पजहिं पण्णसालकं ।
उपागमिं रुक्खमूलं, गुणे दसहुपागतं ॥

वापितं रोपितं धनं, पजहिं निरवसेसतो।
अनेकगुणसम्पन्नं, पवत्तफलमादियिं ॥

तत्यप्पधानं पदहिं, निसज्जट्ठानचश्मे ।
अब्भन्तरक्ष्मि सत्ताहे, अभिञ्जाबलपापुणिन्ति ॥

अर्थात, मैले यसरी चिन्तन गरी, अरबौं धन याचक-अनाथलाई दान दिई, गएं हिमालयमा ॥

हिमवन्तको नजिकै धम्मिक नामको पर्वत ।
मबाट सुकृत आश्रम, सुनिर्मित पर्णशाला ॥
बनाएं त्यहाँ चंक्रमणार्थ, पञ्च दोष विवर्जित।
अष्ट गुणले युक्त, प्राप्त गरें अभिज्ञा बल ॥
त्यागीदिएं त्यहाँ वस्त्र, नौ दोषले युक्त ।
गरें धारण वाकचीर (छाल-वस्त्र), बाढ़ गुणले युक्त ॥
अष्ट दोषयुक्त, पर्णकुटिलाई त्यागें ।
गएं लिन आश्रय वृक्षमूलमा, युक्त दस गुणले ॥
छरेको रोपेको अन्नलाई, त्यागीदिएं सम्पूर्ण ।
अनेकौं गुणले युक्त, लिने गरें वृक्षबाट खसेको फल ॥
लागें त्यहाँ ध्यानाभ्यासमा, बस्दै उठ्दै चंक्रमण गर्दै।
एक सप्ताहमा नै, गरें प्राप्त अभिज्ञा बल ।

(स्रोत- दूरेनिदानकथा, अनुवादक भिक्षु बोधिसेन महास्थविर)

भएभरको धनदौलत दान गरेर हिमालमा गएर एक्लै ध्यान साधना गर्ने अठोटका साथ सुमेध ऋषि अगाडि बढे।

सुमेध ऋषि हिमातर्फ आएको देखेर इन्द्रदेवले देवपुत्र विश्वकर्मालाई बोलाएर भने- तात् ! यो सुमेध पण्डित प्रव्रजित हुन्छु भनी घरबाट निक्लेर हिमालतर्फ आउँदैछ, उसको निम्ति ओढारमा ध्यान गर्ने एउटा आश्रयस्थल तयार गरिदिनु !

देवपुत्र विश्वकर्माले सुमेध ऋषिको लागि एउटा ओढारमा बाघ आदि हिंस्रक जीवजन्तुहरुबाट भयरहित एकान्तमय आश्रम स्थल बनाए । चंक्रमण स्थलको दुवैतिर सहाराको निम्ति बार लगाइ, चंक्रमण स्थलको मध्य भागमा बस्नको लागि मुंगको जस्तै रंग भएको समतल शिला राखेर, पर्णकुटिको भित्र जटा मण्डल, वाकचीर (छाला) त्रिदण्ड, कुण्डि आदि तपस्वीको निम्ति सामान, मण्डपमा पानीको भाँडो, शङ्कमा पानी, पानी पीउनलाई झारी, अग्निशालामा अँगीठी, आगो बाल्नलाई काठ-दाउरा अरनि आदि जुन जुन प्रव्रजितको आवश्यक पर्ने हो ती-ती सबै निर्मित गरी पर्णकुटी तयार गरेर राखे ।

सुमेध ऋषि त्यही स्थानमा पुगेपछि आफूले लगाएर आएको वस्त्रलाई त्यागेर त्यहीँ राखेको वाकचीर छालाको कपडा बेरेर त्यसै कुटीमा बसी भोजनमा अन्नपात नखाइ हिमाली फलफूल कन्दमूल मात्रै खाइ कठिन तपस्चर्या गर्दागर्दै उनलाई अष्टसमापत्ति ध्यान र पञ्च अभिज्ञान लाभ गरेर आकाशमार्गबाट उडेर हिँड्न सक्ने सिद्धि प्राप्त भयो ।

एकदिन सुमेध ऋषि आफ्नो आश्रमबाट ऊडेर आकाश मार्गबाट गइरहँदा रम्म भन्ने नगरमा धेरै मानिसहरू जमघट भइ बाटोघाटो सरसफाइ गर्दै ध्वजापताका आदिले गाउँ सिंगारिरहेको देखे । केको चहलपहल रहेछ गाउँमा भनी आकाशबाट ओर्लेर उनले गाउँलेहरुसँग सोधे ।

गाउँलेहरुबाट उनले दिपंकर तथागत आफ्ना चार लाख अरहन्त भिक्षुहरूका साथ यहाँ रम्म नगरमा आउँदै रहेछन् भन्ने जानकारी प्राप्त गरे ।

नगरबासीहरुसँग म पनि दिपंकर बुद्धका लागि बाटोघाटो सफा गर्न चाहन्छु भनी उनले अनुरोध गरे। उनले जिम्मा लिएको बाटो सफा गरीनसक्दै दिपंकर बुद्ध टुप्लुक्क अगाडि आइपुगे ।

एक्कासी अगाडि दिपंकर बुद्धको आगमन भएपछि उनले आफ्नो लामो जटा फैलाएर छालाको कपडा (वाकचीर)लाई हिलोमा फैलाएर सुमेध ब्राह्मण स्वयं हिलोमा सुत्तानो परेर भने- भगवान्, दीर्घ कालसम्म मेरो हितसुखको लागि कृपया तपाईं र तपाईंका श्रावक भिक्षुगण सबै ममाथि टेकेर हिलो तर्नुहोला !

उनको पिठ्यूँमा टेकेर हिलो पार गर्नै लाग्दा दिपंकर बुद्धले घोषणा गरे- चार असङ्ख्य कल्प बितेपछि यी तपस्वी बुद्ध बन्नेछन् ।

सुमेधले दिपंकर बुद्धबाट शिक्षा लिई मध्यम मार्गको अभ्यास गर्न थाले । बोधिसत्वका रुपमा धेरै जन्म पारमिताको अभ्यासद्वारा ज्ञान र पुण्यको सञ्चय गरे । आफूभन्दा अघिका बुद्धहरुबाट शिक्षा लिँदै अभ्यास गर्दै रहे । ती सबै बुद्धहरुले यिनी अवश्य बुद्ध बन्ने घोषणा गरे । यसरी सुमेध ऋषिले बुद्धत्वको दस पारमिताका आचरणहरू सबै चरम-कोटि (चरम-सीमा) सम्म पूरा गरेर चार असङ्ख्य र एकलाख कल्पको अन्तमा बोधिसत्व जम्बुद्वीपमा कपिलवस्तु नगरका राजा सुद्धोदन तथा रानी महामाया देवीका सुपत्र सिद्धार्थ राजकुमारको रूपमा लुम्बिनीमा जन्मिए र, ३५ वर्षको उमेरमा उनी सर्वज्ञ ज्ञान लाभ गरी सम्यक सम्बुद्ध बने ।

यसरी ब्राह्मण पुत्र तिनै वेदका ज्ञाता पण्डित सुमेध ऋषिले हिमालमा गएर इन्द्रदेव र विश्वकर्माद्वारा निर्मित कुटिमा ध्यानस्थ भएर सिद्धी प्राप्तिपश्चात् सिद्धार्थ गौतम बुद्धको रूपमा जन्म लिएर आएको भन्ने कथा बौद्ध ग्रन्थ दुरेनिदानमा उल्लेख गरेको पाइन्छ र, यसैलाई बुद्धको पूर्व जुनी सुमेध ऋषि हुन् भन्ने बौद्धहरुको अवधारणा रहेको छ ।

इन्द्रदेवको संरक्षणमा देवपुत्र विश्वकर्माको व्यवस्थापनमा सुमेध ऋषि जो हिमालमा गएर जट्टाधारी भएर बाघको छाला लगाएर त्रिदण्ड भिरेर, कुण्डि मण्डपमा अग्नी धुनी बालेर तपस्या गर्ने तिनै वेदका ज्ञाता ब्राह्मण पुत्र सुमेध ऋषि नै महादेव हुन् ।

बुद्धं शरणं गच्छामि
एस धम्मो सनंतनो