पत्रकार अधिकारी पुरस्कृत

पत्रकार अधिकारी पुरस्कृत


पत्रकार गीता अधिकारीलाई सम्मान तथा पुरस्कृत गरिएको छ । उनलाई चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले चलचित्र पत्रकारिता दिवसको अवसर पारेर नगद राशीसहित ‘नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार-२०८१’ अर्पण गरेको हो । उक्त पुरस्कारलाई चलचित्र निर्माता एवं वितरक नरेन्द्र महर्जनले आफ्नो बुबाको नाममा स्थापना गरेका हुन् ।

दुई दशकदेखि चलचित्र पत्रकारितामा सक्रिय अधिकारी संघमा केन्द्रीय उपाध्यक्षसमेत थिइन् । गीतकारसमेत रहेकी अधिकारीको हालै ‘मैले पढेका ५१ पुस्तक’ कृति पनि पाठकमाझ आएको छ । मिलाप फाउण्डेशनकी अध्यक्षसमेत रहेकी अधिकारी मिलाप राष्ट्रिय दैनिकको कार्यकारी सम्पादक र हिमालय टाइम्स राष्ट्रिय दैनिकमा कार्यरत छन् ।

सो अवसरमा चलचित्र पत्रकारिता पुरस्कार-२०८१ पत्रकार बालकृष्ण अधिकारीलाई प्रदान गरिएको थियो । मकवानपुरमा रहेर अधिकारी लामो समयदेखि छापा तथा टेलिभिजन पत्रकारितामा सक्रिय छन् ।

यस्तै, संघले प्रदान गर्ने कलाकर्मी सम्मान २०८१ गायक तथा कलाकार कोशिस क्षेत्री र कलाकार ध्रुव न्यौपानेलाई प्रदान गरिएको थियो । मकवानपुरमा जन्मिएर जिल्लाको नाम राख्दै राष्ट्रिय स्तरको कलाक्षेत्रमा सक्रिय रहेकाहरूलाई यस विधामा सम्मान गर्दै आइरहेको संघका अध्यक्ष कपिल खड्काले जानकारी गराए ।