सदनको गतिरोध अन्त्य गर्ने सवालमा नेताहरुबीचको छलफल सकारात्मक, जुटेन सहमति !

सदनको गतिरोध अन्त्य गर्ने सवालमा नेताहरुबीचको छलफल सकारात्मक, जुटेन सहमति !


संसद्को गतिरोध हटाउने विषयमा प्रमुख दलका शीर्ष नेताहरुबीच शुक्रबार भएको छलफल सकारात्मक रहेको बताइएको छ । छलफल सकारात्मक भएपनि आवश्यक सहमति भने अझै जुट्न सकेको छैन ।

प्रमुख दलका शीर्ष तहका नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले बैठकमा सङ्घीय संसद्को गतिरोध अन्त्य र सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समितिको टिओआर बनाउने विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रतिनिधिसँग सकारात्मक छलफल भएको बताए ।

‘बैठकमा नेपाली कांग्रेस सकारात्मक रुपमा प्रस्तुत भएको छ । संसद्को गतिरोध अन्त्य गर्न, संसदीय छानबिन समितिका लागि टिओआर निर्माण गर्न, गाँठो परेको विषयमा आ-आफ्नो तर्फबाट सहजीकरण गर्नेबारे सकारात्मक छलफल भयो’, प्रमुख सचेतक बर्तौलाले भनेका छन् । उनले सत्तापक्षका तर्फबाट यसमा लचकता भएको स्पष्ट पार्दै टिओआरमा व्यक्तिको नाम किटान गर्न सम्भावना नभए पनि त्यसबीच प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले राख्न खोजेको विषय पनि संसदीय छानबिन समितिको गरिमालाई कायम गर्ने गरी समझदारी भएको जिकिर गरे ।

‘संसदीय छानबिन समितिको गरिमा मर्ने गरी, ओझ नै नपुग्ने गरी समिति बनाउने र नाम नै टिकान गरेर टिओआर दिनु राम्रो हुँदैन भन्ने सुझाव राख्यौँ । त्यसका लागि छलफल गर्छौं । नेपाली कांग्रेसले सहजीकरण गर्ने पाटोमा भूमिका खेल्ने प्रतिवद्धता जनाएको छ’, उनको भनाइ छ ।

यस्तै, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि संसदीय छानबिन समिति बनाउने विषयमा छलफल सकारात्मक भएको बताए । ‘सहकारीबाट रकम अपचलन, हिनामिना र ठगी भएको विषयमा संसदीय छानबिन समिति बनाउने भन्ने कुरा भएकै छ । उक्त समिति के र कस्तो बनाउने भन्ने विषयमा साथीहरुले काम गरिनै रहनुभएको छ, त्यसबारे टुङ्गो लगाउन आजको बैठकमा छलफल भएको छ’, लेखकले भनेका छन् ।

बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, नेता कृष्ण सिटौला, कांग्रेस संसदीय दलका प्रमुख सचेतक लेखक, नेकपा (एमाले) का प्रमुख सचेतक बर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलगायत नेताहरु सहभागी रहेका थिए ।