व्यास नगरप्रमुखको पुनःमतगणना आगामी असार २ गते हुने

व्यास नगरप्रमुखको पुनःमतगणना आगामी असार २ गते हुने


तनहुँको व्यास नगरपालिका प्रमुखको पुनःमतगणना आगामी असार २ गते हुने भएको छ । उच्च अदालत पोखराले गत जेठ १ गते गरेको फैसलाको आज (११ जेठ) सार्वजनिक पूर्णपाठअनुसार असार २ गते पुनःमतगणना गर्न लागिएको हो ।

फैसलामा एक महिनाभित्र पुनःमतगणना गर्नु भनिएअनुसार उच्च अदालत पोखराको सभाहलमा असार २ गते बिहान १० बजेदेखि मतगणना हुने जनाइउको छ । उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्तले इजलासले गत स्थानीय तह निर्वाचनमा नगरप्रमुखको मतगणना बदर गरी पुनःमतगणना गर्न आदेश दिएको थियो ।

नगरप्रमुखका उम्मेदवार दीपकराज जोशीले मतगणनामा धाँधली भएको भन्दै विसं २०७९ जेठ १२ गते निर्वाचन आयोगसहित पाँच जनालाई विपक्षी बनाइ रिट दर्ता गरेका थिए । रिटमा अन्तिम सुनुवाई गर्दै अदालतले निवेदकको दाबी पुग्ने फैसला गरेको थियो ।

स्थानीय तहको निर्वाचनअन्तर्गत हाल नगरप्रमुखको रुपमा कार्यरत बैकुण्ठ न्यौपानेले १२ हजार ७८ मत प्राप्त गरेका थिए भने जोशीलाई ११ हजार आठ सय २६ मत प्राप्त भएको घोषणा गरिएको थियो ।

मतदानकै बेला व्यास नगरपालिका-८ रिस्तीमा मतपत्र च्यातिएपछि जोशीमाथि आक्रमणसमेत भएको थियो । निर्वाचन अधिकृतको कार्यालयले उक्त वडाको मतदान केन्द्रको मतदान स्थगित गरी पुनः मतदान गराएको थियो ।