इरानी चित्रकारको एकल चित्रकला प्रदर्शनी

इरानी चित्रकारको एकल चित्रकला प्रदर्शनी


इरानी चित्रकार महदेस सहरिआरी मोघादमको एकल चित्रकला प्रदर्शनी ललितपुरस्थित ‘एमक्यु ग्यालरी’मा शुक्रबारदेखि सुरु भएको छ । प्रदर्शनीमा नेपाली महिलाको स्वतन्त्र जीवनशैली र इरानी महिलाको बन्देजपूर्ण जीवनशैलीको तुलनात्मक चित्र प्रदर्शनीमा राखिएका छन् ।

प्रदर्शनी शुभारम्भको अवसरमा मोघादमले नेपाली महिला इरानका महिलाभन्दा निकै स्वतन्त्र रहेको बताउनुभयो । ‘खुलेर काम गर्न र बोल्न सक्ने वातावरण नेपाली महिलाले पाएका छन्, यो ठूलो उपलब्धि मान्छु, इरानमा महिलाले यस्तो अवसर पाउने कल्पना पनि गर्न सकिँदैन’, उहाँको भनाइ थियो ।

उहाँले महिलाको स्वतन्त्रताको प्रतीकका रूपमा माछाको आकृति बढी चित्रमा उतार्नुभएको छ ।

‘एमक्यु ग्यालरी’का प्रमुख मनिषलाल श्रेष्ठले विदेशी एवम् स्वदेशी कलाकारलाई प्रत्येक महिना कला सिर्जना गराउँदै आएको र यहीक्रममा आगामी महिना रुसी कलाकारले कला सिर्जना गर्ने जानकारी दिनुभयो ।

प्रदर्शनीमा राखिएको चित्रको मूल्य दुई हजार पाँच सयदेखि दुई लाख ५० हजारसम्म राखिएको छ ।