संसद् अवरोध अन्त्य गर्ने प्रयत्न, प्रधानमन्त्री र कांग्रेस सभापति देउवाबीच छलफल

संसद् अवरोध अन्त्य गर्ने प्रयत्न, प्रधानमन्त्री र कांग्रेस सभापति देउवाबीच छलफल


प्रधानमन्त्री प्रचण्डले संसद्को गत्यावरोध अन्त्यका लागि नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारीको ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागसहित लगातार सदनको कारबाहीमा अवरोध गर्दै आएपछि प्रधानमन्त्रीले देउवा गुहारेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले आज (१३ जेठ) कांग्रेस सभापति शेरबहादुर देउवा निवास पुगेर सदनको काम कारबाहीलाई सहज बनाइदिन आग्रह गरेका छन् । उनले सभापति देउवासँग एक्लै र अन्य नेताहरूसँग सामूहिक छलफल गरी सदनको अवरोध हटाइदिन आग्रह गरेका हुन् ।

समस्या समाधानका लागि प्रधानमन्त्रीले गम्भीरतापूर्वक सक्रियता दर्शाएको कांग्रेस सहमहामन्त्री जीवन परियारले जानकारी दिए । प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच समस्या समाधानका लागि महत्वपूर्ण छलफल भएको उनको भनाइ छ ।

संसद्को अवरोध हटाउने विषयमा आज शीर्ष नेताहरुबीच छलफल गर्ने कार्यसूची तय भएको थियो । कांग्रेस सभापति देउवाले आफू अस्वस्थ भएको भन्दै प्रधानमन्त्री प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नै निवासमा आउन आग्रह गरेको कांग्रेस नेता परियारले जनाएका छन् ।